काठमाडौं,
पौष ११ ।
सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार माधव निर्दोषको संयुक्त एल्बम ‘मित्रता’ सार्वजनिक भएको छ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ सङ्गीतकार शम्भूजित बास्कोटाले राजधानीमा आयोजित एक कार्यक्रममा मित्रतालाई सार्वजिनक गरे ।
सङ्गीत कला पत्रकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, सङ्गीतज्ञ बुलु मुकारुङ, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क., वरिष्ठ चलचित्र पत्रकार एवम् गीतकार शान्तिप्रिय रहेका थिए ।
एल्बमभित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश रहेका छन् ।
कार्यक्रममा गीतकार माधव निर्दोषको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिसकेपछि कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । संघका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार माधव निर्दोषले स्वागत मन्तव्य दिँदै आफ्ना विगत र गीति लेखनका बारेमा प्रष्ट पारेका थिए ।
त्यसैगरी सङ्गीतकार सन्तोष श्रेष्ठले मितेरी एल्बमदेखिको साङ्गीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल सङ्गीत गर्ने अवसर मिलेको बताएका थिए ।
त्यसैगरी वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले मितेरी, आत्मीयता हुँदै मित्रता आइपुग्दा अझै आत्मीयतामा परिणत होस् भन्ने शुभकामना व्यक्त गर्दै गीतकारले धानेको सङ्गीत उद्योगका रुपमा पाएको बताएका थिए ।
त्यस्तै वरिष्ठ सङ्गीतज्ञ बुलु मुकारुङले गीतिकथाको रुपमा लेखन सुरु गर्दै गीतकारसम्म आइपुग्दा एउटा इतिहास बनेको बताएका थिए ।
गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले नेपाली कला संस्कृतिको समृद्धिमा लागिपरेका गीतकार माधव निर्दोष र सङ्गीतकार सन्तोष श्रेष्ठको मित्रतालाई शुभकामना दिँदै स्रष्टा सदैव अमर रहने भूतपूर्व नहुने बताएका थिए ।
प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाले कभर सङ गाउनेको प्रवृत्तिलाई व्यवस्थापन गर्नुपर्ने बताउँदै रोयल्टी व्यवस्थापनलाई पनि सशक्त ढंगले अगाडि बढाउनु पर्ने बताए ।






