नागासाकी शहरमा सन् १९४५ मा खसालिएको भन्दा चारदेखि पाँच गुणा शक्तिशाली उत्तर कोरियाली ‘हाइड्रोजन बम’

उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परिक्षण गरेको दाबी गरेसँगै यसका क्रिया प्रतित्रिया आउन थालेका छन् ।
भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो ।

प्योङयाङले आफूहरुले हाइड्रोजन बम परिक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्तिशाली हुन्छ ।

विज्ञहरुले प्योङयाङको दाबीलाई संयमताको साथ अध्ययन गर्नुपर्ने बताएका छन् । तर, उत्तर कोरियाको परमाणु क्षमतामा उल्लेख्य बृद्धि भएको स्वीकार भने गरेका छन् ।

दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले उत्तर कोरियाले गत आइतबार परिक्षण गरेको परमाणु बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा चारदेखि पाँच गुणा शक्तिशाली भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका रक्षा मामिलाका संसदीय समितिका प्रमुख किम योङ वुले सैन्य सुत्रको हवाला दिँदै आइतबार गरिएको परिक्षण पछिल्लो वर्ष गरिएको पाँचौ परिक्षणभन्दा धेरै शक्तिशाली रहेको बताए ।

उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर २०१६ मा परमाणु परिक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अन्तर्राष्ट्रिय समूदायको दबाबका बावजुद उत्तर कोरियाले परमाणु हतियारको विकास र क्षेप्यास्त्र परिक्षणलाई अघि बढाउँदै लगेको छ । अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र निर्माण गर्ने उसको लक्ष्य छ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परिक्षण उत्तरको पुङ्गे–री परमाणु परिक्षण क्षेत्र रहेको किल्जु काउन्टीमा भएको हो ।
राज्यको मौसम विभागका अनुसार आजको ‘कृत्रिम भूकम्प’ पछिल्लो परिक्षणभन्दा ९।८ गुणा शक्तिशाली थियो ।

यसअघि प्योङयाङले लामो दुरीको क्षेप्यास्त्रमा फिट गर्न मिल्ने हाइड्रोजन बम तयार भएको बताउँदै नेता किम जोङ उन र सम्भावित ‘हाइड्रोजन बम’ को तस्विर सार्वजनिक गरेको थियो ।

जापानले पछिल्लो परिक्षणको भत्सर्ना गरेको छ भने दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् ।

उत्तर कोरियाको छैटौँ परमाणु परिक्षणले एउटा स्पष्ट राजनीतिक संकेत दिएको छ । वासिंगटनबाट ट्रम्प प्रशासनले दिएको धम्की वा अन्तर्राष्ट्रिय समूदायको भत्सर्नाको बावजुद प्योङयाङले आफ्नो परमाणु गतिविधि रोक्ने वाला छैन ।

एजेन्सी

यसमा तपाइको मत

अन्य समाचार