सामान्य व्यापारदेखि उद्योगपतिसम्म

मिलाप डेस्क
झापा जिल्लामा मित्तल परिवारको अलग्गै पहिचान बनिसकेको थियो । मारवाडी परिवारको सदस्य भएकोले हाम्रो मित्तल परिवार ११५ वर्षदेखि नेपालको माटोसँग परिचित भइसकेको छ । मैले आफ्नो व्यापार–व्यवसायलाई फर्केर हेर्ने हो भने सामान्य व्यापार गर्दै परिवार धानेको हिजैजस्तो लाग्छ । आज सफल उद्योगपतिका रूपमा आफूलाई चिनाउन पाउँदा गर्वले छाती ढक्क हुन्छ । २०४३ सालमा केही समय इलाममा आएर बस्दै गर्दा सानोतिनो व्यापार थालियो । ०४३ साल मङ्सिर २३ गते झापाको तत्कालीन अनारमनी गाविस–३, विर्तामोडमा आएर बसेको हाम्रो परिवार २०५५ सालसम्म सन्तोजनक व्यापारिक जीवनमै अल्झिरहेको थियो । ०५५ सालमा ३० जनाको एउटा व्यापारिक समूहअन्तर्गत मेरा साथीभाइलाई एउटा चिया कम्पनीले नयाँ वर्ष मनाउने सिलसिलामा थाइल्यान्ड पठायो । त्यति बेला नेपालमा ल्वाङ, पेस्ता, अदुवा, कुचो, सुपारी, पेपर मिन्ट, सालधूप आदिमा ठूलो मात्रामा गिरावट आइसकेको थियो । यसबाट मलाई पनि ठूलै व्यापारिक घाटा भयो । यति बेला मलाई पनि व्यापार गर्न कठीनजस्तो लाग्यो । चारैतिर पर्खाल लागेको अनूभूति पनि हुँदै गयो । त्यति बेला बेलुका करोडपति सुतेको मान्छे, बिहान उठ्दा ‘क’ पनि नभएको अनुभूति हुन्थ्यो । त्यति बेला सानोतिनो व्यापार गर्दा पनि ऋण मागेरै सुरु गर्नु गरिएको थियो । साथी–भाइबाट सापट दिने चलन पनि थियो । जुन अहिले पनि साथी–भाइबीच चल्ने गर्छ ।
साथी–भाइबाट लिएको पैसा फिर्ता गर्न पनि निकै गाह्रो थियो । पैसा माग्न आउँदा भनेकै बेला र समयमा नै दिन सक्दिनथें । भएको आरएक्स बाइक पनि बेच्नुप¥यो । कुनै बेला यस्तो समय पनि थियो, जतिबेला ऋण लिएको फिर्ता गर्न नसक्दा र आफ्नो आर्थिक दायित्व पूरा गर्न नसक्दा साहुबाट बचेर हिँड्नुपर्ने हुन्थ्यो भने परिवार चलाउनसमेत गाह्रो पर्ने अवस्था थियो । इलामे साहु शंकरलाल अग्रवालसित लिएको एक लाख सापटी तिर्न नसक्दा गलाको सिक्री नै बेच्नुपरेको थियो । सिक्री बेचेर ८७ हजारमात्र आयो । १३ हजार नपुग भने संयोग नै भन्नुपर्छ तास खेल्ने पनि गर्थें । त्यति तास खेलेर जितेको पैसा थपेर शंकरलालको ऋण चुक्ता गरिदिएँ । त्यसपछि मसँग न बाइक रह्यो न त सिक्री नै । भएको व्यापार पनि सकियो ।

सुपारीले खोलिदियो व्यावसायिक भविष्य
व्यापारिक घाटा र पारिवारिक अवस्था नाजुक बन्दै गएको थियो । २०५७ सालबाट पुनः व्यापारिक वातावरण सिर्जना भयो । ससुरा आत्मराम वंशलले मलाई काँकडभिट्टा बोलाए । हामीबीच व्यापार गर्ने सल्लाह भयो । मैले ससुरा र विजय डाल्मियासित मिलेर पुनः सुपारीको व्यापार सुरु गरें । व्यापार राम्रै चल्दै गयो । ०५७ सालमा झापाका तत्कालीन स्थानीय विकास अधिकारी खगप्रसाद नेपालले बोलाउनुभयो । आर्थिक ०५७÷०५८ को अन्तिम त्रैमासको कर उठाउने ठेक्का बिनाटेन्डर मलाई दिनुभयो । यही तीन महिनाको ठेक्का नै आफ्नो वृत्ति विकासको गतिलो आधार साबित भयो । खगप्रसाद र म नामसालिङकै बासिन्दा भए पनि हाम्रो चिनजान भने जिल्ला विकास समितिमै भएको थियो ।
सुपारीकै व्यापारले मेरा लागि अवसरको ढोका खोलिदिएको हो । तीनजनाको पार्टनरसिपको यो व्यापार त्यति धेरै टिक्न सकेन । ०६० सालसम्म मात्रै व्यापारमा साझेदारी रह्यो । तीन चार वर्षे साझेदारीको व्यापारबाट सङ्कलन भएको पुँजीका कारण ०६१ सालदेखि एक्लै व्यापार गर्न थालें । त्यति बेला भने व्यापारका लागि पुँजीको समस्या थिएन । सुपारीको व्यापारले नै मलाई व्यापारीबाट उद्योगपति बनाउने बाटो देखायो । सुपारीको व्यापार झण्डै १० वर्ष चल्यो । ०७० सालदेखि भने सुपारीको व्यापार ठप्पजस्तै भएको छ । अहिलेसम्म पनि सुपारीको कारोबार चलेको छैन । सुपारीबाट आर्जन गरेको पुँजीलाई अन्यत्र परिचालन गर्न सफल भएकोले नै सुपारीमा नै भर पर्नु भने परेन ।
काँकडभिट्टामा सुपारीको कारोबार गर्दा बनाएको गोदामले व्यापारिक वातावरण निकै बुझाएको थियो । त्यो गोदाम अहिले सञ्चालनमा त छैन । यसको जानकारी लिन भने मैले कर्मचारी नै खटाएको थिएँ । अहिले सुपारीको व्यापार मन्द छ ।

चार दिन त्रासदिपूर्ण क्षण
ससुरासँग मिलेर सुपारीको कारोबार गर्दै आर्थिक प्रगति गरेको कुरा राज्यविरुद्ध सशस्त्र युद्ध गरिरहेका माओवादीले थाहा पाए । माओवादीमा संलग्नलाई राज्य सत्ताले केही गर्न सक्दैन थियो । माओवादीको उदण्ड स्वभावका कारण कानूनी राज्यको धज्जी उडाएको अवस्था थियो । माओवादी जत्थाले जे भन्यो, त्यो नमान्दा ज्यान जाने अवस्थाको सिर्जना भएको थियो । २०६१ साल चैत ३ गते मेरो परिवारमा दोस्रो छोरा जन्मिएको थियो । घरमा श्रीमतीले फेरि छोरा जन्माएकोमा खुसीयाली छाइरहेको थियो । तीन हप्ताकी सुत्केरीको स्याहार गर्ने समयमा माओवादीको एक समूहले अपहरण गरे । अपहरणमा मानसिक र आर्थिक तनाव भने खुब दिए । त्रासदीपूर्ण यातनाको चार दिनपछि मुक्त गरिदिए ।

व्यावसायिक भविष्य
वि.सं. २०५६ सालमा आइपुग्दा करोडपतिबाट रोडपति भएको मेरो जीवनले बिस्तारै आर्थिक प्रगतिको खुड्किलो उक्लन थाल्यो । ०६१ सालपछि आफूले सुरु गरेको व्यापार व्यवसाय र लगावले नै अहिलेको अवस्थामा ल्याउन सफल भएको हो ।

न्यू ढाका होटल
यो काँकडभिट्टामा रहेको एकतारे स्तरको होटल हो । होटलमा मसहित ४ जना साझेदार छन् । यो होटलमा खाने र बस्ने व्यवस्था सँगसँगै होटललाई आफ्नो स्तरअनुसार मिनी क्यासिनो चलाउन पाउने सुविधा पनि छ । होटल ढाकामा मिनी क्यासिनो सञ्चालनमा छ । यो होटलमा प्रायःजसो पुगिरहेको हुन्छु । होटल र क्यासिनो गरेर त्यहाँ स्थानीय ६०–७० जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भेनियर उद्योग
अर्को मेरो भेनियर उद्योग विशेष गरेर प्लाइउड बनाउने काममा प्रयोग हुने उद्योग हो । यो उद्योग ज्यामिरगढी—९ मा पर्छ । आठ विगाहा क्षेत्रफलमा फैलिएको यो भेनियर उद्योगमा ६०–७० जनाले दैनिक रोजगारी पाएका छन् । कान्छो छोरा वैभव मित्तलको नामबाट यसको नामाकरण गरिएको छ । यसलाई वैभव भेनियर उद्योगका नामले चिनाउन सकेको छु ।

कोइला डिपो
यो कोइला डिपो पनि भेनियर उद्योग खोलिएको वरिपरि ज्यामिरगढीमै पर्छ । २० विघा जमीनमा सङ्कलन गरी राखिएका कोइलाका थुप्राहरु हेर्दा यो कोइला डिपो पनि ठूलै आकारमा देखिन्छ । स्थानीय तहमा प्रयोग हुनुका साथै अधिराज्यका धेरै ठाउँमा यी कोइला सप्लाइ हुने गर्छन् । यसमा पनि चारजना नै पार्टन छन् । आफ्नो तर्फबाट कोइलाको डिपोको रेखदेख र व्यापार हेर्ने जिम्मा भने जेठो छोरा ऋषभ मित्तललाई दिएको छु । यो कोइला डिपोमा करिब १५० जनाले दैनिक रोजगारी पाइरहेका छन् ।

ईंंट्टा उद्योग
ज्यामिरगढी–८ मा रहेको बीबीसी ईंट्टा उद्योग पनि सञ्चालनमा रहेको छ । ०६५ सालदेखि साथीहरु छिरिङ शेर्पा र दीपक दाहालले सञ्चालनमा ल्याएको यो ईंट्टा उद्योगको क्षेत्रफल १३१.२ विगहा छ । छिरिङ र दीपकलाई २५÷२५ प्रतिशत सेयर दिएर योे ईंट्टा उद्योगको ५० प्रतिशत धनी उनीहरुले नै भएका छन् । यो उद्योगमा तीन सयजनाले दैनिक रोजगारी पाएका छन्  ।

वैभव चिया उद्योग
चियाको क्षेत्रमा परिचित नाम हो वैभव चिया उद्योग । झापाको दुवागडी–२ मा २०४ विगाहा क्षेत्रफलमा फैलिएको छ यो चिया उद्योग । २०४२ सालमा वंशल चिया बगानको नामबाट सञ्चालनमा आएको यो बगानलाई वंशलहरूले राम्ररी सञ्चालन गर्न सकेका थिएनन् । वंशल चिया बगानलाई २०६८ सालदेखि ६८ दशमलव ७५ प्रतिशत सेयर किनेर वैभव चिया उद्योगको बनाएको हुँ । उद्योग चलाउँदा उद्योग मजदूरसँग जोडिन्छ । मजदूर र मालिकबीचको सम्बन्धलाई सुमधुर बनाउन सकिएन भने उद्योग धरासायी हुन सक्छ । सायद यही भएर होला २५ वर्षसम्म पनि त्यति ठूलो आकारको हुँदा पनि वंशल चिया बगानले व्यासायिक गति लिन सकेन । अहिले चियाबाट त्यति फाइदा नभए पनि घाटा छैन । चियाबाट सन्तोषजनक रुपमै आम्दानी भइरहेको छ । यस चिया उद्योगमा झण्डै ३ सय मजदूरले रोजगारी पाएका छन् ।

सिमेन्ट उद्योग
पार्टनरसिपमै सञ्चालन गरेको अर्को क्षेत्र हो सिमेन्ट उद्योग । कञ्चनजङ्घा सिमेन्ट नामक यो उद्योग चारपाने, झापामा रहेको छ । यो उद्योगबाट दैनिक पाँच हजार बोरा सिमेन्ट उत्पादन हुन्छ । यस्ता उद्योगमा स्थानीयले श्रम पाउने भएकाले यो सबल पक्ष हो । यो उद्योगमा छ जनाको स्वामित्व रहेको छ । मेरो आफ्नो भने यसमा १४ दशमलव २८ प्रतिशत सेयरमात्रै रहेको छ । यो उद्योगमा मेरो सेयर हिस्सा तुलनात्मक रुपमा थोरै देखिए पनि यसले दिएको प्रतिफल भने सन्तोषजनक नै छ । अर्को नयाँ सिमेन्ट उद्योग दर्तामा छ । उद्योगको निर्माण राष्ट्रका लागि नै हुन्छ । लगानीको केही अंश उद्योगपतिले लिए पनि दीर्घकालसम्म यस्ता उद्योगले धेरैको दैनिकी चलेको हुन्छ ।

घर–जग्गाको व्यवसाय
झापा जिल्लाका धेरै ठाउँमा प्लटिङ गरेर सबैभन्दा बढी आम्दानी गर्ने व्यवसाय पनि बनेको छ वैभव हाउजिङ । वैभवको नाममा दर्ता गरी सञ्चालनमा ल्याइएको छ रियल स्टेटलाई । हाउजिङ तथा घरजग्गा कारोबारले आर्थिक उन्नतिमा सबैभन्दा ठूलो भूमिका खेलेको छ । राजस्व पनि घरजग्गाको योगदान निकै धेरै हुन थालेको छ । घरजग्गाका लागि चारआली, बुट्टाबारी, विर्तामोड, चारपाने, अनारमनी क्षेत्रमा प्लटिङ छ । विर्तामोडको हर्कलाल मार्गमा हाउजिङ (घर बनाएर अपार्टमेन्ट बेच्ने काम) सफल व्यवसाय पनि भएको छ । यो वैभव हाउजिङ व्यवसायले आर्थिक उन्नतिमा ठूलो टेवा पु¥याएको छ ।

मित्तल मिनी मार्केट
मित्तल मिनी मार्केट अर्को व्यावसायिक पाटो हो । यो मिनी मार्केट झापा, विर्तामोडको मुक्ति चोकबाट झण्डै ५०० मिटर पूर्वतर्फ पर्छ । २०७२ साल कात्तिक महिनादेखि सञ्चालनमा आएको मित्तल मिनी मार्केटको राम्रोसँग चलिरहेको छ । मित्तल मिनी मार्केट विशेषगरेर सडकमा अव्यवस्थित रूपमा व्यापार गर्ने फुटपाथे व्यापारीलाई व्यवस्थित गर्ने उद्देश्य राखेर खोलिएको हो । मित्तल मिनी मार्केट व्यावसायिक रूपमा पनि राम्रो छ । सहरको सुन्दरतामा अवरोध नपु¥याई सडकका व्यापारीहरू व्यवस्थित बनाएर बजारको रूपमा राख्न पनि यो मार्केटले सहयोग पु¥याएको छ । यो मित्तल मिनी मार्केटमा ६८ वटा सटरहरु छन् ।

चलचित्र निर्माणमा हात
लगानीका अवसर र नयाँ क्षेत्रको पहिचान गरेर प्रयोगात्मक लगानी गर्न सकिने बुझाइस्वरुप चलचित्र क्षेत्रलाई पनि व्यावसायिकरुपमै लिएको छु । चलित्रमा निर्माताको हैसियतले आफ्नो उपस्थिति देखाउने प्रयास गरें । २०७१ सालमा लय संग्रौलाको कथा, पटकथा, संवाद् तथा गीत अनि उनकै निर्देशनमा ‘लोग्ने मान्छे’ नामक चलचित्र निर्माण गरें । यो चलचित्र निर्माण गर्ने क्रममा निर्देशक र निर्माताबीचमा सहजकर्ताको रुपमा प्रदीप मित्तलकै मिल्ने साथी विर्तामोड, चारपाने निवासी मदन गोपाल सुब्बाले काम गरेका थिए । यसमा दिलिप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको छ । झापा, इलाम र काठमाडौंमा छायाङ्कन गरिएको यो चलचित्र निर्माण निकै राम्रो भए पनि उल्लेख्य व्यापारिक सफलता भने यसले हासिल गर्न सकेन । झण्डै ६० लाखको लगानीमा यो चलचित्र निर्माण भयो ।

राज्यप्रतिको योगदान
राज्यले कुनै पनि व्यक्तिलाई कामको जिम्मेवारी तोकिदिने होइन । आफैंले जिम्मेवारी बहन गर्दै जाने हो । राज्यभित्र रहेका विविध कार्यहरू, क्षेत्रहरू हेरेर कुनै पनि नागरिकले आफूलाई मनपर्ने, आफूले गर्न सक्ने काम गरेर राज्यलाई योगदान दिएको हुन्छ । राज्य भनेको व्यापार, उद्योग, कृषि, कला, संस्कृति, पर्यटन, शिक्षासहितका विवध पक्ष र क्षेत्र हो । राज्यभित्र धेरै अवसर र विषय तथा क्षेत्रहरू हुन्छ । ती सबै क्षेत्रका लागि राज्यले आवश्यक नीति नियम बनाएर सञ्चालन गर्ने गरेको हुन्छ । ती सबै नीतिलाई राजनीतिले नेतृत्व दिएर मुलुक बन्छ, चल्छ । व्यापार तथा औद्योगिक क्षेत्रलाई समातेर काम गरिरहेको हुनाले यही क्षेत्र अहिले आफूलाई चिनाउने गर्विलो स्थान भएको छ ।

चारतारे होटल द्वारिका इन
हालका उद्योगका अतिरिक्त झापामै चारतारे उद्योग स्थापनाको योजना बनिरहेको छ । झापाकै पहिलो चारतारे होटल बनाउन योजना अगाडि बढिरहेको छ । द्वारिका इन नामक यो होटलको निर्माण क्षेत्र पनि हेरिसकिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गरिने यो होटल हाल ४२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । चारतारे होटलका सबै मापदण्ड पूरा गरिनेछ । यसको शिलान्यास पनि भइसकेको छ । यो ‘द्वारिका इन’ को निर्माणपछि पूर्वाञ्चल क्षेत्रकै एउटा पर्यटकीय आवास बन्नेछ । नेपालसँग सीमा क्षेत्र दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बंगालका समेत पर्यटकहरुलाई आरामदायी र सुविधायुक्त होटल हुनेछ । व्यावसायिक रूपमा होटल भव्य हुनेछ । होटलले रोजगारीको अवसर सिर्जना गर्नेछ भने व्यावसायिक लाभ पनि दिनेछ ।

प्राविधिक स्कूल
अर्को व्यावासायिक योजनाका रुपमा प्राविधिक स्कूल पनि रहेको छ । द्वारिका इनको निर्माणपछि यो क्षेत्रमा हात हालिनेछ । यो स्कूल आधुनिक सुविधायुक्त तथा कम्प्युटर सिस्टमबाट पढाइने प्राविधिक क्याम्पसको रूपमा निर्माण हुनेछ । विदेशी विश्वविद्यालय स्तरकै प्राविधिक स्कूल÷क्याम्पस निर्माण गरी विद्यार्थीले विदेश जानु नपर्ने स्तरको बनाउने योजना छ । आफ्नो क्षेत्रमै यस्ता स्कूल÷क्याम्पस स्थापना गर्नाले स्थानीय विद्यार्थीहरू लाभान्वित हुनेछन् । देशलाई चाहिने प्राविधिक जनशक्ति उत्पादन गरी देशलाई टेवा पु¥याउने योजना छ ।

नयाँको खोजिले धेरै सिकाउँछ
कामको सिलसिलामा होस् वा फुर्सदको समयको सदुपयोग गर्न बेलाबेलामा घुमघाममा पनि निस्कनुपर्छ । साथीहरुको सन्दर्भमा होस् या पारिवारिक, स्वदेश–विदेश गर्नुपर्छ । यसले नयाँ कुरा सिक्ने अवसर मिल्छ । भारतसहित थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इन्डोनेसिया र चीनलगायतको मुुलुकको भ्रमणले पनि मलाई धेरै कुरा सिकाएको छ । धेरै सिस्टम सिकाएको छ ।
शान्त तलाउमा साना–साना भए पनि ढुङ्गाहरु फ्याकिरह्यो भने सानै भए पनि छाल उठिरहन्छन् । मान्छेको दिमागलाई त्यत्तिकै बस्न दिनुहुँदैन, सानै भए पनि राम्रा काममा दौडाइरहनुपर्छ । बोली, इमानदारिता र सहनशीलताले मानिसलाई असल र सफल बनाउँछ । चित्त नबुझेको कुरा ठाउँको ठाउँ सोध्ने बानि गर्नुपर्छ । बाल्यकालदेखिका साथीले मलाई मेरो हरेक सुख–दुःखमा साथ दिएका छन् । साथीसँगकै साझेदारीमा व्यापार व्यवसाय चलेको छ । झापाका परिचित उद्योगी तथा विभिन्न पेशा र व्यवसायमा क्रियाशील व्यक्तित्व मेरा मित्र छन् । जिन्दगीको उतारचढाव, दुःख–सुखको साक्षी तिनै मेरा छिमेकी र दौतरी हुन् । हिजो धेरै दुःख गरेको मानिस आज सफलताको धेरै उचाईमा पुगेकोमा खुसी मान्ने पनि छन् । मानिसमा जोश, जाँगर, केही गर्ने अठोट र विवेकले सधैं काम गर्नुपर्छ । कर्मप्रतिको फलमा विश्वास गर्नुपर्छ । कर्म नै हाम्रो दैनिकी हो । हामीले हरेक दिन गर्ने कर्मले नै हामीलाई सफलतातर्फ अगाडि बढ्न साथ दिइरहेको हुन्छ । सधैं सकारात्मक सोचाइ र भावनाले अगाडि बढ्नुपर्छ ।

(कुराकानीमा आधारित)

यसमा तपाइको मत

अन्य समाचार