एजेन्सी,
माघ २६ ।
बङ्गलादेशको अदालतले विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियाले भ्रष्टाचार गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । राजधानी ढाकास्थित विशेष अदालतले बिहीबार खालिदा जियाविरुद्ध सो फैसला सुनाएको हो ।
७२ वर्षीया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको अभियोग अदालतले लगाएको छ । फैसलालगत्तै उनलाई पक्राउ गरिएको छ । उनले दुई करोड १० लाख बङ्गलादेशी टाका दुरुपयोग गरेको जनाइएको छ ।
जियाले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । फैसला सुनाउनुअघि अदालत परिसरमा भेला भएका खालिदा जियाका दसौँ हजार समर्थकलाई प्रहरीले टियर ग्यास फालेर तितरबितर गरेको थियो ।‘ जियामाथिको अभियोग पुष्टि भएकाले र उनको सामाजिक तथा भौतिक अवस्थालाई हेर्दा उनलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ,’ फैसलामा भनिएको छ ।
‘म फर्किनेछु, चिन्ता नगर्नुहोस् र कठोर हुनुहोस्,’ आफूमाथिको सुनुवाइमा अदालत जाने क्रममा उनले आफ्ना समर्थकलाई भनेकी थिइन् । अदालतले जियाका पुत्र तरिक रहमानलाई १० वर्ष जेल सजाय सुनाएको छ । हाल उनी लन्डनमा छन् । त्यस्तै, अदालतले खालिदा जियाका चार सहयोगीलाई पनि १०–१० वर्ष जेल सजाय सुनाएको छ ।
अदालतको फैसलासँगै खालिदा जिया यसै वर्ष हुने संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएकी छिन् । आफूमाथि राजनीतिक प्रतिशोध लिइएको उनले बताएकी छिन् । जियालाई अदालतमा उपस्थित गराउनुअघि सुरक्षा फौज र विपक्षी प्रदर्शनकारीबीच केही बेर झडप भएको थियो । झडपमा केही प्रहरी अधिकारी घाइते भएका थिए ।
जियाविरुद्धको फैसलापछि राजधानी ढाका र अन्य सहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । फैसलाको विरोधमा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले राजधानीभर प्रदर्शन गरेको छ । प्रदर्शनका कारण बिहीबार ढाकाका अधिकांश पसल र विद्यालय बन्द रहेका थिए । उनीमाथिको फैसला सुनाउनुअघि बिएनपीका सयौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।






