काठमाडौं ।
सांस्कृतिक संस्थानले यहि पौष १० र १२ गते तद्नुसार २०१६ डिसेम्बर २५ र २७ तारिखमा हङकङमा गीतिनाटक मुनामदन प्रस्तुत गर्ने भएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित अत्यन्तै लोकप्रिय गीतिनाटक मुनामदन कोकिल गुरुङको निर्देशनमा संस्थानले २०३२÷३३ सालतिर तयार पारेको हो । तत्कालिन समयमा सवैभन्दा धेरैपटक मञ्चन गरिएको यस नाटकमा स्वरसम्राट नारायण गोपाल, तारादेवी, कमला श्रेष्ठ, माणिकरत्न तुलाधर, नविनकिशोर राई, गणेश रसिक, कमल क्षेत्री, ईन्द्रनारायण श्रेष्ठ तथा भुवन चन्द लगायतको स्वर रहेको छ भने रेकर्डिङ्ग श्याम तामाङले संस्थानमै लाइभ रेकर्ड गरेका थिए । उक्त नाटकको संगीत वरिष्ठ संगीतकार नेपाल कलाभुषण चन्द्रराज शर्माले गरेका छन् ।
संस्थानले यसअघि धेरैपटक मञ्चन गरिसकेको यो नाटक पहिलो पटक हङकङमा प्रदर्शन हुन लागिरहेको छ । कलाकार टोलीको नेतृत्व संस्थानका संचालक समितिका अध्यक्ष श्री उद्योग राईले गरेका छन् भने नाटकको व्यवस्थापन, संयोजन तथा निर्देशन वरिष्ठ नाटक प्रवन्धक श्री प्रभाकरदेव शर्माले गरेका छन् । नाटक टोलीमा संस्थानमा कार्यरत कलाकारहरु शारदादेवी सिलवाल, रमेश के.सी., मनोज जोशी, अञ्जु रञ्जीतकार, सीता कार्की, केशवराज राई, माया थापा, सवनम सिलवाल, श्रीहरी फुँयाल र रेशम बहादुर पुन रहेका छन् । नाटकको व्यवस्थापन गर्नको निम्ती वरिष्ठ नाटक प्रवन्धक प्रभाकरदेव शर्मा र रमेश के.सी. पौष ७ गते नै हङकङ तर्फ प्रस्थान गर्ने बताइएको छ । बाँकी टोलीका कलाकारहरु संस्थानका अध्यक्ष उद्योग राईको नेतृत्वमा पौष ९ गते प्रस्थान गर्नेछन् । हङकङमा मुनामदन प्रस्तुत गर्नुका साथै संस्थानका कलाकारहरुले पौष ११ गते हङकङ गुरुङ समाजद्वारा आयोजना गरीएको सांस्कृतिक कार्यक्रममा समेत मौलिक लोक संस्कृतीमा आधारीत कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यक्रमको आयोजना हङकङ एकिकृत नेपाली समाज लिमिटेडले गर्न लागेको छ भने हवाई उडानमा विशेष सहयोगी नेपाल वायुसेवा निगम रहेको छ ।
सांस्कृतिक संस्थान र हङकङ एकिकृत नेपाली समाज लिमिटेडवीचको यस सहकार्यले आगामी दिनहरुमा नेपाली कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र विकासमा ठोस योगदान पुग्ने विश्वास सांस्कृतिक संस्थानले लिएको छ ।






