अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा

युएई,
श्रावण १७ ।

युएईमा ‘अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०१७’ मनाइँने भएको छ । नेपाल आदिवासी जनजाति महांसघ युएईलगायत विभिन्न एघार जातीय संघसंस्थाले संयुक्त रुपमा २३औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम गर्ने भएको हो । यही अगष्ट ११मा ‘आदिवासी जनजातिको शान, आत्मासम्मान, स्वाभिमान र पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको आयोजकले जनाएको छ ।
युएईको डेइरा दुबईस्थित र्काल्टन होटलमा दिउँसो दुई बाट कार्यक्रम हुने महासंघका अध्यक्ष डेरराज तमुले बताएका छन् । विश्व आदिवासी दिवस १९९४ यता संयुक्त राष्ट्रसंघले विश्वभरका आदिवासी जनजातीहरुलाई समेटेर मनाउन सुरु गरेको हो । आदिवासीको दयनीय अवस्था, राज्यबाट उपेक्षित तथा उनीहरुको मौलिक पहिचानको संरक्षण–सम्बद्र्धन र विकाश गर्ने हेतुले प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको छ । तर, यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।
उक्त कार्यक्रमको लागि नेपालबाट प्रमुख वक्ताको रुपमा आदिवासी जनजाती अभियन्ता, संस्कृतिविद् तथा प्राध्यापक डा. कृष्ण भट्टचन सहभागी हुँदैछन् भने प्रमुख अतिथिको रुपमा युएईका लागि नेपाली महामहिम कार्यबाहक राजदूत नेत्रबहादुर टन्डन आउने कार्यक्रमतय भएको जनाइएको छ ।
कार्यक्रममा महासंघभित्र रहेका ११ वटै जातीय संस्थाहरुले अलगअलग स्टल राख्ने भएका छन् । ती स्टलमा आ–आफ्नो पहिचान झल्काउने सामाग्री तथा भेषभुषालगायत प्रदर्शन गरिँदैछ ।
साथै, कार्यक्रममा विभिन्न जातीय संघसंस्थाबाट आ– आफ्नो मौलिक पहिचान बोकेको नृत्य प्रदर्शन गर्ने छन् भने प्रवासमा रहेका ख्यातीप्राप्त कलाकारले गीतसंगीत र नृत्यमार्फत मनोरञ्जन दिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार