काठमाडौं,
पौष २० ।
चलचित्र ‘कान्छी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । यसअघि चलचित्रको सार्वजनिक गीत ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा राम्रै भ्यूअर्स पाइरहेको बेला निर्माण पक्षले बिहीवार राजधानीमा एक कार्यक्रमबीच चलचित्रमा समावेश ‘यो दिल दाऊमा लाउने तिमीलाई मात्र हो…’ बोलको गीत सार्वजनिक गरेको हो ।
शिर्ष गीत यो दिल दाऊमा लाउनेमा अर्जुन पोख्रेलको सङ्गीत, दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ ।
बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । भिडियोमा यो जोडीको आकर्षक केमेष्ट्री देखिन्छ । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ ।

आगामी फागुन चार गतेबाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्र ‘कान्छी’ आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानीलगायतका ठाउँमा छायाँकन गरिएको यो चलचित्रलाई श्वेता आफैले निर्माण गरेकी हुन् । चलचित्रमा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ ।






