प्रज्ञा र तेमालको काभ्रे साहित्य यात्रा

काभ्रे,
कार्तिक ३ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र तेमाल फाउण्डेशनमा ‘काभ्रे साहित्य यात्रा–२०७४’ हालै सम्पन्न गरेका छन् । मंगलबार शुरु भएको यात्रा बुधबार ‘काव्य विमर्श’ र कवि गोष्ठी सहित समापन गरिएको हो ।

अघिल्लो दिन काभ्रेको स्थानिय तामाङ समुदायका स्रष्टा र नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरी, प्राज्ञ सभा सदस्य शशि लुमुम्बु लगायतको टोलीले तेमाल क्षेत्रको अध्ययन भ्रमण र छलफल गरेर आरम्भ भएको यात्राको दोस्रो दिन बृहद कवि गोष्ठी गरिएको थियो । रेडियो नमोबुद्धस“ग सहकार्य गरिएको गोष्ठीमा काठमाडौंबाट दुई दर्जन स्रष्टा पुगेका थिए ।

तामाङ संस्कृति अनुसार डम्फु बजाएर प्राज्ञ डा. अमर गिरीले उद्घाटन गरेको गोष्ठीमा गोले केआर चालिसेलीले ‘नेपाली कवितामा तामाङ साहित्यकारको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पारिजात (विष्णुकुमारी वाइबा) को समयदेखि नै नेपाली साहित्यमा तामाङ समुदायको योगदान रहँदै आएको उल्लेख छ । त्यसपछि कृष्णभुषण बल हुँदै नयाँ पुस्तामा फूलमान वल, विना थिङ, राजु स्याङतान लगायतका प्रतिभा देखा परेको कार्यपत्रमा औंल्याइएको थियो ।

प्राज्ञ गिरीले वर्चश्वशाली भाषाले कमजोर भाषालाई खाँदै गएको विश्व उदाहरण पेश गर्दै नेपाली भाषासँगै मुलुकभित्रका मातृभाषामा लेखिएका साहित्य पनि प्रबद्र्धन हुनुपर्ने बताए । ‘नेपाली भाषाको साहित्यले अन्य भाषाका संस्कृति, बिम्ब, प्रतिक, मिथकहरु लिइएका छन् । त्यो हटाउने हो भने नेपाली भाषाको साहित्य पनि अपुरो हुन्छ ।’

तामाङ परम्परा अनुसार टोटलाको फूल, मौलिक खानपान सहित आयोजित कार्यक्रममा यसपछि कविहरु अभय श्रेष्ठ, केशव सिलवाल, ब्रम्हप्रिय प्रेमस्वरूप, छविरमण सिलवाल, चन्द्र रानोहाछा, सुको साइबर, देवकी अभिलाषी, सुनीता खनाल, अमृता स्मृति, रामगोपाल आशुतोष, शीतल कादम्बिनी, लक्ष्मी रुम्बा, मोक्तान थेबा, हरिहर तिमल्सिना, शीतल लामा, अनिशा थिङ, बिन्दु अधिकारी ढकाल, अर्जुन ग्लान, शुक्र राईलगायतले कविता सुनाए भने संगीता थिङ र धनकुमारी घिसिङले फापर व्हाई (तामाङ लोक काव्य) प्रस्तुत गरे ।

स्थानीय स्रष्टाहरु दिनमान गुर्मछान, नरेन्द्र नगरकोटी, निर्भिकजंग रायमाझी, पलपल दाहाल, अविरल ओझेल, अटुट दोङ, समर्पण श्री, विवश पन्त, कविराज लामा, रामसुन्दर देउजा, कमल कुइ“केल, सजना आचार्य, हरिप्रसाद चौंलागाईंलगायतले जोडे । कार्यक्रममा तामाङ समुदायको बिहेमा खुवाइने सेल रोटी, अचार र आइराक (तामाङ रक्सी) को परिकार खुवाइएको थियो । तेमाल फाउन्डेसनका अध्यक्ष जगत तामाङले ‘केन्द्र र मोफसल जोड्न यस्ता कार्यक्रमले पक्कै सघाउने’ दाबी गरे । कवि गोष्ठीअघि स्रष्टाहरुले काभ्रेको देवीस्थान डाँडा, शान्ति वाटिकालगायत थलो भ्रमण गरेका थिए । काभ्रे साहित्य यात्रा स्थानिय स्रष्टाका लागि अवसर बनेको फाउण्डेशनका सचिव हिरामान बल तामाङले बताए ।

यसमा तपाइको मत

अन्य समाचार