काठमाडौं,
आषाढ २० ।
नाचघर लोक दोहोरीमय बनेको छ । राजधानीको जमल स्थित नाचघर मङ्गलबार लोक दोहोरीमय बनेको हो । मङ्गलबारबाट सांस्कृतिक संस्थानले आयोजना गरेको तीन दिवशीय राष्ट्रिय खुला लोक दोहोरी प्रतियोगिता–२०७४ कार्यक्रममा दर्शकले लोक दोहोरीको मनोरञ्जन लिने अबसर पाएका छन् । यो प्रतियोगिता बिहिबारसम्म चल्ने छ ।
यो प्रतियोगितामा देशभरका १७ ओटा लोक दोहोरी प्रतियोगिता समुहले भाग लिएका छन् । जस मध्य राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान समन्वय, जुनकिरी दोहोरी साँझ दरवार मार्ग, सृजना समुह काठमाडौं, राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी, राष्टिय लोक तथा दोहोरी प्रतिष्ठान बागमति, निलहिरा समाज काठमाडौंले लोक दोहोरी गीत गाए ।
उनीहरुबीच लोक दोहोरी गायनका क्रममा एकले अर्कालाई व्याँग्य गर्दै मायाँप्रीति कुरामा घम्साघम्सी चल्दा दर्शकले आनन्द लिएका थिए । यस्तै सो प्रतियोगितामा अतिथि कलाकारका रुपमा बद्री पँगेनी, म्याक्सन खाती, अर्जुन खड्का, जमुना सनम लगायतका कलाकारले पनि दोहोरी भाका सुनाएका थिए ।
यो प्रतियोगिताको उद्घाटन मँगलबार दिउँसो अग्रज लोक गायक कुमार बस्नेतले गरे । बल्यकालमा आफु लोक गायनमा लाग्दाको अनुभव सुनाउँदै नेपाली लोक गीत, लोक भाका देशको मौलिक सम्पत्ति भएको बस्नेतले बताए । उनले नेपाली लोक भाकाको विविधताको बारेमा पनि चर्चा गरे ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लोक संस्कृतिको विकाश गर्न, जगेर्ना गर्नु उदेश्य भएकाले सोही अनुसार लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको बताए । आउँदा वर्षमा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग सहकार्य गरेर यस्तो प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए ।
राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले ढिलै भएपनि सरकारी तरबबाट यस्तो लोक दोहोरी गायन प्रतियोगिता आयोजना गरेर लोक दोहोरीलाई प्रोत्साहन गर्ने काम भएको बताए । उनले यस्ता प्रतियोगिताले लोक दोहोरी गायनमा प्रस्तोसाहन पुग्ने विश्वास व्यक्ति गरे ।
प्रतियोगिताको बारे सो संस्थानका बरिष्ट नाटक प्रबन्धक प्रभाकरदेब शर्माले प्रकाश पारे । शर्माका अनुसार यो प्रतियोगिता बुधबार र बिहिबारपनि दिनभर चल्ने छ ।
बिहिबारसाँझ सकिने यो प्रतियोगिताको बिजेता समुह पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार, तेस्रो हुने समुहले २५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।






