काठमाडौं,
ज्येष्ठ १५ ।
गत शुक्रबारबाट सिनेमाघरहरुमा आएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो ।
‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो’, निर्माता गिरीले भने ।
उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।
निर्देशक दिनेश राउतका अनुसार वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । ‘दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ’, उनले भने ।
सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको सङ्गीत रहेको छ ।






