चलचित्रमा निश्चलको फड्को

  • गीता अधिकारी

नेपाली चलचित्रलाई आजको दिनसम्म ल्याइपुर्याउन सयौं कलाकार, प्राविधिक, सरोकारवाल र अन्य व्यक्तित्वहरुको पसिना सिंचन भएको छ । नेपाली चलचित्र उद्योगको पाँच दशकको यात्रासम्म आइपुग्दा चलचित्रको निर्माणक्रम तीव्र भएको छ यतिबेला । वर्षमा सयौं चलचित्र बनिरहेका छन् । योे अन्तराल धेरै राम्रा–राम्रा चलचित्र र कलाकर्मी यो क्षेत्रले पायो ।

नेपाली चलचित्र एउटै रफ्तारमा अगाडि बढेको भने छैन । समय मूल्यवान हुन्छ, समयले चलचित्रलाई प्रभाव पार्दैन भन्न सकिँदैन । तर, आज–भोलि समयलाई पनि पछि पार्ने वा उछिन्ने चलचित्र नेपाली चलचित्रको क्षितिजमा उदाएका छन् भने अर्कोतर्फ सस्तो लोकप्रियताको होडबाजी पनि बजारमा चलेकै छ । जसले गर्दा स्तरहीन र कुनै पनि आशावादी चलचित्रभन्दा जस्तो पायो त्यस्तै पाइन्छ । यसमा कलाकारलाई मात्र दोष दिएर पन्छिन मिल्दैन । कलाकार भनेका त निर्माता र निर्देशकमा आश्रित हुन्छन् । तथापि, यसबारेमा मनन् गरेको भने पाइँदैन । पछिल्लो समय यही क्षेत्रमा केही उल्लेख्य काम गरौं भनेर पढे–लेखेर र बुझेर आएकाहरुले केही आशावादी पनि बनाएका छन् नेपाली चलचित्र क्षेत्रलाई । रहरले मात्र हुँदैन तत्सम्बन्धी ज्ञान नभईकन हामफालिएको क्षेत्रमा जहाँ पनि असफलताबाहेक अरू केही हात लाग्दैन ।

नेपाली कलाक्षेत्रलाई समृद्ध बनाउन भनेर थुप्रै कलाकर्मी लागिपरेका छन् । यस्तै मध्येका एक हुन्– सर्लाहीका निश्चल दाहाल । सर्लाहीको हरिवनमा जयराम दाहाल र मनमाया दाहालको कोखबाट जन्मिएका निश्चलको सानो उमेरदेखि नै कलाक्षेत्रमा मोह थियो । ‘म सानो उमेरदेखि नै यो क्षेत्रतर्फ आकर्षित थिएँ अनि यो क्षेत्रका विषयमा अध्ययन–अनुसन्धान, आवश्यक ज्ञानहरु लिएर आएको हुँ,’ निश्चल भन्छन् । विगत १२ वर्षदेखि नेपाली चलचित्रमा रहेका उनले अहिले पनि आफू यो क्षेत्रमा सङ्घर्षरत नै रहेको बताउँछन् । ‘मेरो हरेक दिन सिकाइ नै हुन्छ, केही न केही नयाँ कुरा सिकिरहेको हुन्छु, अझै धेरै गर्न बाँकी छ मैले’, उनले भने ।

रङ्गमञ्च हुँदै मोडलिङबाट ठूलो पर्दामा उनले लाइफ रेश मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘लुट कम्पनी’बाट नायकमा फड्को मारेका हुन् । यो कान्छीको मुहार, धर्तीको धुलो हुँ म, यी आँखाको नानीमा, जिन्दगीको बाटोमालगायतका दर्जन बढी देशका वरिष्ठ गायक–गायिकाको स्वरमा रहेका म्युजिक भिडियोमा उनको सशक्त अभिनय छ । एउटा कलाकार भनेको भर्सटाइल हुनुपर्छ भन्ने मान्यता राख्ने निश्चल सबै प्रकारको अभिनय गर्न सक्ने आफूमा खुबी भएको दाबी गर्छन् ।

बुलेट, शिवा, सखारलगायत आधा दर्जनभन्दा बढी चलचित्रमा नायकको रुपमा देखिएका निश्चल आगामी दिनमा चलचित्रमा अभिनयमात्र होइन, चलचित्र निर्माणमा पनि सक्रिय हुने बताउँछन् । ‘मैले निर्माणमा पनि हात हाल्ने सोच बनाएको छु, यो क्षेत्रमा मेरो अहिलेसम्मको अध्ययन–अनुसन्धानबाटै अब म निर्माता भएर चलचित्र बनाउँछु भन्ने सोच बनाएको छु’, निश्चल बताउँछन् । अब छिट्टै चलचित्र निर्माणमा पनि हात हाल्न लागेका उनले केही समयमै यसको घोषणा गर्ने जानकारी गराएका छन् ।

नेपाली चलचित्रसँग सम्बन्धित सम्पूर्ण सङ्घ-संस्था तथा नेपाल सरकारले नेपाली चलचित्रको विकासका लागि दीर्घकालीन भूमिका निभाउनुपर्छ । तबमात्र नेपाली चलचित्रले बलिउड र हलिउडसँग टक्कर गर्न सक्छ भन्ने निश्चल केही बुझेरभन्दा पनि रहरले यो क्षेत्रमा आउनेहरुले गर्दा नै राम्रो हुन नसकेको दाबी गर्छन् । राज्यपक्षले चलचित्र क्षेत्रप्रति देखाएको उदासिनताले पनि माथि उठ्न नसकेको उनको बुझाइ छ । उनी भन्छन्, ‘राज्यले यसलाई साँस्कृतिक उद्योगकको रुपमा अघि बढाउनुपर्छ ।’

यसमा तपाइको मत

अन्य समाचार