काठमाडौं,
पौष १४ ।
चलचित्र ‘शत्रु गते’ को पहिलो प्रचारप्रसार सामग्री अन्तगत गीत सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्र छायाँकन गरिएको गीतलाई नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा सङ्गीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् ।
कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दीर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति छ चलचित्रमा ।
गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ ।
डेब्यु चलचित्र ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाडौंमा छायाँकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो ।






