मिस तामाङको एघारौं संस्करण शुरु

काठमाडौं,
कार्तिक १४ ।

मिस तामाङको एघारौं संस्करण शुरु भएको छ । तामाङ जातिको कला, संस्कृति, भेषभुषा, बाजा, रितीरवाज र धर्मलार्इ युवा जमातमार्फत् अन्य जाति तथा आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो सौन्दर्य प्रतियोगिताको नयाँ संस्करण शुरु भएको हो ।

सोमवार पुतलीसडकस्थित साधना कला केन्द्रमा आयोजित पत्रकार भेटघाटमा अयोजकले प्रतियोगिताबारे जानकारी गराएको थियो ।

प्रतियोगिता नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक मिलन मोक्तानले दावी गरेको छ ।

सोमबारदेखि नै आवेदन खुल्ला गरिएको यो सौन्दर्य प्रतियोगिता अन्तर्गत एक महिना क्रिएटिभ क्लोज क्याम्प, मौलिक भाषा, साहित्य र संस्कृति सम्बन्धी विशेष कार्यशाला, सांस्कृतिक एवम् सम्पदा क्षेत्रको भ्रमण, ट्यालेन्ट शोलगायतका विशेषता रहेको मोक्तानले जनाए । ‘नयाँ पुस्तालाई पुरानो ढङ्गले अघि बढाउन खोज्नु हुँदैन’, उनले भने, ‘उनीहरुले चाहेको सिर्जनात्मक बाटोबाटै हामीले मौलिकता प्रबद्र्धन गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन, २०१७ की विजेता पिंकी घिसिङले पनि आ–आफ्ना् अनुभव सेयर गरेका थिए । सन् २००६ बाट शुरु भएको मिस तामाङको पहिलो विजेता जेनिशा मोक्तान हुन्, उनी मिस नेपाल समेत भएकी थिइन् ।

त्यसपछि २००९ मा उपाली ग्याबक, २०१० मा समी बज्यु, २०११ मा रोजिना घिसिङ, २०१२ मा सुमी मोक्तान, २०१३ मा लाक्पा तामाङ, २०१४ मा मुनाश्री तामाङ, २०१४ मा लक्ष्मी मोक्तान, २०१६ मा उर्मिला योञ्जन र २०१७ मा पिंकी घिसिङले मिस तामाङको ताज चुमिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार