काठमाडौं,
कार्तिक १९ ।
एकसाथ दिदीभाइको कृति लोकार्पण गरिएको छ । कवि राधिका गुरागाईको कवितासङ्ग्रह प्रतिबिम्ब हराएको मान्छे र गोकुल अधिकारीको कवितासङ्ग्रह गोधूलिघर राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरिएको हो । राधिका र गोकुल दिदीभाइ हुन् ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान बिराटनगरको आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले यी दुवै कृतिहरु लोकार्पण गर्नुभएको थियो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो समारोहमा साहित्यकारहरु दधिराज सुवेदी, डा.तुलसी भटराई, मातृका पोखरेल र श्रवण मुकारुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । कवि अधिकारीको कृति माथि डा. लक्ष्मण गौतमले तथा राधिका गुरागाईको कृति माथि डा. ज्ञानु पाण्डेले टिप्पणी गर्नुभएको थियो ।
कवि अधिकारीको गोधूलिघरमा ५४ वटा कविता रहेका छन् भने राधिका गुरागाईको प्रतिबिम्ब हराएको मान्छे भित्र ४६ वटा कविता रहेका छन् ।
२०६६ सालमा यी दिदीभाइले आआफ्नो पहिलो संग्रह पनि काठमाडौंमा आएर यसैगरी संयुक्त रुपमै लोकार्पण गरेका थिए ।






