पञ्चेबाजा यूनिट पोखरामा

पोखरा,
फागुन ९ ।

दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै चलचित्र पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान अन्तरगत पोखरा आएको टोलीले यो दाबी पेश गरेको हो ।

‘दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन सक्छौँ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले हामीलाई गाली अवश्य गर्नेछैनन् ।’ चलचित्र को कथावस्तु नै त्यस्तै भएकोले दर्शकले यसलाई निकै रुचाउने उनको तर्क थियो ।

नेपाली चलचित्रको कस्तो धारलाई दर्शकले ठ्याक्कै रुचाईरहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपी चलचित्र पञ्चेबाजाको टोलीले आफ्नो दाबी खेर नजाने बताउँदै आएको छ ।

चल्तीका कलाकारहरु, चलचित्रका लागि आवश्यक मसलेदार ‘स्क्रिप्ट’ र ‘स्क्रिनप्ले’को आधार पेश गर्दै निर्देशक लामिछानेले भने–‘हामीले भनेको कुरालाई साक्षात महशुस गर्नका लागि चलचित्र हेर्न म सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्दछु ।’

चलचित्रका निर्माता राजेश शाहिले पनि आफूले यसअगाडि निर्माण गरेका चलचित्रको तुलनामा पञ्चेबाजा अझै बढि उत्कृष्ट बनेको बताए । ‘चलचित्र राम्रो बनाउनका लागि हामीले कुनै कुरामा कम्प्रोमाइज गरेका छैनौँ ।’ निर्माता शाहिले भने–‘दर्शकले हाम्रो कामलाई रुचाउने कुरामा हाम्रो टिम ढुक्क छ ।’

देश दौडाहाको शुरुवाती प्रेस मिट पोखरामा गरेको पञ्चेबाजा यूनिटले फिल्मले दर्शकलाई नयाँ स्वाद पस्कने दाबा समेत ग¥यो । पोखरामा भएको प्रेस मिटमा नायिका जस्मिन श्रेष्ठ, अभिनेता प्रकाश घिमिरे, अभिनेत्री प्रमिला तुलाचन लगायतको उपस्थिती रहेको थियो । कलाकारहरुले चलचित्रबाट निकै आशाबादी भएको प्रतिक्रिया दिए ।

पोखरा र आसपासमै बढि छायाँकन भएको चलचित्रका मूख्य कलाकारहरु भने प्रेस मिटमा सहभागी भएनन् । चलचित्रमा सौगात मल्ल, कर्मा, सृजना सुब्बा, बुद्धि तामाङलगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ । पछिल्लो समय यो चलचित्रको ‘घिनघिन मादल’ बोलको गीत चर्चामा रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार