एनपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं,
कात्तिक २७ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

आजको पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा दिउँसो साढे १२ बजे सुरु हुनेछ । समान आठ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका दुवै टोलीका लागि यो खेल शीर्ष स्थानमा पुग्ने अवसर हुनेछ ।

पाँच खेलमा चार जित र एक हार बेहोरेको काठमाडौं उच्च लयमा छ । पहिलो खेलमा जनकपुरसँग पराजित भएयता उसले लगातार चार खेल जितेको छ । एक खेल कम खेलेको काठमाडौंको नेट रनरेट १.१६८ छ । आजको जितले उसलाई शीर्ष दुईमा स्थान सुरक्षित गर्ने दिशामा बलियो बनाउनेछ ।

६ खेलमा चार जित र दुई हार बेहोरेको सुदूरपश्चिम पनि पछिल्ला खेलमा लयमा फर्किएको छ । पछिल्लो खेलमा जनकपुरलाई २७ रनले हराएको सुदूरपश्चिम काठमाडौंलाई पराजित गर्दै प्लेअफ यात्रा थप सहज बनाउन चाहन्छ ।

आजै साँझ ५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ । प्लेअफको दौडमा रहेका दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

पाँच खेलबाट पाँच अंक जोडेको चितवनलाई प्लेअफ सम्भावना कायम राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले हालसम्म दुई खेल जित्दा दुईमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ ।

यता, पाँच खेलबाट चार अंक जोडेको जनकपुरलाई पनि प्लेअफको सम्भावना जीवित राख्न जित आवश्यक छ । तर, आजको जितले मात्रै उसको यात्रा सुनिश्चित हुने छैन । बाँकी टोलीको नतिजामा समेत जनकपुर निर्भर रहनुपर्नेछ ।

बिहीबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार