शरद उसत्व दशैँ

– गीता अधिकारी

आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, एश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भावतां कीर्तीश्व नारायणे

(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।)

दशैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरुप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ ।
जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवरात्री
स्वाहा स्वधा नमोस्तुते ।

(संसारलाई नै जित्न सक्ने सामाथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
यष वर्ष असोज १४ गते शनिबारदेखि कोजाग्रत पूर्णिमा १९ गते बिहीबारसम्म तपाईंले मान्यजनबाट टीका र जमरासँगै यस्तो आर्शीवाद पाउनुहुनेछ ।

शरद ऋतुको रमणीय आगमन । उत्सवको माहौल छ यति बेला । यस वर्षको दशैँ सबैको घरपरिवारमा पुगिसकेको छ । गाउँघर शहरबजार सबैतिर दशैँको आगमनसँगै खुसीयाली छाएको छ । वैदेशिक रोजगारमा गएकाहरु पनि घर फर्कन थालेका छन् । अहिले बाह्य देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ता“ती नै लागेको छ । जहाज र बसहरुको टिकट पाउन मुस्किल हुँदै गएको छ । दशैँका लागि बजारमा सामानहरु प्रशस्त नभए पनि किनमेल गर्नेहरुले शहरबजार गत सालजस्तो नभए पनि केही भिड भाड नै छ । वर्षदिनदेखि आम्दानी गर्न नसकेका व्यापारीहरु दशैँको मेलोमा मनग्य नाफा आर्जन गर्दैछन् । उपभोक्ताहरु पनि वर्षदिनपछि आउने दशैँमा नयाँ नानाको खोजीमा धाइरहेका छन् । बालबालिकाहरु पनि मलाई यो चाहिन्छ र त्यो चाहिन्छ भन्दै रुँदै हिँडेका छन् । आमा बाबा पनि आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्न तल्लीन रहेका छन् । उनीहरुको आवश्यकता पूरा गर्न नसकिए पनि दशैँमा त उनीहरुको आवश्यकता पूरा गरौँ न त, अरु बेला भन्ने पक्षमा छन् । दशैँमा ऋण धन गरेर भए पनि बालबालिकाको आवश्यकता पूरा गर्नतिर अभिभावकहरु लागि परेका छन् । गाउँघरका व्यक्तिहरु पनि शहरबजारमा भएका नातेदारबाट केही आशा गरिरहेका छन् । कसैले नयाँ मोबाइलको मागगरिरहेका छन् भने कसैले नयाँ–नयाँ फेसनेबल लुगाको ।

के गरीब के धनी दशैँमा चाहिने आत्यावश्यक वस्तुको जोहो गर्न नै व्यस्त छन् । गरीबले ऋण गरेरै भए पनि दशैँ मनाउन कम्मर कसिरहेका छन् । यद्यपि दशैँ उनका लागि ‘आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई हुन पुग्ने निश्चित छ ।’ धनीहरुको देखासिकी गरीबहरुले पनि गर्न थालेका छन् । धनीहरु त्यसै पनि अरु समयमा पनि दशैँ जस्तै मनाइरहेका छन् । अर्थात् हुने खानेहरुलाई सधैँ दशैँ छ हामीकहाँ ।

दशैँको समयमा जुवातास खेलेर मनोरञ्जन लिनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटनाहरु पनि सुन्न पाइन्छ । समयको परिवर्तनसँगै दशैँ मनाउने संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ । दशै“मा जुवातासजस्ता विकृतिरुपी कार्य बढी हुन थालेका छन् । यसले गर्दा संस्कृतिले विकृत रुप लिँदैछ । दशैँको जस्तै विकृत रुप महिलाहरुको महान पर्व तीजमा पनि देखिएको छ । महिनादिनसम्म दर खाने परम्पराले गरीबीको रेखामुनि रहेका जनातहरुको झनै ढाड सेकेको छ । २-३ दिनमात्र मनाइने तीज अहिले महिना दिनसम्म मनाउने गरिन्छ । यसैगरी न्यू इयर, क्रिसमस, भ्यालेन्टाइन डेलगायतकाले पनि समाजमा तहल्का नै पिट्दैछ । युवायुवतीहरु विदेशीहरुको नक्कल गर्दै भ्यालेन्टाइन डे मनाउन थालेका छन् । आफ्नो संस्कृतिलाई बचाई राख्नुपर्छ । समयअनुसार परिवर्तन पनि गर्दै जानुपर्छ । तर, संस्कृति रुपान्तरणको नाममा विकृति बनाउनु हुँदैन ।

यति बेला वर्षात्का बादलहरु फाट्नेक्रममा छन् । मौसम क्रमशः सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरु । नेपालीहरु को प्रमुख चाड दशैँ २०७२ सङ्घारमा छ । यो पर्वलाई खासगरी असत्य माथि सत्यको जीतका रुपमा अङ्गीकार गरिँदै आएको छ । असत्यमाथि सत्यको जीत हुनै पर्दछ । यदि त्यसो हुन सकेन भने संसारको गति उँधोतर्फ ओरालो लाग्छ अराजकताको राज हुन्छ । मुठ्ठी भरका असत्यका धर्मीहरुले आफ्नो अधिपत्य जमाउनेछन् ।
त्यसो त सत्यको विजय खातिर यो युगमा पनि स्तुति स्तोत्र ध्यान पाठ–पूजाएवम् बलि जस्तो तथा कथित ढुङ्गे मान्यताको ढोङमा रुमल्लि नै रहेको छ ।

हामीले सत्यको दुहाई दिँदै उत्सवपर्व चाड जति परापूर्वदेखि सफलीभूत गराउने चर्चा अनि महिमा गाए तापनि व्यवहारमा असत्यको जीत प्रारब्धदेखि नै गरीब, सर्वहारा, मजदूरको जीवन वृत्त माथि परेको थियो र वर्तमानको समयमा पनि परिरहेको छ । वैभव-ऐश्वर्य र विलासितामा परापूर्वदेखि नै सत्य हुनेखाने वर्गको गुलाम बनेको देखिन्छ । यति नै बेला सङ्घारमा नै दशैँ आएर केही दिन बास बस्ने तर्खरमा लागिसकेको छ । युगौंदेखिको एउटा परम्परा दशैं । आम नेपालीले दशैँ मनाइरहँदा देशमा चुनावी सरगर्मी पनि छ । स्थानीय निकायको चुनाव तीन चरणमा सम्पन्न भएको छ भने प्रदेश र केन्द्रको चुनाव आगामी माघभित्र गरिसक्नु पर्नेछ । यही बीचमा निर्वाचन आयोगले चुनावको मिति पनि घोषणा गरेको छ । आशा गरौं यो दशैँसँगै देशको आकाशमा मडारिएका काला बादलहरु हटेर जानेछन् ।

यसमा तपाइको मत

अन्य समाचार