काठमाडौं,
पौष ३ ।
नातिकाजी सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजद्वारा सोमबार नातिकाजीकै निवासमा आयोजित सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९३ औं जन्मजयन्तीमा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।
बरिष्ठ गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४ प्रदान गरिने भएको छ । नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७४ सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । प्रसाद श्रेष्ठ (गायक), मदनकृष्ण श्रेष्ठ (गायक), डा.भोला रिजाल (गीतकार), रमेश ताम्रकार (गायक), डा.अरुण सायमी (गीतकार), पुष्करलाल श्रेष्ठ (पत्रकार) र प्रेमराजा महत (गायक)लाई सो सम्मान प्रदान गरिने जानकारी दिएको छ ।
यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७४ चारजना स्रष्टालाई प्रदान गरिने भएको छ । गीतकार सुवास चन्द्र ढुंगेल, गायिका कोमल वली, सङ्गीतकार नारायण वली र गायक राजेशपायल राईलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सङ्गीतकार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायिका मीना निरौलालाई नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार–२०७४ प्रदान गरिने समाजले जनाएको छ । सम्मान तथा पुरस्कार छनोटका लागि वरिष्ठ गायक योगेश वैद्यको संयोजकत्वमा गठित सिफारिस समिति गठन गरिएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष शम्भूजित बासकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नातिकाजीले नेपाली सङ्गीतको श्रीबृद्धिमा पुर्याएको योगदानको चर्चा समेत गरिएको थियो ।






