काठमाडौं,
कार्तिक ७ ।
चलचित्र ‘सत्रु गते’को शुभसाइत गरिएको छ । काठमाडौंको कमलादिस्थिती गणेश मन्दिरमा निर्माण यूनिटले पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ भएको घोषणा गरेको हो ।
मह संचारको प्रस्तुती रहने चलचित्रलाई किरण केसीले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मालगायतका कलाकारको मुख्य भूमिका रहने बताइएको छ ।
मुहुर्त समारोहमा उपस्थिती कलाकारहरुले क्यामेरा पूजा गर्दै चलचित्र राम्रो बन्नेमा विश्वास व्यक्त गरेका थिए । चलचित्रको प्रदर्शन मिति चैत्र ९ गतेलाई तोकिएको छ ।
कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रले देशको वर्तमान अवस्थाको बारेमा पनि बोल्नेछ । मह संचारको चलचित्र भएकाले सामाजिक बिषयलाई पनि उठान गरिनेछ । दुई साता विरगञ्जमा चलचित्रको छायांकन गरिने र बाँकी सेड्यूल काठमाडौंमै रहेको निर्देशक भट्टराइले जानकारी दिए । ५० दिनमा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षले राखेको छ ।






