सिनेमाघरमा नाका र तिम्रै छोरी तरुनी हाम्लाई केको दोष

काठमाडौं,

फागुन १७ ।

चलचित्र नाका प्रदर्शनमा आएको छ । होलीको अवसर पारेर बिहीबारदेखि मोफसल र शुक्रबारदेखि काठमाडौंका हलमा प्रदर्शनमा आउन लागेको हो । त्यस्तै शुक्रबार देखि कमेडी फिल्म तिम्रै छोरी तरुनी हाम्लाई केको दोष प्रदर्शनमा आउने भएको छ ।

निर्देशक अमित श्रेष्ठका अनुसार सीमानाकामा हुने अन्तर्राष्ट्रिय मानवतस्करीलाई नाकाको मुख्य कथा बनाइएको छ । अभिनेता विपिन कार्की यस चलचित्रमा ‘गोल्डी डन’को भूमिकामा छन् । निर्देशक अमितका अनुसार पैसाका लागि सानो–ठूलो धन्दा गर्ने बानी परेका गोल्डीले तिब्बती नागरिकलाई चीनसँगको सीमादेखि बाह्रबिसेसम्म पुर्‍याउने जिम्मेवारी पाउँछ । त्यसपछि चलचित्रको कथा अघि बढ्छ ।

चलचित्र निर्माणका क्रममा कुनै कसर बाँकी नराखेको दाबी निर्माता प्रवीण टक्की कार्कीको छ । ‘लोकेसन हेर्ने वेलादेखि नै सबै कलाकार बसेर वर्कआउट गरेका छौँ,’ निर्माता कार्कीले भने, ‘नाकामा हुने तस्करी नयाँ विषय होइन । तर, नेपाली चलचित्रमा यस्तो विषय उठाइएको यो नै पहिलोपटक हो ।’तिब्बतसँग सिमाना जोडिएको नेपालको बाह्रबिसे बजारआसपासका गाउँमा कुनै समय हुने गरेका रक्तचन्दन, सुन तस्करीलगायतका विषयवस्तुजस्तै यस चलचित्रले मानव तस्करीको विषयलाई उठाएको छ ।

कमेडी फिल्म तिम्रै छोरी तरुनी हाम्लाई केको दोष शुक्रबार अर्थात् १८ फागुनदेखि प्रदर्शन हुने भएको छ । सुरेश असीमको लेखन र निर्देशनमा बनेको फिल्मले दर्शकलाई भरपुर हसाउने दाबी निर्माण पक्षको छ ।

फिल्ममा जयकिसन बस्नेत, महिमा सिल्वाल, इन्द्र दोङ (खम्बे), विष्णु सापकोटा ९हर्के हवल्दार०, शूरवीर पण्डित, सूदन धिताल, स्व। दीपेन शाह, मदन ताम्राकार, प्रकाश दाहाललगायतले अभिनय गरेका छन् । इन्द्र दोङको प्रस्तुतिमा सूदन धिताल कार्यकारी निर्माता रहेको फिल्म तीन दर्जनभन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ ।

नवयुवतीको प्रवेशपछि गाउँमा आबारागर्दी गर्ने पाँच युवाको जीवनशैलीमा आएको परिवर्तन तथा दिनचर्याका विषयमा निर्माण गरिएको फिल्म जनकराज अधिकारीले खिचेका हुन् ।

फिल्ममा जयकिसन बस्नेत र शिव बिकेको कोरियोग्राफी छ । एडल्ट सर्टिफिकेट पाएको तिम्रै छोरी तरुनी हाम्लाई केको दोषमा प्रचुर मात्रामा दोहोरो अर्थ लाग्ने संवाद रहेको कार्यकारी निर्माता सुदनले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार