समाजसेवामा कलाकार

 

गीता अधिकारी

मिलाप ।

अन्य देशमा जस्तै हामीकहाँ पनि कलाकारहरु सामाजिक कार्यमा लाग्ने गरेका छन् । यस्तो कार्यमा महानायक राजेश हमालदेखि अन्य कलाकारसम्म देखिएका छन् । केही कलाकारले साँच्चिकै समाज र देशका लागि सामाजिक सेवा गर्दै आएको देखिए पनि केहीले सामान्य व्यक्तिगत चर्चाका लागि यस्तो गर्ने गरेको देखिन्छ । केही कलाकारहरुले व्यक्तिगत रुपमा र केहीले अन्य सङ्घ–संस्थासँग मिलेर अनि केहीले आफ्नै नाममा फाउन्डेशन बनाएर सामाजिक सेवामा लागेका छन् । सेवा हि परमो धर्मः । अर्थात्, सेवा नै सबभन्दा ठूलो धर्म हो भनेर केही कलाकारहरु देखिएका छन् । कलाकर्मीहरु सक्रिय रुपमा समाजसेवामा लाग्नु समाज परिवर्तनको एउटा राम्रो पाटो हो ।
गत वर्ष वैशाख १२, १३ र २९ गते आएको विनासकारी भूकम्पपछि अझ बढी कलाकारहरु यसमा संलग्न भएका छन् । भूकम्पपछि तुरुन्तै राहत वितरणमा देखिएका कलाकारहरु पछि पुनर्निर्माणमा पनि त्यत्तिकै सक्रिय भएर लागेका छन् । यसमा सबैभन्दा बढी सक्रिय रहे हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ । उनीहरुले धुर्मस– सुन्तली फाउन्डेशनमार्फत् सामाजिक कार्य गर्दै आएका छन् । यो फाउन्डेशन काभ्रेपछि गिरानचौरको पुनर्निर्माणमा दिनरात नभनी खटियो र टेलिभिजनका साथै स्टेजमा हसाउने उनीहरु भूकम्पपीडितको मुहारमा हाँसो ल्याउन गिरानचौरमा सफल भए । अहिले रौतहटको मुसहर बस्तीको अभियानमा रहेका छन् । हास्य टेलिसिरियल ‘मेरी बास्सै’को पर्दामा धुर्मुस–सुन्तली बनेर जोडी जमाएका यी कलाकार नेपाल सरकारको सरसफाई दूत पनि हुन् ।
त्यस्तै, विगत लामो समय शैक्षिक क्षेत्रमा काम गर्दै आएको घाँसी आदर्श समाज नेपालसँगको सहकार्यमा एक दर्जनभन्दा बढी स्कुलको पुनर्निर्माणमा सक्रिय छन् महानायक राजेश हमाल । आफू सामाजिक कार्यमा कहिल्यै पछि नपरेको र अरुले पनि सहयोग गर्न अग्रसर हुनुपर्ने उनी बताउँछन् । देशमा आएको विनासकारी भूकम्पले देशको भविष्यका कर्णाधार बालबालिकाको शिक्षामा पनि असर पु¥याएको भन्दै यो संवेदनशील क्षेत्र भएकाले आफूले घाँसी नेपालसँग सहकार्य गरेको उनले बताए ।
यसैगरी, केही चलचित्रले चलचित्रको व्यापारिक सफलतापछि भएको आम्दानीलाई सामाजिक कार्यमा पनि खर्चिने गरेका छन् । यसको पछिल्लो उदाहरण रह्यो यो वर्षको अहिलेसम्मको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ । चलचित्रको व्यापारले खुसी भएका दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्रले कमाएको नाफाको केही रकम सामाजिक सेवामा लगाउने घोषणा गरेका थिए । ‘हामीले आफ्नो घोषणाअनुरुप नै सामाजिक कार्य गर्दै आएका छौँ,’ चलचित्र निर्देशक दीपाश्रीले भनिन् । दीपक र दीपासहित चलचित्रका अन्य निर्माताले राजधानीनजिकैको जीतपुर फेदीमा रहेको मातृ नेपाल अपाङ्गअन्तर्गत सञ्चालित बालगृहका ३६ जना बालबालिकाहरुलाई जाडोको कपडा वितरण गर्दै भोजनसमेत गराएका थिए ।
त्यसैगरी, निर्देशक तथा चलचित्र निर्माता सङ्घका नवनिर्वाचित अध्यक्ष आकाश अधिकारी अध्यक्ष रहेको संस्था ‘आशाको ज्योति नेपाल’ले विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । नायक सबिन श्रेष्ठले पनि समाजसेवामा रुचि देखाएका छन् । उनी एक संस्था दर्ता गरेरै सामाजिक सेवामा लागेका छन् । ‘संस्थाले देशभरका अनाथालय तथा आश्रमहरुलाई सहयोग गर्नेछ’ सबिनले भने । यस्तै, नायिका रेखा थापाले पनि ‘रेखा थापा फाउन्डेशन’मार्फत् राउटे बालबालिकाको पालनपोषण, शिक्षाको व्यवस्था गरिरहेकी छन् ।
सामाजिक सद्भाव र सेवामा हर हमेसा लागिपरेकी अर्की कलाकार हुन् मोडल तथा नायिका दीपशिखा खड्का । ‘ममा सानो उमेरदेखि नै सहयोगी भावना थियो र सामाजिक सेवा गर्न भनेर नै दीपशिखा फाउन्डेसन संस्था स्थापना गरेकी हुँ’ उनले भनिन् । उनको फाउन्डेशनले पछिल्लो समय भूकम्पपीडितलाई ब्ल्याङ्केट वितरण, विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, लभ यु बाबा फिल्मको च्यारिटी शो गरेर आएको मुनाफा भूकम्पपीडितलाई सहयोगलगायत अन्य सेवालाई पनि विस्तार गर्दै आइरहेको छ । त्यस्तै, यो फाउन्डेशनले कलाकार लक्ष्मी रानाको उपचारार्थ सहयोग गरेको थियो ।
कलाकारहरुले कुनै न कुनै रुपमा सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । बालबालिका, अनाथालय, वृद्धवृद्धालाई नेपाली कलाकारहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । यस्तो सहयोगमा कसैले आफ्नो जन्मदिनलाई पनि उपयोग गरेका छन् । यस्तैमा चलचित्र निर्माता÷वितरक तथा नायक करण श्रेष्ठ ‘क्रेजी’ले राजधानीको बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई जन्म दिनको अवसरमा ५० हजार नगद सहयोग गरेका थिए । उक्त अनाथ आश्रममा रहेका बालबालिकालाई नायिका सारिका घिमिरेले पनि गत महिना आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सहयोग तथा खाना खुवाएकी थिइन् ।
समाजसेवामा सक्रिय रहने कलकर्मीको पङ्क्तिमा मह जोडी, आनी छोइङ डोल्मा, निरु खड्का, विजय लामा, निर्णय श्रेष्ठ, मिलन लामा, सबिना कार्की, पुजना स्त्री, पुष्पराज पुरुष, खुश्वु खड्का, गायिका सबिना कार्की, शोभिता सिम्खडा, पप गायक मिलन लामा र ¥यापर निर्णय श्रेष्ठ, मोडल खुश्वु ओली, निराजन सिंहलगायतका रहेका छन् । पछिल्लो समय केही कलाकारले सस्तो प्रचारबाजीका लागि पनि सामाजिक सेवाको ढोङ गरिरहेका छन् भनिए पनि उनीहरूको सेवालाई अब प्रचारबाजीमात्र भनेर हुँदैन । कलाकार भित्री मनदेखि नै समाजसेवामा लाग्नुपर्ने चलचित्र पत्रकार विजयरत्न बताउँछन् ।

चलचित्रकर्मी समाजसेवामा आउनु सकारात्मक कार्य हो । कलाकारलाई अगाडि सारेर पछाडि अरुले पनि समाजसेवाको काम गरिरहेका छन् । समाजसेवी चलचित्रकर्मीलाई हौसला प्रदान गरौँ । तर, समाजसेवाका नाममा व्यक्तिगत सेवामा लाग्नेहरुप्रति भने सचेत हुनैपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार