काठमाडौं,
कार्तिक २७ ।
भारतीय साहित्य अकादमी पुरस्कार विजेता सिक्किमका स्रष्टा भिम दाहाललाई राजधानीमा आइतबार एक समारोहबीच सम्मान गरिएको छ । उनलाई बानेश्वर क्याम्पसमा आयोजित अन्तर्किया तथा सम्मान कार्यक्रममा बानेश्वर सर्जक समाजले सम्मान गरेको हो । उनीसँगै सामाजिक जागरण अभियन्ता श्रीमति जुडि राई दाहाललाई पनि सम्मान गरिएको छ । आखाँको उपचार गर्न नेपाल आएका उनी आइतबार बिहान सम्मानित भए भने दिउँसो उनले एकल कविता बाचन गरे ।

बरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति कार्यक्रमका प्रमुख अतिथि डा. बासुदेव त्रिपाठीले उनिहरुलाई ‘बानेश्वर साहित्य सम्मान’ अर्पण गरेका थिए । बानेश्वर क्याम्पस सर्जक सामाजका अध्यक्ष प्राध्यापक महेश प्रसाईंको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु लोकेश ढकाल, मातृका पोखरेल, फूलमान वल, डा. घमानसिहं खड्का, डा. तुलसी भट्टराई केदार न्यौपाने, कृष्ण हमाल, डा. बासुदेव त्रिपाठी , कुलप्रसाद पराजुली र रमेश शसभेच्छुले नेपाल–भारतको नेपाली साहित्य र विश्व नेपाली साहित्य बारे आ–आफ्ना धारणा राखेका थिए । उनिहरुलाई नायिका उपासना नेम्बाङ, उमा नेम्बाङलगायतले मायाको चिनो पनि प्रदान गरेका थिए ।
प्रमुख अतिथि डा. बासुदेव त्रिपाठीले सिक्किमले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनिय रहेको भन्दै यसबाट अन्यत्र रहेका नेपालीहरुले पनि पाठ सिक्नु पर्ने बताए । त्यस्तै सम्मानित व्यक्तित्व भीम दाहालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वभरमा रहेका नेपालीका लागि काठमाडौं सबैको राजधानी भएकाले यहाँ आउँदा फरक खालको सुखानुभुति हुने बताए । ‘भारतमा भएको १ सय २५ करोड जनसङ्ख्यामा नेपालीहरुले पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्’, उनले भने । राजनीतिले विभाजन गरेपनि भाषा साहित्यले जोडने बताउँदै दाहालले ‘पारि तारिदेउन माझिदाई गीतलाई महिला माइत जाने विम्वको प्रयोग गर्दै नेपाल आउँदा माइतीमा आएजस्तो अनुभव हुने सुनाए ।

सिक्किम सरकारका मुख्य प्रेस सल्लाहाकार भीम दाहाल भारतको लोकसभामा ३ पटक संसद भइसेकेका छन् । साहित्यकार दाहाल उपन्यास, कविता, कथासँगै इतिहास विमर्शमा स्थापित छन् । उपन्यास ‘द्रोह’का लागि सन् २००६मा साहित्य अकादमी पाएका उनी साहित्यमा निरन्तर सक्रिय छन् ।
दाहालले आइतबार साझ त्रिपुरा साहित्य समाजको आयोजनामा एकल कविता बाचन गरेका गरे । उनले एकल कविता वाचनमा बविनमा धागो छैन कति चलाउँ म यो मेशिन, कागजको मन, मलाई नयाँ मुलुक देऊ जस्ता कविता प्रस्तुत गरेका थिए । एकल कविता वाचनको प्रमुुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदी रहेका थिए । एकल बाचन कार्यक्रमलागि सुजन घलेले मादल बजाएर र उन्नत सुनामले बाँसुरी बजाएर साङ्गीतिक माहोल बनाएका थिए ।

एकल बाचनमा साहित्यकारहरु डा. सुमन ढकाल, श्रीओम रोदन, सानुभाई थापा, कृष्ण प्रधान, सितल गिरी, शिव अधिकारी, डिल्लीराज अर्याल, रामप्रसाद पन्त, लभ गाउँले, देवा अधिकारी, चन्द्रप्रसाद न्यौपाने, रामकेशर बोगटी, रमेश शुभेच्छुलगायतले शुभकामना दिनुका साथै उनका कविताका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
समाचोलक प्रा. राजेन्द्र सुवेदीले दाहालका कवितामा भारतीय नेपालीको स्वर रहेको टिप्पणी गरेका गरे । दाहालका ‘कंकाल अभिव्यक्ति’, ‘समृद्ध व्यथा’, ‘अभिष्टको खोजी’, ‘विद्रोह’, ‘मेरो मनको साइनो तिम्रो मनालाई’, ‘विचार, क्रान्ति र परिवर्तन’लगायतका कृति प्रकाशनमा छन् ।






