काठमाडौं,
श्रावण १५ ।
उपन्यास ‘धर्मकन्या’ लिएर मुगुकी रविना रोकाया राजधानीमा आएकी छन् । सुदूर पश्चिमको मुगुकी रविना रोकायाको पहिलो उपन्यास ‘धर्मकन्या’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा सिँचाईमन्त्री सञ्जय गौतम र वरिष्ठ चिकित्सक एवम् गीतकार डा. भोला रिजालले संयुक्त रूपमा विमोचन गरे ।
विमोचनपछि बोल्दै मन्त्री गौतमले विकट भएर पनि संसारकै प्रसिद्ध र सुन्दर रारातालले सुशोभित मुगुजस्तो भूमिबाट रविनाले सुन्दर कृति लेखेकोमा प्रशंसा गरे । उनले कवि तथा साहित्यकारहरूले साहित्यका माध्यमबाट आफ्नो थातथलोलाई चिनाउन विशेष भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले आफूले मुगुमा पुगेर स्वास्थ्य शिविर चलाएको स्मरण गर्दै त्यहाँको भूगोलबाट आएकी रविनाजस्ती साहित्यकारको कृति विमोचनमा सहभागी हुन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले रविनालाई बधाई दिँदै आगामी दिनमा पनि मुगुको प्रकृति, संंस्कृति र जनजीवनलाई विषय बनाएर उपन्यास लेख्न सुझाव दिए ।
कार्यक्रम संयोजक प्राज्ञ एवम् कवि वियोगी बुढाथोकीले शिवपुरी साहित्य समाज र शिवपुरी साहित्यिक पत्रिकाले विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई बर्षेनी सम्मान गर्नुका साथै स्रष्टाका पुस्तक प्रकाशन र विमोचनजस्ता कार्यक्रमहरूको आयोजना गर्ने गरेको बताए । उनले भने, ‘आज मुगुकी स्रष्टाको कृति विमोचन कार्यक्रमको आयोजन ागर्न पाउँदा हर्ष लागेको छ ।’
उपन्यासकार रविना रोकायाले कार्यक्रममा उपन्यास लेखनको अनुभव बताए थिइन भने शंकर भारती, शशी थापा पण्डित, रणबहादुर सेजुवाल, हस्तबहादुर मल्ल र खड्गबहादुर शाहीलगायतले कृतिबारे बोलेका थिए ।






