खगेन्द्रराज सिटौला
नेपाललाई नयाँ नेपाल भनेर ऐतिहासिक नेपालको अपमान गर्ने काम भइरहेको छ २०६२÷०६३को परिवर्तनपछि । नेपाल नयाँ होइन, नेपाल पुरानो हो । नेपाल संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका राष्ट्रहरुमध्ये पुराना दश मुलुकभित्र पर्दछ । स्थापना, स्वतन्त्रा र निरन्तरताको इतिहास केलाउँदा नेपाल नयाँ होइन, पुरानो हो । नेपालको झण्डा झन् धेरै पुरानो हो र र यो निरन्तर फहराइरहेको छ नेपाल धर्तीमाथिको आकाशमा । नेपालले आधिकारिक रुपले फहराउन पाउने विश्वमा । त्यसरी नै नेपालको राष्ट्रिय सेनाको अटुट निरन्तर विकासक्रम पनि त्यत्तिकै पुरानो छ । विश्वका सेनाहरुको इतिहास केलाउँदा नेपाली सेनाहरुको जस्तो यस्तो अटुट लामो इतिहास भएका सेनाहरुको इतिहास बहुत कम छ । शासन व्यवस्थाहरु फेरिएका छन्, शासकहरु फेरिएका छन् तर नेपालको निरन्तरता फेरिएको छैन । तसर्थ, नेपाल नयाँ होइन, पुरानो हो । नयाँ नेपाल भनेर पुरानो गौरवशाली इतिहास बोकेको नेपाललाई अपमान नगरौँ । आधुनिक वैज्ञानिक मान्यताले समेत पुष्टि गरेका करिब पाँच हजार वर्ष पुराना पुराण आदि धार्मिक ग्रन्थमा पनि नेपाल भूभाग वा नामको उल्लेख भएकोले नेपाल कति प्रचीन इतिहासले निरन्तरता रहेको छ भन्ने बलियो प्रमाण दर्शाउँछ ।
नेपाल इतिहासका अनेक कालखण्डमा जुट्दै–टुट्दै फेरि अन्तिम पल्ट नेपाल शक्तिका लागि नेपाल शक्तिले नै जुटेको छ । नेपाल शक्ति नेपालको इतिहास निर्माता हो । नेपाल शक्ति नेपाली इतिहासले निर्माण गरेको हो । नेपाल शक्ति के हो र ऐतिहासिक विकासक्रममा नेपाल शक्ति कसरी विकसित भएर आयो ? यसबारे छोटो छलफल चलाऔँ ।
अरु विश्वमा जस्तै अनेक राजवंशको नेतृत्वमा नेपाल सङ्गठित भएर नेपालशक्तिको रुपमा अघि बढेको हो । पछिल्ला गोर्खाका शाहवंशीय राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सङ्गठित भएको नेपाल मेची–कालीबीचको प्रकृति, संस्कृति र नेपाली राष्ट्रिय भावनाले ओतप्रात देशभक्त नेपाली जनताको एकता नै आधारभूत नेपाल शक्ति हो । पृथ्वीनारायण शाहभन्दा अगाडि नेपाल अनेक राजवंश कालमा जुट्ने र टुट्ने क्रमबाट गुज्रिरहेको थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले पुनः नेपाललाई जुटाउने अभियानको सञ्चालन गरेयता नेपाल टुट्ने क्रम भङ्ग भएको छ । प्राचीनकालदेखिका हिमवत खण्डको यो भूमिमा नेपाल शक्ति बनाउन योगदान पु¥याएका महिष वंश, गोपाल वंश, किरात वंश, लिच्छवी वंश, खश, मल्ल, सेन आदि अनेक वंशले स्थापित र विकसित गरेको नेपाल शक्तिको विरासत लिने पृथ्वीनारायण शाह हुन् । इतिहासको विरासत बोक्ने र इतिहासका अनेक कालखण्डमा खण्डित नेपाल शक्तिलाई पुनः सङ्गठित गरेर नेपाल शक्तिको निर्माता पृथ्वीनारायण शाह ऐतिहासिक प्रतिनिधि नायक हुन् नेपाल शक्तिका । उनै राष्ट्रनिर्माताले विकसित गरेको रुपको, सारको र धारको नेपाल नै वास्तविक नेपाल शक्ति हो ।
पृथ्वीनारायण शाहको नेपाल शक्ति निर्माण गर्ने अभियानलाई तन, मन, धन दिएर आफ्नो सहभागिता जाहेर गर्ने गोर्खालीजन र पछि अन्य भूभागका जनको त्यस्तै मनले नेपाल शक्ति सङ्गठित हुन सकेको हो । नेपाल शक्ति निर्माण गर्ने पृथ्वीनारायण शाहको अभियानको महत्व नबुझेर जुध्न आउने वा ढिलो बुभ्mनेहरुमाथि नेपाल शक्ति निर्माण खातिर उनले केही कर, बल छल मिश्रित साम, दाम, दण्ड भेदको प्रयोग पनि गर्नुपरेको थियो । त्यसको ध्येय एउटै थियो– नेपाल शक्तिको निर्माण गर्नु । पृथ्वीनारायणको नेतृत्वले स्थापित गरेको नेपाल शक्तिको अभियानको चरम अवस्था राजकुमार बहादुर शाहको नेतृत्वकाल हो । त्यही नेपाल शक्तिको महिमा ‘पूर्वमा टिष्टा पुगेथ्यौँ, पश्चिममा किल्ला काँगडा कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ’ शब्द, सङ्गीत स्वरको सुन्दर त्रिवेणी भएर नेपाल शक्तिको गाथामा माधवप्रसाद घिमिरे, नातिकाजी र तारादेवीहरु गुन्जिरहेका छन् नेपाली धर्तीमा ।
नेपाल शक्ति निर्माणको भोक पृथ्वीनारायण र उनका योद्धाहरुमा कति धेरै जागेको थियो भन्ने दृष्टान्त हो नेपाल शक्ति निर्माणमा बाधा पु¥याउन आउने जुनसुकै शक्तिलाई बाँकी नराख्नु । जयप्रकाश मल्लको आग्रहमा आएको त्यस बेलाको विश्व शक्ति हुने क्रमको अङ्ग्रेज शक्तिलाई नेपाल शक्ति हुने क्रमको गोर्खाली शक्तिले उच्च मनोबलको रण कौशलयुक्त आक्रमणले पराजय चखाइदिएको थियो । किनभने नेपाल शक्ति निर्माणको प्रमुख बाधक अङ्ग्रेज शक्ति नै हुनेछ भन्ने यथार्थता विश्लेषण गरेर नै दूरदर्शी पृथ्वीनारायणले त्यो शक्तिलाई सशक्त किसिमले प्रहार गरेर नेपाल शक्ति निर्माणको आधार बनाएका हुन् । यदि मल्ल राजा जयप्रकाशले भित्र्याएका अङ्ग्रेज फौजमाथि शाह राजा पृथ्वीनारायण विजयी हुन नसकेको भए नेपाल शक्तिको आधारसमेत ध्वस्त भएर नेपाल अङ्ग्रेज शक्तिको अधिनमा हुने थियो । र इतिहासमा नेपाल र नेपाल शक्तिको अस्तित्व कायम हुने थिएन । नेपाल शक्ति त्यसै सङ्गठित भएको होइन । यो शक्ति निर्माणमा बहुत धेरै जनले रगत, पसिना, बलिदान दिएका छन् । इतिहासमा अङ्कित–अनङ्कित धेरै पात्रहरु नेपाल शक्तिको गौरवशाली ध्वजामा गौरवान्वित भएर फहराइरहने छन् ।
आधुनिक नेपाल शक्ति निर्माण गर्ने अभियान गोर्खाबाट पृथ्वीनारायण शाहले सङ्गठित गरे अघि बढाए । उनले नेपाली पुर्खाबाट लिएको विरासतलाई सङ्गठित स्थापित र विकसित गरे । नेपाली सौर्यलाई सङ्गठित गरेर विश्व शक्ति अङ्ग्रेज उपनिवेशवादी शक्तिलाई पराजित गरे । त्यही शक्तिले खडा गरेको नेपाली सौर्यको जगमा उठेको नेपाली राष्ट्रिय भावनाले ओतप्रोत नेपाल शक्तिले बहादुरीपूर्वक आफ्नो मुलुक जोगाउन अङ्ग्रेजशक्तिसँग मुकाबिला गरेको थियो । अङ्ग्रेजसँग पराजित भएर अपमानजनक सुगौली सन्धिपछि नेपाल शक्तिमा गम्भीर क्षतिमात्र पुगेन कि नेपालको ठूलो भूभागसमेत खण्डित हुन पुग्यो ।
पृथ्वीनारायण, उनका छोरा बहादुर शाहसमेतको नेतृत्वमा बहादुर देशभक्त नेपालीहरुले सङ्गठित र विकसित गरेको नेपाल शक्ति र नेपाली सौर्य सुगौली सन्धिले खण्डित गरे पनि विघटित गर्न सकेको थिएन । त्यही शक्ति र सौर्यको उपयोग गरेर राणा प्रधानमन्त्री जङ्गबहादुरले अङ्ग्रेजको विरुद्धमा भारतमा भएको सिपाही विद्रोहमा अङ्ग्रेजलाई सहयोग गरेर सुगौलीमा गुमेको पश्चिम तराईको केही भूमि फिर्ता ल्याएर नेपाल शक्तिलाई बढोत्तरी गर्ने काममा योगदान पु¥याएका थिए ।
विभिन्न कालखण्डमा अनेक राज्यहरु जुट्ने–टुट्ने क्रममा नेपाली भाषा र संस्कृति घुलमिल हुने क्रम बढेको थियो । नेपाल शक्तिलाई जुटाउने, बलियो बनाउने क्रममा यसले पनि ठूलै योगदान पु¥याएको देखिन्छ । सनातन हिन्दू धर्म र योसँग जोडिएका धार्मिक सम्प्रदाय ओमकार परिवार किरात र उदार सहिष्णु हिन्दू संस्कृतिसँगको उठ–बसले उदार नै बनेका नेपाली मुसलमानलगायत सबै धर्मसँगको सुमधुर सम्बन्धसमेत नेपाल शक्तिको बलियो आधार बनिरह्यो ।
प्रसिद्ध हिन्दू धार्मिक ग्रन्थ रामायणलाई संस्कृतबाट सुमधुर शब्द र शैलीमा नेपाली भाषामा अनुवाद गरेर रामायणमार्फत् नेपाली भाषालाई लोकप्रिय बनाएका आदिकवि भानुभक्त आचार्यले भाषा–साहित्यमार्फत् पनि नेपाल शक्ति मजबुत पार्न ठूलै योगदान पु¥याएको स्वीकार्नुपर्दछ ।
राजा महेन्द्रले पहाड र तराई, पूर्व र पश्चिम, उत्तर र दक्षिणलाई घुलमिल गराएर नेपाल शक्तिलाई बलियो बनाउने उद्देश्यले पूर्वपश्चिम राजमार्गको स्थापना गराएको कुरा सजिलै बुभ्mन सकिन्छ । जोसँग उत्तर–दक्षिणका अनेक सहायक राजमार्गले यो उद्देश्यलाई सहयोग पु¥याएका छन् । राजनीति विभाजन पनि पहाड र तराईलाई घुलमिल र एकताबद्ध बनाइराख्न वैज्ञानिक किसिमले उत्तर– दक्षिण जोड्ने अञ्चलको विभाजन गरे । नेपाल शक्तिलाई बलियो बनाउन उनले भाषा, धर्म, र राजनीतिले एक ढिक्का बनाउन नेपाललाई हिन्दू अधिराज्यको पहिचान दिलाएको बुभ्mन सकिन्छ । राजा महेन्द्रलाई राजनीति दलहरु विदेशी स्वार्थका भरिया बन्छन् र दलमार्फत् विदेशी स्वार्थ भित्रिएर नेपाल शक्तिलाई छिन्न–भिन्न बनाउँछन् भन्ने डरले नै नेपालमा भारत, चीन, पश्चिमा मुलुक र बाँकी विश्वभन्दा पृथक मौलिक निर्दलीय राजनीतिको अभ्यास गरेको हुनुपर्छ । योमात्र नेपाल शक्तिलाई बलियो बनाउने उनको अलोकप्रिय तर अस्थायी अप्रजातन्त्रिक तर अनिवार्य राजनीति उपाय थियो । उनले बहुदलीय प्रजातान्त्रिक संविधान बनाउँदै गर्दा उनको निधन भएकोले यो कुराको पुष्टि हुन्छ ।
भारतीय प्रभावबाट बचाउन हिन्दी भाषाले होइन कि नेपाली भाषाले तराई–पहाडका जनतालाई जोडेर नेपाली राट्रियता बलियो बनाउने उद्देश्यले उनले काम गरेको सजिलै बुभ्mन सकिन्छ । नेपालमा भारुको वैधानिक र औपचारिक उपस्थितिलाई विस्थापित गरेर नेरुलाई मात्र नेपालको आधिकारिक मुद्रा बनाएका हुन् । नेपालका उत्तरी सिमानाका चेकपोष्टहरुमा रहेका भारतीय सेनाहरुलाई हटाउनु उनको नेपाल शक्तिलाई बलियो बनाउने त्यत्तिकै महत्वपूर्ण कार्य थियो । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै पहिचान र व्यक्तित्व दिन संयुक्त राष्ट्रसङ्घ र असंलग्न आन्दोलनजस्ता मञ्चमार्फत् नेपाल शक्ति बलियो बनाउन उनले ठूलै काम गरे । नेपालको सुरक्षा, व्यापार र विकासलाई सन्तुलित र बढी सुरक्षित बनाउन उनले पृथ्वीनारायणले भनेजस्तै उत्तरको छिमेकीसँग बलियो सम्बन्ध बनाइराख्न कुनै कसर बाँकी राखेनन् । पृथ्वीनारायणको उत्तरतिर रास्ता खोल्ने चाहनालाई राजा महेन्द्रले कोदारी राजमार्ग स्थापना गराएर आंशिक तर महत्वपूर्ण योगदान दिए । राजा महेन्द्रको कार्यकाल नेपाल शक्तिको सुदृढीकरणको कार्यकाल थियो ।
टंकप्रसाद आचार्यको नेतृत्वमा स्थापित र आस्थामाथि उभिएर बलिदान दिने पनि पहिलो नेपालको राजनीति दल नेपाल प्रजापरिषद्ले उद्घोष गरेको र बीपी कोइरालाको नेतृत्वको नेपाली काँग्रेसले राजा त्रिभुवनसँगको सहकार्यमा २००७ सालमा स्थापित र विकसित गरेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नेपाल शक्तिको अर्को बलियो आधार हो । यसलाई संस्थागतरुपमा अगाडि बढाउन राजा वीरेन्द्र र दलहरुको योगदानमा जारी दस्तावेज २०४७ को संविधानलाई लिन सकिन्छ । राजा र जनताको सहकार्य र एकतामा बनेको र जमेको नेपाल शक्तिलाई भत्काउन वा खण्डित बनाउन नै गणतन्त्र ल्याएका हुन्, २०४७ सालको निर्दोष संविधान फालेका हुन् । विदेशीको ईशारामा अबुझ राजनीति दल र नेताहरुले ।
नेपाल शक्तिलाई जुट्न नदिन र फुट, द्वन्द्व र गरिबीमा फसाइरहन जाति, भाषा, क्षेत्र, पहिचान, सङ्घीयता आदिको रचना गरेका छन् क्रान्तिकारिता र अग्रगमनको आवरणमा । संविधानसभा नेपाल र नेपाली जनताको एजेण्डा थिएन र होइन । नेपाल शक्ति कमजोर भएको अवस्थामा नेपाल शक्तिका अङ्ग नेपालका राजा, दल, सरकार र जनतासमेत कमजोर भएको सङ्क्रमणकालीन अवस्थामा बलियो भारतका बलिया प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका कमजोर राजा त्रिभुवनको मुखबाट ओकल्न बाध्य पारेकामात्र हुन्, संविधानसभाको चुनाव गरेर संविधान बनाउने घोषणा । यसैलाई पछिल्लो कालमा भारतका नवभरिया बनेका दलहरुले यो नेपाली जनताको ७ सालदेखिको लडाइँ हो भनेर नेपाली जनतामा भ्रम छर्न सफल भएका छन् । संविधानसभामार्फत् वैधानिक किसिमले नेपाललाई भारतमा विलय गराउने भारतको दाउ त्यसै बेलादेखि थियो । तर, उसको दाउलाई राजा महेन्द्रले पछारेरै छोडेका थिए ।
संविधानसभाले नेपाल शक्तिलाई कमजोर बनाउँदछ र यो नेपाल र नेपालीको एजेण्डा होइन भन्ने सत्य बुझाउन राजा महेन्द्रलाई ८ वर्ष लाग्यो । उनको विश्लेषणमा सहमति जनाएर नै बीपी कोइराला, पुष्पलालजस्ता नेताहरु पनि संविधानसभाको मुद्दा छोडेर २०१५ सालमा संसदीय चुनावमा जान सहमत भएको बुझ्नुपर्दछ । दुःखका साथ भन्नुपर्दछ राजा महेन्द्र, बीपी, केशरजंग रायमाझी, पुष्पलाल, मनमोहन अधिकारी, गणेशमान सिंह आदि नेताहरुले मिलेर पन्छाएको संविधानसभारुपी भारतको गलपासो नेपाल र नेपाली जनताको घाँटीमा झुण्ड्याउन पुष्पलालका कम्युनिष्ट नामधारी र बीपीको काँग्रेस र उनका भाइ गिरिजासमेत अग्रसर भए । भारत र पश्चिमा मुलुकहरुको संयुक्त षड्यन्त्रलाई क्रान्ति र अग्रगमनको आवरणमा नेपाल शक्तिलाई क्षतविक्षत गराउन उनीहरु हतियार र मतियार बन्ने क्रममा निरन्तर छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल शक्तिको आधार जातीय समानता र एकतामा देखेका थिए । त्यसैलाई मूर्तरुप दिन उनले उद्घोष गरेका हुन् ‘नेपाल सबै जातको साझा पूmलबारी हो’ भनेर । यही पूmलबारी एकताको आधार सूत्रलाई भत्काउन विदेशीको लगानी र सहयोगमा पहिचान सूत्र अघि सारेका हुन् कथित क्रान्तिकारी र लोकतन्त्रवादीहरुले । यो सबै पहिचानको नाममा सबै जातको पूmलबारीलाई सबै जातको गमलाबारीमा रुपान्तरण गर्ने एक गमलालाई उचाल्ने र अर्को गमलासँग जुधाएर नेपाल शक्तिलाई चकनाचुर बनाउने इन्डोवेष्टको यो गम्भीर रणनीतिक षड्यन्त्र हो ।
आदि–अनादि कालदेखि विकसित गर्दै ल्याएको सनातन हिन्दू धर्मलाई नेपाल शक्तिलाई बाँधिरहन सक्ने बलियो आध्यत्मिक अश्त्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देखेर नै नेपालको मौलिक आध्यात्मिक पहिचान असली हिन्दूस्थान रहेछ उद्घोष गरेका हुन् । यही मर्मलाई मूर्तरुप दिनलाई राजा महेन्द्र, वीरेन्द्र र वामपन्थीसमेतलाई सहमत गराउन कुसल कृष्णप्रसाद भट्टराई गणेशमान सिंहसमेतको योगदानमा नेपालाई हिन्दू अधिराज्य लेखिएको थियो बहुदलकालीन संविधानमा । तर, मल्ल राजाहरुले भित्र्याएका क्रिश्चियनहरुले नेपालको मौलिक आध्यात्मिक शक्तिलाई ध्वस्त बनाउँदै नेपाल शक्तिलाई नै ध्वस्त बनाएर लैजान्छन् भन्ने डरले पृथ्वीनारायण शाहले विधर्मी क्रिश्चियनहरुलाई निकाला गरेका थिए । तर, कम्युनिष्ट आवरणका क्रिश्चियनहरु तथा नेपाली काँग्रेस आवरणका क्रिश्चियनहरुको विदेशी प्रभुहरुसँगको साँठगाँठ र पैसामा समेत नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाएका हुन् जबरजस्ती र षड्यन्त्रपूर्वक । यो नेपाललाई इसाईकरण गराउने, नेपालपछि नेपालबाटै चीनको तीब्बत हुँदै चीनसमेत छिर्ने र सबै पूर्वीय सभ्यतालाई ध्वस्त बनाउने पश्चिमा चाल र षड्यन्त्र र दीर्घकालीन रणनीति नै हो । पृथ्वीनारायणको असली हिन्दूस्थानलाई इसाईकरणको भेलबाट बचाउन नेपाललाई हिन्दू अधिराज्य बनाउनुको कुनै विकल्प छैन ।
नेपाली एकतालाई बलियो बनाइरहनका लागि राजा महेन्द्रले उत्तर दक्षिणका प्रशासनिक तथा विकास इकाईका रुपमा १४ अञ्चल बनाएका थिए विज्ञहरुको सहयोगमा । यसलाई नै थप बल दिनका लागि राजा वीरेन्द्रले ५ विकास क्षेत्रसमेत बनाएका थिए । यो पनि नेपालशक्तिको महत्वपूर्ण आधार थियो । यही आधारलाई भत्काउन विदेशीहरुको षड्यन्त्र, लगानी र उक्साहटमा नेपालमा सङ्घीयता अझ जातीय सङ्घीयता थोपारिएको हो । एक मधेश एक प्रदेश उराल्न लगाइएको हो । तराइलाई पहाडबाट अलग्याएर अन्तमा नेपालबाटै अलग्याउन खोजिएको हो । यसैलाई मूर्तरुप दिन भरखरै पारिबाट आएकाहरुलाई धमाधम नागरिकता वितरण गराइएको हो, जुन कुरा नेपालको स्थायी शक्तिको एक पाटो राजसंस्था हुँदा सम्भव थिएन । बुझ्न सकिन्छ किन नेपालमा गणतन्त्र ल्याइएको रहेछ । स्पष्ट छ यो नेपालशक्तिलाई ध्वस्त बनाउँदै क्रमशः नेपालाई नै ध्वस्त बनाउने योजना नै हो ।
पुर्खाले दिएको नेपाल शक्तिको नासोलाई छिन्नभिन्न हुन नदिएरमात्र होइन कि आर्थिक शक्तिको एकताबद्ध नेपाल बनाइराख्ने नीति, राजनीति र राजनेताको एउटै नाम पृथ्वीविचार हो । आर्थिक शक्तिको आत्मनिर्भर अर्थतन्त्रको मुख्य कडी जलशक्ति हो । विद्युत् शक्ति आफैमा विकासको मुख्य कडी र नेपाल शक्ति प्रमाणित हुन्छ भन्ने तथ्यलाई बुझ्न ढिलो गर्नु हुँदैन । यो नेपाल शक्तिका निर्माता एवम् यो शक्तिका वैचारिक ऊर्जादाता पृथ्वीनारायण शाहको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको मर्म हो । जो पृथ्वीविचार हो, जसले मात्र नेपाल र नेपाल शक्ति जोगाउँछ जगाउँछ । नेपाल शक्तिलाई बनाइरहन र बचाइरहन सबैले नेपालको राष्ट्रिय चिन्तनधार बुझ्नुपर्दछ । नेपालको राष्ट्रिय चिन्तनधार भनेको पृथ्वीविचार हो । पृथ्वीविचारको सार र परिचय सबैले बुझ्नुपर्दछ र कार्यान्वयनमा उत्रिनुपर्दछ । परतन्त्र र भ्रष्टतन्त्र विरोधी स्वाधीन, सम्पन्न, स्वच्छ स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र सामाजिक न्यायमा आधारित पूर्वीय आध्यत्मिक र साँस्कृतिक परम्पराले निर्देशित राष्ट्रिय एकताको जनतन्त्र वा प्रजातन्त्र पृथ्वीविचारको सार र परिचय हो । यो नै नेपाल र नेपाल शक्तिलाई जोगाउने र जगाउने मुख्य वैचारिक अश्त्र हो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेको पृथ्वीविचारलाई नेपालको साझा माउ विचार बनाएर पदका श्री ५ बडामहाराजाधिराज क्षमताका बडानेता पृथ्वीनारायण शाहलाई साझा नेता मानेर अघि बढेमा नेपाललाई जोगाएर समृद्ध बनाउन सकिन्छ ।






