काठमाडौं,
कार्तिक २४ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत विक्रम मैनालीले सेवाबाट स्वेच्छिक अवकाश लिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका संस्थापक अध्यक्षसमेत रहेका मैनालीको विदाईमा बुधबार सङ्गठनले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।
पेशागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्गठनका संस्थापक अध्यक्ष मैनालीलाई उनले सङ्गठनप्रति पुर्याएको योगदानको कदर गर्दै खादा तथा सम्मानपत्र अर्पण गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद् सदस्य डा. अमर गिरी, प्राज्ञसभा सदस्य शशी लुमुम्बू, पेशागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछाने, सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका अध्यक्ष गोविन्द पौडेल, प्रतिष्ठानका निमित्त प्रशासन प्रमुख सुमन अधिकारी, उपनिर्देशक शशी चालिसेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सदस्य सचिव प्रा.डा. गिरी, प्रमुख अतिथि प्याकुरेललगायतका अतिथिहरूले बोल्दै मैनालीको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए । मैनालीले आफू समाज रुपान्तरणका लागि राजनीतिक तथा सामाजिक अभियानमा समर्पित हुन चार वर्ष अवधि बाँकी रहँदारहँदै प्रज्ञा–प्रतिष्ठानको सेवाबाट स्वेच्छिक अवकाश लिएको बताए । मैनाली कुशल सांकृतिकर्मीसमेत हुन् ।
सङ्गठनका कार्यवाहक अध्यक्ष विश्वमोहन राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सुवर्ण रञ्जितकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गठनका कोषाध्यक्ष कर्णबहादुर कुमालले गरेका थिए ।






