काठमाडौं,
श्रावण २७ ।
गीतकार अम्बिका गुरुङले रचना गरेका दुई तीज गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् । ती मध्ये रज्नी राईको स्वरको गीत ‘आएनौ छोरी…’ भावुक शैलीको छ भने आभा मुकारुङ र कला राईको स्वरको ‘तीज आयो है…’ गीत नृत्यपरक छ । सङ्गीतकार प्रकाश लेप्चाद्वारा सङ्गीतबद्ध दुबै गीतका म्युजिक भिडियोहरु सङ्गीतकार लेप्चाले नै निर्देशन गरेका हुन् । लेप्चाले नै दुबै गीतमा सङ्गीत संयोजन समेत गरेका छन् ।

भावसागर इन्टरटेन्मेन्ट एलएलसीको यूट्युब च्यानलबाट दुबै भिडियो सार्वजनिक भएका हुन् । आएनौ छोरी गीतको म्युजिक भिडियोमा अभिनेत्री मिथिला शर्माले मर्मस्पर्शी अभिनय गरेकी छिन् । उक्त गीतमा गीतकार गुरुङले तीजमा छोरी माइती घर नआएको वेदनालाई शब्दमार्फत व्यक्त गरेकी छिन् । शिबदास गुरुङद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियो जोहन योञ्जनले छायाँकन गरेका हुन् भने राजन कार्की यो भिडियोका सम्पादक हुन् । भिडियोमा अभिनेत्री मिथिला शर्मासहित क्रिस्टिना लेप्चा तथा कुसुन गुरागाईंले अभिनय गरेका छन् ।
तीज आयो है…गीतमा पनि शिवदास गुरुङकै कोरियोग्राफी छ । यो भिडियोमा रीना थापा मगर तथा नृत्याङ्गनाहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।






