तीन अस्कर चलचित्र नेपालमा प्रदर्शनमा आउँदै

काठमाडौं,
११ चैत ।

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन चलचित्र नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म उक्त चलचित्र दर्शकले हेर्न पाउने छन् ।

नेपालस्थित विदेशी चलचित्र वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट चलचित्र घोषित मुनलाइट, निर्देशन सहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित चलचित्र डीप वाटर होराइजन प्रदर्शन गर्न लागेको हो ।

क्यूएफएक्ससहित देशभरका सबै मल्टिप्लेक्समा चलचित्र भवनमा रिलिज हुने एप्पल प्रमुख जेनिस पहारीले बताइन् । ‘ढिलै भएपनि नेपाली दर्शकलाई ठूलो पर्दामा अस्करको मजा चखाउने जमर्को गरेका हौं’ उनले भनिन्, ‘खासगरि, गम्भिर दर्शकले यी फिल्म रुचाउन सक्नुहुनेछ ।’

गत महिना बाँडिएको अस्कर अवार्डमा अमेरिकी अफ्रिकन युवकको कथा प्रस्तुत गर्ने चलचित्र मुनलाइट सर्वोत्कृष्ट भएको थियो । क्रिटिक्सहितका ठूला अवार्ड जितेको म्युजिकल ड्रामा लाला ल्यान्डले उत्कृष्ट निर्देशन, अभिनेत्री, छायांकन र ध्वनीका विधामा जित्यो ।

पिटर वर्ग निर्देशित डिजास्टर जानराको बायोपिक चलचित्र डीप वाटर होराइजन ध्वनी सम्पादन र भिजुअल इफेक्ट विधामा मनोनित भएपनि अवार्ड जितेन ।

एप्पलले मार्च ३१ मा प्रतीक्षित एनिमेटेड सिनेमा बोस बेबी रिलिज गर्दैछ । यस अवसरमा एप्पलले लाबिम मलमा रेडकार्पेट विशेष सोजको समेत आयोजना गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार