काठमाडौं,
असोज ३१ ।
गैरआवसीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । उनी आठौ विश्व सम्मलेनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई ६ सय १३ मतान्तरले पछि पार्दै विजयी भए ।
सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी थिइन ।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएका छन् । शनिबारदेखि शुरु भएको सम्मलेनमा सोमबार राति अबेर मत परिणाम सार्वजनिक भएको थियो ।
गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् । उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् । उपाध्यक्षमा विजयी पन्त पनि गोरखामा जन्मेका हुन् । उपाध्यक्ष र महासचिवमा विजयी पन्त र केसीले सोही पद दोहोर्याएका हुन् । उपाध्यक्ष पन्त जर्मनी र आचार्यले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
महासचिव केसी रसियामा कार्यरत छन् । महिला उपाध्यक्ष राजभण्डारी वेस्ट एनआरएनबाट सम्मानित पनि हुन् ।
अन्य विजयीहरुमा युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये, बेल्जियमका शिव बरुवाल, युरोप क्षेत्रीय उपसंयोजक गोविन्द गौतम र एकराज गिरी, युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहठ्ठा (बेलायत), अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिका क्षेत्रीय उपसंयोजक नवीन शेरचन, क्षेत्रीय महिला उपसंयोजक संगीता लम्साल शिवाकोटी रहेका छन् ।
त्यस्तै ओशिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी (अष्ट्रेलिया) ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा, मध्यपूर्व क्षेत्रीय संयोजक आरके शर्मा (कतार), मध्यपूर्व उपक्षेत्रीय उपसंयोजक गोपाल कँडेल र प्रवीण गुरुङ, क्षेत्रीय उपसंयोजक राजकुमार बस्नेत रहेका छन् ।
यसैगरी एशिया प्रशान्त क्षेत्रीय संयोजक किरणविक्रम थापा, एशिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल र विनोद कुँबर, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजक जुनु गुरुङ (दक्षिण कोरिया), अफ्रिकाको क्षेत्रीय संयोजक सुनिल कार्की, उपसंयोजक डा. भुवन ढकाल र शिव पौडेल विजयी भएका छन् ।
तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुकका गैरआवासीय नेपाली सहभागी थिए भने एनआरएनएले हालसम्म ७८ मुलुकमा सञ्जाल विस्तार गरिसकेको छ ।






