मानव एक सामाजिक प्राणी हो । त्यही ‘प्राणी’ मानिसलाई यो जगतको सबैभन्दा विकसित जीव मानिएको छ । समाजबिना उसलाई बस्न गाह्रोमात्र होइन, असम्भव नै देखिन्छ । फेरि समाजबिना हाम्रो पूर्ण रुपमा विकास हुन पनि सक्दैन । त्यसैले मानिसलाई हरेक कदममा घर–समाजको आवश्यकता पर्ने गर्छ । समाजका मानिसहरुबीच हामीले आफ्नो जीवनको अधिकतम समय बिताउने गर्छांै । जुन समाजमा हामी बस्छौं, त्यहीँ हामी खान्छौं, बस्छौं, रमाउँछौं ।
हामी समाजमा बसेपछि समाजप्रति पनि हाम्रो केही जिम्मेवारी हुन्छ । समाजप्रति जिम्मेवारी नहुने मानिस त पशुसरह नै भइहाल्यो नि होइन र ? समाजप्रतिको हाम्रो जिम्मेवारी निस्वार्थ भावबाट हुन जरुरी छ । हामीले आफ्नो समाजको जिम्मेवारीलाई निस्वार्थ भावबाट मानिसहरुको सेवा, मद्दत र हितमा लगायौं भने यसले पूरै देशको व्यवस्थामा सुधार गर्न सकिन्छ । समाजलाई सेवा पुग्ने काम गर्नु हरेक युवाको कर्तव्य पनि हो । बिना कुनै स्वार्थ समाजमा केही योगदान पु¥याउनु हरेक नागरिकको कर्तव्य हो । यही नै धर्म हो ।
जब हामी समाजमा रहेर एकअर्काको सुख–दुःखमा साथ निभाउँदैनौ भने यो जीवनको सार्थकता रहँदैन । त्यसो त हाम्रो परिवार पनि समाजको एउटा इकाई हो । तर, घरमा मात्रै सीमित भएर हाम्रो जन्मको उद्देश्य पूरा हुँदैन । हामीमा ‘वसुधैव कुटुम्बकम’को भावना जागृत हुन आवश्यक छ । खासगरी दुःखको अवस्थामा एक अर्काको काममा आउनु हाम्रो मुख्य कर्तव्य हो । यदि हामी सहनशीलता, संयम, धैर्य, सहानुभूति र प्रेमलाई आत्मसात गर्न चाहन्छौ भने हामीमा भएको सङ्कीर्ण मनोवृत्तिलाई छोड्नु पर्छ ।
धन, सम्पत्ति र वैभवले मात्रै सन्तुष्टि नखोजेर हामीले चहराइरहेको घाउहरुमा पनि मलहम लगाउन सक्यौं भने त्योभन्दा ठूलो सन्तुष्टि अर्काे हुने छैन । आत्मोन्नतिका लागि ईश्वर प्रदत्त जो गुण सदैव हामीमा छ त्यो हो सेवाभाव, समाजसेवा । जबसम्म हामीले सेवाभावलाई जीवनमा पर्याप्त स्थान दिँदैनौ, तबसम्म आत्मोन्नतिको बाटो खुल्ला हुँदैन । भनिएको पनि छ नि– राम्रो कामको नतिजा राम्रै हुन्छ र खराब कामको नजिता खराब नै । यस्तै, अर्काे भनिएको छ– हामी जे रोप्छौं, त्यही फल्छ ।
यही महान् उद्देश्यका लागि घाँसी नेपालसँग मेरो सहकार्य भयो । त्यसो त मेरो समाजसेवाप्रतिको जिम्मेवारी अन्य सङ्घ–संस्थामार्फत् तथा व्यक्तिगतरुपमा निर्वाह गरिरहेको थिएँ । म लायन्स क्लबमा सन् २००६मा जोडिएँ । लायन्स क्लब अफ काठमाडौं प्याराडाइजकोको संस्थापक सदस्य
हुँदै २००८ देखि लायन्स क्लब अफ मिराकल काठमाडौंको निरन्तर अध्यक्ष रहिआएको छु । त्यस्तै, रोटरी क्लबको सदस्यका रुपमा आफूलाई विभिन्न सामाजिक कार्यहरुमा प्रस्तुत गर्दै आएको छु ।
– शोभाकान्त पाण्डे
स्याङ्जा जिल्ला, स्वोरेक गाविस–५ को बुबा खेमनारायण पाण्डे र माता पार्वती पाण्डेका सात सन्तानमध्ये म एक । मैले गाउँकै स्कूल राजेन्द्र भवानी माध्यमिक स्कूलमा प्रारम्भिक अध्ययन गरें भने बुटवल बहुमुखी क्याम्पसबाट कानूनको अध्ययन गरें । तर, म कानूनको विद्यार्थी भए पनि आफूलाई संलग्न गराएँ– व्यवसाय र समाजसेवातर्फ । जुन मेरो सानैदेखिको चाहना थियो । घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेसँग मेरो सम्पर्क भएपछि उहाँले संस्थाको सदस्य बन्न आग्रह गर्नुभयो । मेरो पनि बालबालिका खासगरी ग्रामीण क्षेत्रमा जसले शिक्षाको उचित अवसर प्राप्त गर्न सकेका छैनन्, उनीहरुलाई केही गरौं भन्ने थियो र उहाँसगँ सहकार्य भयो । म सस्दय बनेको एक वर्षपछि संस्थाको साधारणसभाबाट मलाई महासचिवको जिम्मेवारी दिइयो, जसलाई आजको मितिसम्म मैले निरन्तररुपमा आफ्नो वहन गर्दै आएको छु । यो संस्था स्थापना भएदेखि आजसम्म हामीले के–कस्ता कामहरु गर्दै आयौं भन्ने कुरामा यो सानो लेखमा उल्लेख गर्न सम्भव छैन ।
वि.सं. २०७१ वैशाख १२, १३ र २९मा देशमा आएको विनाशकारी भूकम्पले धेरै जन–धनको क्षति ग¥यो । कयौं विद्यालयका संरचनाहरु ध्वस्त भए । हामीले ती विद्यालय पुनर्निर्माणतर्फ आफूलाई पछिल्लो समयमा संलग्न गराउँदै आएका छौं । केही सम्पन्न भएका छन् भने केही बन्ने क्रममा नै छन् । यसका लागि देश–विदेशका विभिन्न सहयोगी हातहरु हामीले पाएका छौं । त्यो सबै पर्याप्त नभए पनि हामी निरन्तर कार्यमा जुटिरहेका छौं । सहयोगी हातहरुमा म यस लेखमार्फत् पनि नमन गर्न चाहन्छु । उहाँहरुको समाजसेवाको पवित्र भावनालाई सलाम ।
समाजसेवा भनेको समाजमा कसैलाई समस्या परेको बेलामा सहयोगको हात बढाउने कार्य हो । यसअन्तर्गत समाज विकासको कार्यलाई कसरी अगाडि बढाउने, शिक्षा र स्वास्थ्यबारे जनचेतनाका कार्यक्रमहरु प्रदान गर्ने, हिंसामा परेकालाई न्याय दिलाउने, असहायलाई साथ दिनेलगायतका कार्यहरु पर्दछन् ।
अहिले नेपालमा समाजसेवाका लागि भन्दै विभिन्न सङ्घ–संस्थाहरु खोलिएका छन् । केही संस्थाहरुले निःस्वार्थरुपमा समाजसेवा गरेका भए पनि कतिपय संस्थाहरुले देखावटी रुपमा समाजसेवा गरेर बसेको पनि पाइएको छन् । जोकोहीले पनि समाज सेवाका लागि संस्था सञ्चालन गरेर बसेको देख्दा अचम्म लाग्छ । समाजमा सेवाको भावले अगाडि बढ्ने व्यक्तिको चरित्र पनि सफा हुन आवश्यक छ । बाहिरीरुपमा मुखौटा लगाएर समाजसेवामा संलग्न व्यक्तिहरुको जमात दिन–प्रतिदिन बढ्दै गएको विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । यसतर्फ हामी सचेत हुनै पर्छ भन्न चाहन्छु यो आलेखमार्फत् ।






