शाहप्रति साँघुरो मन किन ?

पेशल आचार्य

आउँदो पुस २७ गते पृथ्वीजयन्ती पर्छ । अहिले सो जयन्तीका दिन राष्ट्रिय बिदा दिने कि नदिने भनेर विभिन्न कोण–प्रतिकोणबाट चर्चा र बहस सुुरू भइसकेको छ । कोही पृथ्वीनारायणप्रति अन्धभक्त भई ‘राष्ट्रिय एकता दिवस’ को घोषणा गर्नुपर्ने तर्क राख्दैछन् भने कोहीचाहिँ पृथ्वीनारायणको इतिहासलाई ‘नामेट गर्न’ नानीदेखिको बल निकालेर लागिपरेका छन् । यसरी पृथक् दुई कित्तामा बाँडिएका ती दुवैथरी अतिवादी मतावम्बीहरु हुन् । अतिवादले कहिल्यै र कसैको पनि भलो गर्दैन । मनोयोगपूर्वक उत्सर्जित आफ्ना विवेक र तर्कहरु राख्ने स्वतन्त्रता जो–कोही सबैलाई छ ।

कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता हुन्, राष्ट्रनिर्माता हुन् । जसरी जर्मनीको निर्माणमा अटो भान बिस्मार्क, इटलीको निर्माणमा गैरीवाल्डी र कैबुर तथा फ्रान्सको निर्माण नेपोलियन बोनापार्टले आआफ्ना समयमा अजस्र योगदान गरेकै हुन् । ती देशहरुमा ती राष्ट्रनायकहरुको उँचो र धरोहरमय व्यक्तित्व स्थापित छ । तत्तत् देशका जनता सधैँ तिनीहरुका सम्मानमा श्रद्धाले न त हुन्छन् । गौरवले गौरवानुभूतिको श्वास फेर्छन् । हाम्रो देशमा मात्र पृथ्वीनारायणका बारेमा अनेक पन्थ र मन्थका विचारहरुको छिनाझप्टी चल्छ, चलाइन्छ । स्वार्थप्रेरित यस्ता कुराहरु गर्नमा मानिसहरु निकै रौसिन्छन् किनकि यहाँका मानिसहरुलाई पउल फुर्सद छ । एक–अर्काका कुरा गर्न र कुरा काट्न ।

कुनै व्यक्तिलाई फरक व्यक्ति वा इतिहासका पात्र मन नपर्न सक्छन् त्यो उसको व्यक्तिगत रूचि र स्वतन्त्रताको कुरो हो । विशेषताका आधारमा ऐतिहासिक पात्रोपात्रका अनेक विरोधाभाषहरु पनि हुन सक्छन् । त्यसो भयो भन्दैमा कोही कसैको ऐतिहासिक व्यक्तित्व र उसका योगदानलाई समूल रूपमा नामेट पार्न सकिन्न । मानिस मानिस नै हो, ऊ भगवान् होइन । भगवान् त समाजलाई अराजक हुनबाट बचाउने काल्पनिक हतियारमात्र हुन् । व्यक्ति होस् या इतिहासका पात्र उनीहरुलाई उनीहरुका समयका काम र योगदानहरुका आधारमा नै रहन दिइनुपर्छ । अति प्रशंसाले भगवान् बनाउने र अति गालीले सामान्य बनाउनु हुन्न ।
चाकरी र अति गाली गरेर कुनै पनि ऐतिहासिक धरोहरहरुको स्खलन गर्न हतारिनु हुन्न । अहिले नेपालमा पृथ्वीनारायणको भएको व्यक्तित्व (नभएको व्यक्तित्व खोजेर महिमा मण्डन गर्नु हुन्न) लाई पनि पानीले पखाल्ने काम गर्न थालिएको छ । जुन चित्तबुझ्दो छैन । अहिलेको अहम् सवाल यही हो ।

पृथ्वीनारायण इतिहास हुन् । इतिहासलाई सम्मान गर्नुपर्छ । पुर्खाको नासो र धरोहरकै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनुपर्छ । सुदूर भविष्यको यात्रा तय गर्दा भोलि गएर आजका घटनाहरु नै इतिहास बन्नेछन् । हिजो भनेको बाउ हो । आज सन्तती । बाउको सम्मान सन्ततीले गरे न नाति–पनातिले आफूभन्दा अघिल्ला पुस्ताको मानभाउ राख्छन्, मनितो गर्छन्, सम्झन्छन्, गुणगान गर्छन् । आफूचाहिँ विगतको रत्तिभर सम्मान नगर्ने अनि आफूलाई पछिल्लो पुस्ताले चाहिँ अकण्टक मान्नुपर्ने भन्ने कुरा अहिलेका राजनीतिक नेताहरुको रहेको छ । जुन सोह्रैआना चित्तबुझ्दो छैन ।

विगत्लाई गाली गरेर भन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनसामान्यले त गुणदोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ ।

विदेशीका ईशारामा नाचेका नेता, विदेशीका दृश्यादृश्य रकमबाट पालितपोषित पालिस गरेको अमौलिक विचार र संसारमै डेट एक्स्पायर भइसकेका थोत्राथाङ्ना दर्शनको लिउन लगाएर शासन गरी अबको नेपाल अघि जान सक्दैन । बीपी बिर्सने काँग्रेस, मदन बिर्सने एमाले, सहिद बिर्सने माओवादी र माटो बिर्सने मधेशवादीहरुको कार्यशैली र व्यवहारले जनतामा निराशाका काला बादलहरु मडारिन थालिसकेका छन् ।

नेपाल बनाउने भनेका नेपाली नै हुन् । नेपाली नेपालमै छन् । कोही बाध्यता अनि समस्याले घरदेश सिँगार्न परेदश पुगेका होलान् । अझ साँचो अर्थमा नेपाल त ती नेपालीले बनाउनेछन्, जो काम र मामको खोजीमा यतिखेर विदेश–विदेश भौतारिरहेका छन् । मरेर कफिनमा आएकाहरु त मर्ने नै भए, बाँकी बाँचेर कुनै न कुनै सीप सिकेर आएका चालीसदेखि पचास लाखसम्मका सङ्ख्यामा नेपाल फर्किने ती ईष्र्यालु युवाले जब नेपालमा नयाँनयाँ तरक्कीसहितका अनेकानेक काम गर्नेछन् अनि नेपाल नवनिर्माणको श्री गणेश हुनेछ । शङ्खनाद् हुनेछ– नेपालीय पुनर्जागरण ।

युवावयका ऊर्जाशील नेपालीले भोलिको नेपाल बनाउनेछ । अवश्य बनाउनेछ ।
समयक्रमका खेल हुन्– सबै इतिहासका घटना र पात्रहरु । पृथ्वीनारायण शाह आफैँमा अधिनायक भएर त्यो समय उदाएका पक्कै होइनन् । समयले एउटा लौह व्यक्तित्वको खाँचो महसुस गरिरहेको थियो । उनमा भिजन, मिसन र गोल थियो । उनका समकक्षी, समवयी र समधर्मी शासकहरुमा त्यो भएन । उनकै बाबु बराजुहरुमा पनि त्यो गुण थिएन । भएको भए पृथ्वीनारायण शाहभन्दा अघि पनि द्रव्य शाह थिए । राम शाहको त कीर्ति नै उज्यालो भएको हो । किन सकेनन् त तिनीहरुले ? समयले नै नायकको खोजी गर्ने हो । समयले नै नायकलाई स्थापित बनाउने हो । समयले नै नायकलाई अजर र अमर तुल्याउने हो । यस मानेमा पृथ्वीनारायण सामयिक मनोविज्ञान बुझ्न सक्ने सक्षम, काबिल, योग्य र उभारपूर्ण व्यक्तित्व जँचे । अनेक तरहले उनले जनइच्छा बुझे । छरिएर रहेका छिमेकी देशका भौगोलिक, सामाजिक, नैतिक, धार्मिक र आर्थिक अध्ययन गरे । भुरे–टाकुरे राज्यका राजाहरुको स–साना कुरामा हुने नियमित सधैँको किचलो र त्यसबाट जनताले पाउने दैनन्दिन समस्यालाई आफ्नो बुद्धि र विवेक बन्धकी राखेर नकार्न चाहेनन् । धुलोबाट तरबार उठाए र गोरखा राज्यको नेतृत्वमा नेपाल राज्यको एकीकरण गरे । एकीकरण उनको लहड, सनक, ईष्र्या, क्षोभ र पागलपन पक्कै होइन । युद्ध मैदानमा उनले आफ्ना सहोदर भाइहरुको अङ्गभङ्ग भएको देख्नुप¥यो । कतै त दैहिक क्षतिसमेत भयो । राज–काज, भोग–विलास, ऐस–आराम र मोज–मज्जा केही नभनी बीस वर्षको चढ्दो र बढ्दो उमेरमा राजसिंहासन सम्हालेका पृथ्वीनारायण जीवनपर्यन्त यद्धमै व्यस्त र मस्त भए । उनका दिव्योपदेशलाई अहिले पनि हामी राजनीतिक दर्शनका गीता मान्न सक्छौँ । उनले देखाएको बाटो र विचारमा नेपालले २४० वर्षको यात्रा तय ग¥यो । यो चानचुन कुरा होइन ।

उनको त्यो कार्यमा लोक र समाजको समर्थन थिएन भने त्यतिखेरै उनको चारैतिरबाट विरोध हुन्थ्यो । शत्रुहरुका साँठगाँठबाट धावा बोलिन्थे । एक्लिन्थे उनी । मटियामेट र पत्तासाफ हुन्थे । तर, भएनन् किन ? उनका सुकार्यमै राज्य निर्माण भयो । एक ढिक्का भयो । सबल राष्ट्रका रूपमा नेपाले विश्व रङ्गमञ्चमा प्रवेश गर्ने मौका पायो । ल पृथ्वीनारायण शाहलाई एकछिन अधिनायकवादी शासक नै मानौँ । उनीपछिका कुन–कुन शासकले नेपालमा के–कस्तो भिजनमा शासन गरे, त्यो पनि हेरौँ । राणाराज्यको एक शताब्दीलाई राजाहरुको शासन खोपीमा राखेका देउताझैँ मान्ने हो भने धेरै पछि आएर राजा महेन्द्रका पालामा नेपालले विश्व परिवेशमा आफूलाई दह्रोसँग उठाएको होइन र ? भौतिक विकासका विविध पाटाहरु, विकास क्षेत्रको अवधारणा, सडक, पुल, मुद्रा, विश्वविद्यालयको स्थापना, एकेडेमीको स्थापना, बैङ्कहरुको स्थापना, उद्योगधन्दाका आधारहरु, गाउँको विकासका लागि गाउँ फर्क अभियान आदि । समयले जुन बेला जे चाहन्छ त्यो दिनु के शासकको अपराध हो ? अझै अघि बढेर भन्दा महेन्द्रीय पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्रनीतिमा समाहित भई आज पनि हामी त्यही आधारमा अघि बढिरहेका छौँ । नवनेपालका लागि ठीक भएन भने खै त त्यो परिमार्जन गरिएको ? बरू नेपालको छिमेक नीति यतिखेर ढुलमुले र स्वार्थका गन्धले प्रेरित देखिन्छन् । पार्टीपार्टीका विदेश र छिमेक नीति अतीव घिनलाग्दा छन् । भारत र अमेरिकाको विदेश नीति हेरौँ न, जो सत्तामा गए पनि एक इन्च फेर–बदल हुँदैन र पनि देश हाँकेकै छन् त्यहाँका नायकहरुले । हाम्रोमा मात्र किन नौटङ्की ? किन यस्तो गति गराँस ? कोही चित्तबुझ्दो उत्तर दिनसक्ने ल्याकतमा छैनन् ।

पाँच नम्बर प्रदेशमा हालै भएको रडाको किन र कसरी भइरहेको छ ? सबै पार्टीका सो क्षेत्रका नेतालाई आफ्नो चुनावी क्षेत्रको माया छ । प्रदेश विभाजनमा आफू नयाँ र विरानो क्षेत्रमा परियो भने कथं चुनाव हारिन्छ र संसद्मा आफ्नो उपस्थिति हुँदैन कि भन्ने शङ्काले घर ग¥या छ । प्रदेश विभाजन होस् तर आफ्नो घरकरेसाको डिल नकाटियोस् भन्ने लघुताभाषले प्रभावित छन्, हाम्रा नेताहरु । आफ्नो उपस्थिति नै नभएको संसद् र क्याबिनेटका स्थानबाट आफ्ना विचारहरु कसरी अघि बढ्छन् भन्ने हो, चिन्ता प्रदेश विभाजन हुन्छ भन्नेमा होइन । आफू पछि परिन्छ र पत्तासाफ होइन्छ भन्नेमा हो ।

पृथ्वीजयन्तीमा बिदा दिइनु या नदिइनुको सवाल होइन । सवाल राष्ट्रनिर्माताको पगरी गुथाइदिनु या नगुथाइदिनुको पनि होइन । सवाल के हो भने यो राज्यलाई विश्वमा एक विकसित र स्वतन्त्र राज्यका रूपमा अकण्टक कसरी राखिरहन सकिन्छ भन्ने हो । आम जनतामा पृथ्वीनारायणप्रतिको सम्मान, आदरभाव रत्तिभर घटेको छैन । मात्र नेताका व्यक्तिगत र पार्टीगत लाजको जिनिशलाई चेतनशील जनताले कुरीकुरी गरिदेलान् कि भनेर हतासाले प्रायोजित विचार बोलिएको हो । मानिसको सम्झना मनमा हुनुपर्छ न कि आँखामा । पृथ्वीनारायण जो राष्ट्रिय अखण्डताका प्रतीक हुन्, ती नेपाली मनमनमा विराजमान छन् । यति भन्न कुनै सालको पुस २७ गते नै कुर्नुपर्छ भन्ने छैन ।

कवि माधव घिमिरे भन्छन् –
‘पारिन्छ सत्ता जब खण्ड–खण्ड
रहन्छ राष्ट्र त्यहाँ के अखण्ड ।
थुतिन्छ पत्ता जब खातबाट
सिद्धिन्छ शोभा अनि फूलबाट ।।
(राष्ट्रनिर्माता ः खण्डकाव्य)

यसमा तपाइको मत

अन्य समाचार