कस्तो माछा मासु उपयुक्त

मिलाप,
काठमाडौ ।

साधारणतः माछा–मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सिर्जना हुनसक्छ । पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, सबैलाई थाहा भएकै कुरा हो कि आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसको साथै स्वस्थ्य व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक हुन्छ । अझ उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरुले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । रातो मासु अर्थात् खसी, भैंसी, सुँगुर आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयस्क तथा वृद्धहरुमा साधारणतया बढी स्वस्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।


कतिपय समुदायले साँस्कृतिक प्रचलन र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम प्रयोग गर्नु नै राम्रो हुन्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुनसक्छ । त्यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुका परिकारका रुपमा प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पनि पाइन्छ । तामा, लौहतत्व, जिङ्कजस्ता खनिज तत्व पनि यी अङ्गमा प्रशस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु फोहोरका रुपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।
सेतो मासुः सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको साटोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा आदिमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खाने समयमात्र छाला निकाल्दा राम्रो हुन्छ ।
कुखुरा र टर्कीको मासुमा झण्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै प्रकारको चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको साटोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्नसके स्वास्थ्यका लागि फाइदाजनक सावित हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारातमक असरबाट जोगिन सकिन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो मानिन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरु प्रशस्त मात्रामा हुन्छ । विशेषगरी, यसमा भिटामिन ‘बी–१’, ‘बी–३’, ‘बी–६ र भिटामिन ‘डी’ प्रशस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।
माछा र ओमेगा–३ फ्याटी एसिडः केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैं बार्नुपर्छ भन्ने हुँदैन । जस्तै– माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक किटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कालेस्टेरोल बढाउँछ । ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकोले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो प्रकारको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रुपमा माछा खाने मानिसलाई मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

–नवीन भुसाल

यसमा तपाइको मत

अन्य समाचार