सोऽमृतत्वाय कल्प्येत

मार्च २५ स्न २०१७ को मेरो बिहानी फरक सूचनाको जानकारी पाएर बित्यो । आफू कार्यरत बानेश्वर क्याम्पस शान्ति नगर, काठमाडौंको चिया पसलमा वरिष्ठ साहित्यकार तथा प्राध्यापक श्री महेश प्रसाईं अलि फरक, ओइलिएको मुद्रामा हुनुहुन्थ्यो । सधैं क्रियाशील, उत्साहित मुद्रामा देखिने श्री प्रसाईंको चेहेरामा केही शोक र विस्मयको छाया मडारिरहेको थियो ।
चियाको सुर्कीसँगै थोरै एकान्तसाथ विस्मयपूर्ण मुद्रामा उहाँले भन्नुभयो, ‘थाहा पाउनुभयो ? चामलिङका पिताको देहान्त भएछ नि ! हामी भोलि जाँदैछौं, जाने भए खबर गर्नुहोला, यस्ता दुःखद् अवसरमा जानु राम्रो … ।’
बिहानको कार्य सिद्धियो । घरमा आएर खाना खाएँ । मेरो पनि बागबजारमा प्रेससम्बन्धी काम थियो । महेश सर सिक्किम लाने समवेदना पत्रको तयारीमा मिलापका सम्पादक कृष्ण भुसालजी र केही साथीहरुसित त्यहीँ भेट हुनुभयो । मित्र मोहिनी कोइराला (तन्त्र गुरु) पनि आइपुग्नु भयो । समवेदना पत्र तयारीमा हामी सबै लाग्यौं । चियापानपछि भोलि २७ मार्चका दिन अपराह्न ४ बजेको सुमो गाडीबाट सिन्धुलीको बाटो हाम्रो यात्रा सुरु भयो । महेश प्रसाईं, कृष्ण भुसाल, मोहिनी कोइराला र म कुलप्रसाद चारजना राति २ बजे काँकडभिट्टा ओर्लिएर विधान होटलमा गई केही घण्टा आराम ग¥यौं ।

२७ तारिख बिहानको यात्रा सिक्किमको ‘याङयाङ’ जहाँ माननीय मुख्यमन्त्री पवन चामलिङको निवास छ, त्यतातिर गर्नु थियो । उज्यालो भयो । घाम निकै माथि आए । प्राध्यापक महेशले साहित्यकार तथा पत्रकार मित्रहरु नवीन सुब्बा, सुरेश राई र यज्ञ पाठकसित फोन सम्पर्क गरी बोलाउनुभयो । प्रायः सबै खिन्न मुद्रामा भेला हुनुभयो ।
चियापानपछि विधान होटलका धनञ्जय दुलालले बन्दोबस्त गरिदिनुभएको सुमो गाडी (जीप) चढेर हामी गन्तव्यतिर लाग्यौं ।

–  कुलप्रसाद पराजुली
यात्रा हामी धेरै गर्छौं । यो यात्रा हाम्रो खुसी र उमङ्गको यात्रा नभएर विस्मय बोकेको तर कर्तव्यपूर्ण यात्रा थियो । मान्छेले वहर र कर वा परिवन्दले यात्रा गर्छन् । रहरको यात्रा बरु नगरे हुन्छ तर कुनै महान् पुरुषले गरेको जीवन उत्सर्गपछिको महायात्राको सम्झनामा गरिने यो कर्तव्ययात्रा मानव हुनुको कारण गर्नैपर्ने परिस्थितिजन्य अनिवार्य यात्रा थियो । मानव हुनुको नाताले हामीले पनि यो यात्रा थालेका थियौं र त्यहाँबाट अघि बढ्यौं ।
जीवनवादी दार्शनिकहरु भन्छन्– मानव शरीर पाएर संसारमा जन्मनु पनि यात्रा हो । कविहरुले पनि भनेका छन्– यात्रा जिन्दगी हो, नसोच मनको सङ्कल्प पूरा गर …. आदि ।
श्रीमद्भागवद् गीताको उद्घोष छ– देहधारी जीवको यात्रा देह र देहीको हुन्छ । देश शरीर र देही आत्मा हो । शरीर मर्छ, आत्मा अजर अमर छ । देशका बाल, कुमार, युवा र वृद्धावस्था हुन्छन् तर आत्माको एउटै अवस्था रहन्छ । शरीरबाट प्राण निस्किएपछि शरीर पछि नास हुन्छ, आत्मा सरेर अर्को देहमा प्रवेश गर्छ । त्यसैले भनियो ‘तथा देहान्तर प्राप्ति’ ।
मान्छे पृथ्वीमा जन्म लिएर आफ्नो आयूभरि बाँच्छ । उसको बचाइ शरीर र कर्म दुई प्रकारले हुन्छ । शरीरले बाँच्नेहरु शरीर समाप्त हुनासाथ समाप्त हुन्छन् तर विचार र कर्मले बाँच्नेहरुको शरीसितमात्र हुँदैन । शरीर समाप्त भए पनि जनहितका कार्यको सम्झना मानवको अस्तित्व कालान्तरसम्म रहन्छ । ‘कर्तिर्यस्य सजीवति’ त्यसैले भनिएको हो ।
हाम्रो याङयाङको यात्रा एउटा कर्मवीर समाजसेवी एवम् राजनेता साहित्यकार श्रीमान् मुख्यमन्त्री पवन चामलिङका समाजसेवी पिता आशबहादुर चामलिङको महाप्रस्थानको अवसरले सिर्जना गरेको परिस्थितिजन्य विगत २ दशकभन्दा पनि बढी अवधिदेखि सक्षमतापूर्वक शासनसत्ता समालेका एउटा होनाहार जनप्रिय कुशल राजनेतालाई जन्माउने महान् आत्मा तथा समाजसेवीको वैकुण्ठ गमन यात्राका अवसरमा अमर आत्माको चीर शान्तिको कामना र त्यो आत्मा उडेर जाँदा छोडेर गएको पार्थिव शरीरले जन्माएका शाखा सन्तान, नाता कुटुम्ब, परिजन र निजकी जीवनसङ्गिनीलगयातका शोक सन्तप्त सबैलाई धैर्यधारण गर्ने शक्ति परमात्माले प्रदान गरुन् भन्ने समवेदनामूलक सन्देश दिन गएको व्यावहारिक पक्षको एउटा औपचारिक कर्तव्य बोध र पालनाको पक्ष थियो हाम्रो यात्रा ।
आखिर हाम्रो गन्तव्य र हामीले लगेको समवेदना पत्रको सार पनि त्यही थियो । जसरी श्रीमद् भागवद् गीताले भन्यो ‘महाप्रस्थान गर्ने यात्रीले छोडेर गएका आफन्त र परिजनहरु हो संसारलाई बुझेर आत्माको देहान्तर प्राप्ति हो यो भन्ने सम्झेर सहेर बस, मोहमा नपर । आत्मा मर्दैन, त्यो अजर अमर छ ।’ त्यसैले भनियो ‘धीरस्तत्र म मुहयति’ अर्थात, सुख–दुःख र मिलन–विछोडको मर्म बुझ्ने धैर्यवान् मानवले धैर्य धारण गरी सत्य पक्ष बुझ्दछन् र क्षणिक शोक र दुःखबाट विचलित हुँदैनन् भनिएको हो । मनुष्य योनी सुख–दुःख भोग्नका लागि नभएर सुख–दुःखबाट माथि उठेर महान् आनन्द र परम शान्ति प्राप्त गर्नका लागि हो भन्ने बुझ्न जरुरी छ भन्ने आशयले नै गीत दर्शनले निचोडमा शङ्खघोष ग¥यो ‘सोऽमृतत्वाय कल्प्येत’ अर्थात् जीव (आत्मा) अमृतत्व प्राप्त गर्छ आदि ।
श्रीमद् भागवद् गीताको उद्घोषबमोजिम हामी पनि त्यस महान् आत्माको चीर शान्तिको कामना र वैकुण्ठवासी आत्माको संयोगबाट विछोड भएका आशबहादुर चामलिङका धैर्यशाली राजनेता श्रीमान् पवन चामलिङ र उहाँका आफन्त तथा परिजनले यो शोक सागरबाट आफूलाई आफ्नो स्वविवेकले उतार्न सफलता प्राप्त गर्नु हुनेछ भन्ने विश्वास सदाशयपूर्वक व्यक्त गर्न पुग्यौं र आफ्नो यात्रा सफल भएको ठान्यौं । याङयाङ २८ मार्चका दिन समवेदना दिन भेला भएको दोहोरी लन्ताको मानवसागरले पनि यही सावित गरिरहेको थियो अनि शोक सन्तप्त तर जनप्रिय समाजसेवी मुख्यमन्त्रीज्यूको त्यहाँ गएका सबैसित सप्रेम भेटघाट र भलाकुसारीपूर्वकको धन्यवाद ज्ञापनले पनि महाप्रस्थान गरेको महान् आत्माको पूर्ण मुक्तिको अव्यक्त साङ्केतिक सन्देश दिइरहेको भान हुन्थ्यो । हामी पनि करिब आधा घण्टाको भेटघाटपूर्वको बसाइँपछि ‘हरिरस्तव्र न मुह्यति’ र ‘सोऽमृतत्वाय कल्प्येत’को भावोद्गार दिलैदेखि प्रकट गर्दै फिर्ता यात्रा रोज्न पुग्यौं ।
आत्माको महाप्रस्थानको पूर्ण सफलताको कामना र शोक सन्तप्त परिवार एवम् परिजनप्रति हार्दिक समवेदना । यात्रै यात्राको जीवनमा सबै किसिमको यात्रा अमृतत्व चुम्न पुगोस् । ‘सोऽमृतत्वाय कल्प्येत’ ।

यसमा तपाइको मत

अन्य समाचार