भक्तपुर,
ज्येष्ठ ८ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा पोटरी स्क्वायर भक्तपुरमा तीन दिने सेरामिक्स हस्तकला तथा मूर्तिकला कार्यशाला–२०७४ शुरु भएको छ ।
कार्यशालको कलाव्रत न्यासका अध्यक्ष डा. चन्द्र शेखर काले, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख श्री धनबहादुर याखा र मनोज पावर तथा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले कार्यशालाको समुद्घाटन गरेका छन् ।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. चन्द्र शेखर कालेले स्थानीय कलाको विकासमा सरकारले ध्यान पुर्याएकोमा खुसी व्यक्त गर्दै सहभागीहरुलाई मेहनत र लगानका साथ कार्यशालामा सहभागी हुन अनुरोध गरे ।
कार्यक्रमको सभापति प्राज्ञपरिषद् सदस्य श्री सुषमा राजभण्डारीले भक्तपुरको पहिचानको रुपमा रहेको सेरामिक्स कलालाई देशव्यापी रुपमा पहिचान दिन तथा अन्तर्राष्ट्रिय रुपमा समेत विकास गर्न महत्व रहेको जानकारी गराइन ।
उक्त कार्यशालामा ३ जना प्रशिक्षक तथा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।






