काठमाडौं,
असोज १८ ।
विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनमा ‘वेस्मा लाङ्योक २’ हुने भएको छ । गत वर्ष वेस्मा लाङ्योक (फरक पाईला) नामक बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
यस वर्ष लिम्बु संस्कृतिमा आधारित ‘वेस्मा लाङ्योक २’ गर्न लागेको जानकारी संस्थाका महासचिव शैलेन्द्र थेबेले जानकारी गराए ।
संस्थासँग आवद्ध तथा आवद्ध नरहेका करिव सय जना भन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने लक्ष्य आयोजकले लिएको छ ।
आगामी माघ ६ गते शनिबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईद्वारा सङ्गीतबद्ध एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बुहरुको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्याली र तङसीङ तक्मा यबा फेदाङमाहरुको छुट्टै प्रस्तुती, मौलिक भेषभूषा, लोप हुन लागेका मौलिक सामग्रीहरुको सजावटका कारण पनि उक्त कार्यक्रम ऐतिहासिक हुने अनुमान गरिएको छ ।
सम्पूर्ण कार्यक्रम राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यावस्था मिलाईएको याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराए ।






