ललितपुरको मानिखेल गाविस, वडा नं. ८ मा बुबा पूर्णबहादुर थिङ र माता विष्णुमाया थिङ तामाङको कोखबाट जन्मिएका सुन्दर तामाङ अहिले नेपाली काँग्रेस, ललितपुरको क्षेत्रीय सचिवमा रहेर नेपाली काँग्रेसको राजनीति गरिरहेका छन् । राजनीति भनेको नै समाजसेवा हो भन्ने मान्यता राख्ने सुन्दर स्कुल पढ्दादेखि नै रेडक्रसमार्फत् सामाजिक कार्यमा लागेको बताउँछन् । उनले स्थानीयस्तरमा बुद्ध युथ क्लबबाट सामाजिक कार्यको सुरुवात गरेका थिए । जसले समाजमा युवाहरुमा रहेको विकृति–विसङ्गति हटाउनेतर्फ कार्य गरेको थियो । खासगरी तामाङ समुदायमा जाँड– रक्सीको कुलतलाई हटाउन यो क्लबले विशेष कार्यहरु गरेको थियो । बि स्पोर्ट प्रा.लि., कुपण्डोल, ललितपुरमार्फत् रियल स्टेट, निर्माणका कामहरु पनि गर्दै आएका सुन्दर गत वर्ष देशमा गएको विनाशकारी भूकम्पपछि तत्काल राहत कार्य र पछि पुनर्निर्माणमा लागेका थिए । उनको समूहले खासगरी स्कुलहरुलाई तत्काल पठनपाठन गर्न मिल्ने गरी पुनर्निर्माणको काम गरेको थियो । विशेषगरी दक्षिण ललितपुर र काभ्रेका विभिन्न ठाउँहरुमा समाजसेवा गर्दै आएका सुन्दर तामाङसँग मिलाप मासिकका लागि गीता अधिकारीले गरेको कुराकानीको संक्षिप्त अंशः–
यहाँ नेपाली काँग्रेस, ललितपुरको क्षेत्रीय सचिव हुनुहुन्छ, सक्रिय राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
राजनीतिमा मलाई ल्याउने मेरो मामा हुनुहुन्छ । उहाँ पहिलादेखि नै नेपाली काँग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । दक्षिण ललितपुर भनेको राजधानीको निकै नै विकट क्षेत्र हो । मामाले समाजमा विकास गर्नका लागि, आफ्नो ठाउँ विकास गर्नका लागि राजनीतिमा लागेर आफ्नो ठाउँ आफैँ बनाऔँ भनी मलाई प्रेरित गरिरहनुहुन्थ्यो र म पनि आएँ राजनीतिमा ।
क्षेत्र नं. १ मा नेपाली काँग्रेसको अवस्था कस्तो छ ?
ललितपुर क्षेत्र नं. १ मा अहिले नेपाली काँग्रेसको अवस्था राम्रो छ । संविधानसभाको दोस्रो चुनावमा हामीले ललितपुरका तीनै निर्वाचन क्षेत्रमा जित्न सफल भयौँ । योभन्दा अघि हामीलाई यस्तो सफलता प्राप्त भएको थिएन । हिजोका दिनमा ललितपुरमा जतिले चुनाव जित्नुभयो चाहे त्यो माओवादी होस् वा एमाले, कसैले पनि यो क्षेत्रका लागि केही गर्नुभएन सबै आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नुभयो । उहाँहरुका झुठा आश्वासनमात्रै थिए । जनताले परिवर्तन चाहेका थिए । उनीहरुले नेपाली काँग्रेसलाई आफ्नो विकासका लागि छानेका छन् ।
गत चुनावमा यो क्षेत्रमा नेपाली काँग्रेसले वाचा गरेका कति काम पूरा ग¥यो ? कि वाचामा मात्रै सीमित भए ?
नेपाली काँग्रेस आफूले गरेका वाचा–बन्धनहरु पूरा गर्नतर्फ अगाडि बढेको छ । आममानिसको आशा र भरोसाको केन्द्र नै अहिले नेपाली काँग्रेस भएको छ । जनताका सुख–दुःखमा साथ दिने पार्टी काँग्रेस भएको छ । क्षेत्र नं. १ अहिले नेपाली काँग्रेसमय नै भएको छ ।
यहाँ युवा नेता हुनुहुन्छ, काँग्रेसभित्रको गुट–उपगुटलाई कसरी लिनुहुन्छ ?
मलाई के लाग्छ भने एउटा जीवन्त पार्टीभित्र विभिन्न विचार समूह हुनु स्वभाविकै हो । स्वभाविक ढङ्गले पार्टीको विचारको आधारमा, समूहको आधारमा गुट होला । तर, पार्टीको नेतृत्व भनेको सबै गुट–उपगुटको साझा हो । पक्कै पनि के हो भने नेतृत्वले नै कुनै गुट–उपगुट बनाउने र त्यही गुट र उपगुटको मात्रै पक्षपोषण गर्ने हो भने पार्टी धारासायी हुन्छ । फेरि सिङ्गो पार्टी सभापति कुनै गुट उपगुटको नेता होइन र हुनु पनि हुँदैन । जो, जहाँ, जे, जसरी भए पनि पार्टीको काममा समर्पित भएर लाग्नु एउटा सच्चा कार्यकर्ताको कर्तव्य हो । पार्टीको पद्धतिअनुसार, विधानअनुसार विधिपूर्वक र प्रक्रियागत ढङ्गमा लाग्नुपर्छ ।
काँग्रेसमा अहिले तेस्रो धारको उदय भएको छ । १३औँ महाधिवेशनपछि त स्पष्टरुपमा ३–४ गुट देखिएका छन् । के यस्ता गुट–उपगुटले काँग्रेस कमजोर हुन्न ?
काँग्रेसका सम्पूर्ण नेताहरुप्रति मेरो समान सम्मान र एउटै धारणा छ । पार्टी भनेको एउटा विचार–पद्धति र सिद्धान्त हो । विश्वेश्वरप्रसाद कोइरालाले पार्टी स्थापना गर्ने बेला जुन उद्देश्य र दृष्टिकोण दिनुभएको छ, त्यो विचार र दृष्टिकोणबाट हामी अलग हुनुहुँदैन । समानता, न्याय, स्वतन्त्रता र सिद्धान्तको जगमा पार्टी स्थापनापछि अगाडि बढिरहेको छ, त्यो कुराबाट काँग्रेस अलिक टाढा हुन थाल्यो कि भन्ने सबै शुभचिन्तकहरुको आशय रहँदै आएको छ । यो कुरालाई नेतृत्वपङ्क्तिले बुझेर अगाडि बढ्नुपर्छ । पदका निम्ति समूह निर्माण र पदको बार्गेनिङ गर्ने कार्य गलत हो । गुट–उपगुट विचार–सिद्धान्तका आधारमा हुनुपथ्र्यो । त्यस्तो नभएर पदका लागि भएको पाइन्छ । यसले पार्टीलाई पक्कै पनि हित गर्दैन भन्ने मलाई लाग्छ ।
भ्रातृ सङ्गठनका महाधिवेशनमा पार्टीका विचार बोकेका सिपाहीभन्दा ठेकेदार र डन हाबी भए भन्ने गुनासो पनि सुनियो नि ?
मैले माथि पनि भनेँ, नेपाली काँग्रेस भनेको देशकै सबभन्दा ठूलो पार्टी हो । यो पार्टीमा आउनेहरुका आ–आफ्नै विभिन्न स्वार्थ हुन सक्छन् । विभिन्न भ्रातृ सङ्गठनमा तपाईंले भनेजस्तै व्यक्ति आएका हुन सक्छन् । छँदै छैन भन्ने होइन । काँग्रेसको विशाल सङ्गठनभित्र सबै दूधले नुहाएका मान्छे छन् भन्ने कुरा होइन । यो ठूलो सङ्गठनमा त्यस्ता मान्छे छैनन् भनेर म भन्दिनँ । सङ्गठनभित्र रहेका पदाधिकारीहरु पनि विभिन्न पेसा क्रियाकलापमा रहेका हुन्छन् । तर, मुख्य कुरा के हो भने पार्टीका सदस्य भए पनि अपराधिक गतिविधिमा संलग्न छन् भने संरक्षण गर्नु हुँदैन । कानुनको दृष्टिमा गलत छन् भने कारबाही गर्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याइनुपर्छ ।
तरुण दलको भरखर पोखरामा सम्पन्न महाधिवेशनमा ’सर्वसम्मत“को पहलका नाममा भागवण्डाको संस्कृति देखियो नि ?
नेपाली काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो । नेपाली काँग्रेसको दरुण दल, किसान सङ्घ, दलित सङ्घ, महिला सङ्घ, नेविसङ्घ जति पनि छन्, ती भ्रातृसङ्गठन हुन् । गुट–उपगुटकै कारण लामो समयदेखि भ्रातृ सङ्गठनको महाधिवेशन भएको थिएन । अहिले माहाधिवेशन नभएका सम्पूर्ण भ्रातृ सङ्गठनको नयाँ कार्यसमिति चयन भइसकेको छ । तरुण दलको विगतको इतिहास हेर्ने हो भने पनि हेटौँडा महाधिवेशन हुँदा पनि बालकृष्ण खाँणलाई सर्वसम्मत अध्यक्ष बनाइएको थियो भने अन्य पदाधिकारीहरुको चुनावबाट छनोट गरिएको थियो ।
तरुण दलको महाधिवेशनपछि सर्वसम्मत प्रत्रियालाई ’टिकेप्रथा“को थालनी भयो भनिँदैछ नि ?
तपाईंले भनेजस्तै ‘टिकेप्रथा’ त नभनौँ । मलाई के लाग्छ भने सबैको असहमतिभित्र खोजिएको सहमति होला पक्कै पनि । विघटन भएर अर्को समिति बनाइएको हो । तर पनि अर्को महत्वपूर्ण कुरा के हो भने प्रजातान्त्रिक पार्टीले प्रजातान्त्रिक पद्धति नै अपनाउँदा राम्रो हुन्थ्यो । तर, त्यसो हुन सकेन ।
अहिले काँग्रेस यसका संस्थापक नेताहरुको सोचअनुरुप अगाडि बढेको पाउनुभएको छ कि छैन ?
यस पार्टीका संस्थापक नेताहरुको सोचअनुरुप नै पार्टी अगाडि बढ्नुपर्ने हो तर कहिलेकाहीँ घटनाक्रमहरुले त्यस्तो नभएको हो कि भन्ने पनि लाग्छ । नेपाली काँग्रेसले आमनेपाली जनताको सोच, भावना, आशा र आकाङ्क्षाअनुरुप काम गर्न सक्नुपर्छ । कानुनी राज्यलाई आत्मसाथ गर्ने जनताको सोचअनुरुप पार्टी अगाडि बढ्नुपर्छ । नेतृत्व पक्षले यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ ।
नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र)को नेतृत्वको सरकारमा छ । यसलाई कसरी लिनुभएको छ ? र, पार्टीको सङ्गठन कत्तिको चुस्त–दुरुस्त भएको पाउनुहुन्छ ?
नेकपा (माओवादी केन्द्र)सँग हाम्रो पार्टी सरकारमा छ । सरकारमा भएका कारण देश र जनताप्रतिको जिम्मेवारी यो पार्टीले बोक्नुपर्छ । तर, भूकम्प गएको यत्तिका समय हुँदा पनि पीडित जनताले अझै ओत लाग्ने ठाउँ पाउन सकेका छैनन् । उनीहरुका लागि उचित प्रबन्ध हुन सकेको छैन । त्यस्तै, संविधान कार्यान्वयनको प्रश्न पनि छ । अब हामीले स्थानीय निर्वाचनमा भाग लिनुमात्र नभई अन्य दलसँग प्रतिस्पर्धा गर्नु छ । प्रादेशिक निर्वाचन र केही समयपछि संसदीय निर्वाचनमा समेत जानु पर्नेछ । हाम्रो अगाडिको चुनौती पार गर्न पनि सङ्गठनलाई चुस्त–दुरुस्त राख्ने जिम्मेवारी पार्टी नेतृत्वको हो । केन्द्रीय समितिले जिम्मेवार भएर यसमा लाग्नुपर्छ । पार्टीका जति पनि अङ्ग छन्, पूरा गर्दै जानुपर्छ । सबैलाई क्षमताअनुसार जिम्मेवार दिनुपर्छ । केन्द्रीय नेतृत्वदेखि लिएर क्रियाशील सदस्यसम्मलाई चलायमान बनाउनुपर्ने दायित्व पार्टी नेतृत्वको हो । अब एक वर्षभित्र हुने तीनवटा महत्वपूर्ण निर्वाचनलाई फेस गर्न सक्नेगरी सङ्गठन निर्माण गर्नु जरुरी देख्छु म । चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्छ । चुनौतीलाई पार लगाउँदै नेपाली काँग्रेसलाई सशक्त र गतिशील बनाउनुपर्छ । पार्टीभित्र देखिएका विकृति, विसङ्गति अन्त्य गर्दै देशको समग्र विकासमा पार्टीलाई होम्नुपर्छ ।
देशमा गत वर्ष गएको भूकम्पमा परेका पीडित परिवारले राहत पाउन सकेका छैनन् । यहाँहरुको पार्टी पनि सरकारमा छ । के भन्नुहुन्छ ?
हो, देशमा गत वर्ष आएको विनासकारी भूकम्पका कारण हजारौँको ज्यान गयो । करोडौँको धनमाल नष्ट भए । हजारौँ घरबारविहीन भए तर दुःखको कुरा अहिलेसम्म पनि पीडितहरुले पुनर्निमार्णका लागि सहयोग पाउन सकेका छैनन् । सहयोग वितरणमा कतिसम्म उदासीनता प्रदर्शन भएको छ भन्ने कुरा दूरदराजका जिल्ला तथा गाउँ पुग्नै पर्दैन । राजधानीको काठमाडौँ उपत्यकाअन्तर्गत मेरै जिल्ला ललितपुर नै ज्वलन्त उदाहरण हो । सहयोग रकम वितरण प्रक्रियालाई कागजी लफ्फाजीमा अल्झाएर यति झन्झटिलो बनाइएको छ, सहयोग रकम प्राप्त गर्न सहज छैन । यो लाजमर्दो अवस्था किन आयो ? संसद्को यसअघिको हिउँदे अधिवेशनमा हाम्रो पार्टीले पुनर्निर्माणका लागि सर्वसाधारणलाई सहयोग वितरण गर्न ढिलाइ गरिएकोमा बुलन्द आवाज उठाएको थियो । यति बेला काँग्रेस स्वयम् सरकारमा छ । तर, पुनर्निर्माण उत्साहजनक ढङ्गले अघि बढ्न सकेको छैन । जनता निराश बन्दै गइरहेका छन् । पीडितलाई पीडामाथि झन् पीडा थपिएको छ । जनतालाई सेवा दिनु राज्यको कर्तव्य हो । यसतर्फ यो सरकार अलिक चाँडै नै सचेत होस् भन्न चाहन्छु । भूकुम्पपीडितलाई अलपत्र नपारियोस् । छिटोभन्दा छिटो यसतर्फ पहल गरियोस् भन्न चाहन्छु ।
अहिलेको देशको समग्र राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
जसरी जनआन्दोलनपछि आमजनताको चाहना थियो– समृद्ध देशको कल्पना, दैनिक उपभोग्य सामग्रीहरुको सहजता, कानुनी शासनको पालना, अन्याय–अत्याचारको अन्त्य । तर, त्यस्तो हुन सकेको छैन । हामी आफू–आफूमा लडिरहेका छौँ । देशमा आएको परिवर्तनपछि हामी आर्थिक विकासमा अघि बढ्नुपर्ने हो । तर, त्यतातिर हामी अगाडि बढ्न सकेका छैनौँ, हामी आफैँमा रुमलिरहेकाछौँ कि जस्तो देखिन्छ । फेरि पनि केही परिवर्तन नै नभएको भने होइन । तर, आमजनताको अपेक्षाअनुसार, सोचअनुसार देशले फड्को मार्न सकेको छैन । यसका लागि आमयुवापङ्क्ति अगाडि बढ्नु जरुरी छ । देश विकास नै एकमात्र लक्ष्य बनाउन जरुरी छ ।
देशको समृद्ध विकासका लागि के–कस्ता पहल हुन आवश्यक छ ?
देश विकासका लागि धेरै कुरा राजनीतिले प्रभाव पार्दो रहेछ । हामीकहाँ म्यादी सरकारका कारण देश समृद्धतर्फ अगाडि बढ्न सकेको छैन । गुटगत स्वार्थ, पार्टीगत स्वार्थभन्दा पनि माथि उठेर देशका लागि केही गरौँ भनेर जुट्नु आवश्यक छ, समृद्ध देशको विकासका लागि ।
देशको वर्तमान अवस्थाले कत्तिको पिरोल्छ ?
पिरोल्छ नि । त्यही पिरलोले राजनीतिमा होमिएको हुँ भन्दा पनि हुन्छ । मलाई के लाग्छ भने सानो–सानो काम गर्न सके पनि धेरै गर्न सकिन्छ । त्यसो भएर म अरुले के गरेभन्दा पनि मैले मेरो क्षेत्रमा के गरिरहेको छु भन्ने कुरालाई बढी ध्यान दिन्छु ।
अबको निकास के हुन सक्छ ?
मैले माथि पनि भनेँ गुटगत, क्षेत्रगत, दलगत, पार्टीगत स्वार्थभन्दा पनि देशको स्वार्थलाई सबैले मनन गरेर अगाडि बढ्ने हो भने पक्कै पनि निकास निस्कन्छ । सबै पार्टीका नेतृत्वपङ्क्तिले यदि उहाँहरुलाई यो देशको माया छ भने एकपटक देशलाई दिमागमा राखेर होइन, मुटुमा राखेर सोच्नुहोस्, निकास निस्कन्छ भन्छु म ।
तपाईंको भावी योजना ?
म ठूलो बन्न राजनीतिमा लागेको होइन । दक्षिण ललितपुरको जनताको दुःखमा केही साथ दिन सकिन्छ कि भनेर राजनीतिमा लागेको हुँ । म त्यही ठाउँमा बसेर त्यहीँका जनतालाई कसरी बाटो, खानेपानी, त्यो स्थानलाई कसरी उत्कृष्ट पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने लक्ष्य नै लिएर अगाडि बढेको छु । त्यहाँका जनतालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने नै मेरो भावी योजना रहेको छ । केही कार्यहरु अगाडि पनि बढाएको छु । मेरा सपनाहरुलाई मूर्तरुप कसरी दिन सकिन्छ भनेर हरदम आफूलाई सक्रिय बनाएको छु ।
अन्त्यमा ?
मेरा आफ्ना केही कुरा तपाईंहरुको सञ्चारमाध्यमबाट राख्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । स–साना कुराहरुमा नअल्झीकन सबै नेपालीले देख्न चाहेको सुन्दर, शान्त नेपालको विशाल मार्गचित्रमा अगाडि बढ्न सबै दलका नेतृत्व वर्गलाई आह्वान गर्न चाहन्छु । समृद्ध देश निर्माणमा लागौँ, अब ढिलो नगरौँ । होइन भने भोलिको पुस्ताले हामीलाई पक्कै पनि धिक्कार्नेछ । छिमेकीका पनि आ–आफ्ना स्वार्थ होलान् तर हामी बलियो भयौँ भने तिनीहरुको स्वार्थले काम गर्ने छैन भन्ने कुरा राख्न चाहन्छु । फेरि पनि व्यक्तिगत, गुटगत, दलगत स्वार्थभन्दा माथि उठेर देशगत स्वार्थ राख्न आग्रह गर्दछु सम्पूर्ण नेतागणमा ।






