ह्यारिसबर्गमा गुञ्जियो नेवार संस्कृति, सम्पन्न भयो तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’

✍️ अर्जुन प्रधान
ह्यारिसबर्ग, २३ भदौ ।

नेवार कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गको आयोजनामा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्यबाट आएका नेवार समुदायका सदस्य, कलाकार, युवा, ज्येष्ठ नागरिक तथा स्थानीय निर्वाचित प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम धिमे परेडबाट सुरु भएको थियो । त्यसपछि राष्ट्रिय गान, बाढीपीडितहरूको सम्झनामा मौनधारण तथा विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेवार कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गका अध्यक्ष हस्त प्रधानले गर्नुभएको थियो भने दुर्गा प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा न्यु जर्सीकी कबिना महर्जनले चर्या नृत्य, ह्यारिसबर्गका बालकलाकार महनिया र समूहले बालनृत्य, क्लिभल्यान्डकी सुनिष्ठा प्रधान चित्रकारले कुमारी गीत तथा ह्यारिसबर्ग टोलीले इन्द्रजात्रा प्रस्तुत गरेका थिए । त्यस्तै, क्लिभल्यान्डका जीवन प्रधान, चार्लोटकी ललिता प्रधान, ह्यारिसबर्गका शा प्रधान, सिन्सिनाटीका बेडा प्रधान, रोआनोकेका दुर्गा प्रधान तथा करेन बस्नेत र कृष्णसिंह प्रधानलगायतले गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा क्लिभल्यान्ड, ओहायो निवासी गायक तथा समाजसेवी गणेश प्रधानको पहिलो नेवारी गीत सार्वजनिक गरिएको थियो । प्रवासमा नेवारी भाषा, संगीत तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले गीत सार्वजनिक गरिएको प्रधानले बताउनुभयो । उहाँले नेपालका राष्ट्रिय कलाकारहरूसँग समेत विभिन्न गीतमा सहकार्य गरिसक्नुभएको छ ।

कार्यक्रममा समुदायको इतिहास, परम्परा र सामाजिक अनुभव बोकेका ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो । यस्तै, ह्यारिसबर्गकी रीना प्रधानले ‘यङ नेवार अमेरिकन एक्सपिरियन्स’ विषयमा मन्तव्य दिँदै अमेरिकामा हुर्किएको नयाँ पुस्ताले आफ्नो नेवार पहिचान, भाषा, संस्कार र परम्परालाई कसरी बुझिरहेको छ भन्ने विषयमा चर्चा गर्नुभयो । गणेश प्रधानले ‘नेवार कम्युनिटी अफ यूएसए’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पेन्सिलभेनिया स्टेट हाउस डिस्ट्रिक्ट १०५ का स्टेट रिप्रेजेन्टेटिभ जस्टिन फ्लेमिङले नेवार समुदायका सांस्कृतिक गतिविधि तथा सामुदायिक सहभागिताको प्रशंसा गर्नुभयो। अमेरिकी समाज बहुसांस्कृतिक पहिचानले बनेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले समुदायलाई आफ्नो मौलिक पहिचान जोगाउँदै स्थानीय समाजसँग सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।
कार्यक्रमको अन्त्यतिर डाउफिन काउन्टी बोर्ड अफ कमिस्नर्सका अध्यक्ष तथा काउन्टी कमिस्नर जस्टिन डगलस पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रमको अधिकांश समयपछि पुग्नुभएका डगलसले समुदायका सदस्यहरूसँग भेटघाट गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

यसअघि नेवार समुदायलाई पठाउनुभएको शुभकामना सन्देशमा डगलसले नेवार परिवारहरूले आफ्नो समृद्ध संस्कृति भावी पुस्तामा हस्तान्तरण गरिरहेकोमा प्रशंसा गर्नुभएको थियो । संगीत, नृत्य, परम्परागत खानपान र कलामार्फत आफ्नो संस्कृति वरपरका समुदायसँग बाँड्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सांस्कृतिक विविधताले मानिसहरूलाई एकअर्कालाई बुझ्न, सम्मान गर्न र फरक संस्कृतिले समाजमा ल्याउने मूल्य आत्मसात् गर्न सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रमका मुख्य वक्ता वर्ल्ड नेवाः- अर्गनाइजेसनका अध्यक्ष मनोहर श्रेष्ठले नेवा संस्कृति, सभ्यता, भाषा, कला, वास्तुकला, संस्कार तथा सामाजिक मूल्यको संरक्षणलाई पुस्तान्तरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो । संस्कृति संरक्षणलाई वार्षिक उत्सवमा मात्र सीमित नराखी पारिवारिक अभ्यास, शिक्षा तथा सामुदायिक गतिविधिसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

नेवार कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गका अध्यक्ष हस्त प्रधानले नेवार परिवार तथा व्यक्तिलाई एउटै साझा मञ्चमा जोड्दै भाषा, संस्कृति, परम्परा, कला, मूल्य र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
‘हामी ज्येष्ठ पुस्ताको अनुभव र ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउन, युवालाई सशक्त बनाउन, परिवार तथा समुदायका सदस्यलाई सहयोग गर्न र एकअर्काबीच दीर्घकालीन सम्बन्ध निर्माण गर्न चाहन्छौँ,’ प्रधानले भन्नुभयो ।

उहाँका अनुसार संस्था सांस्कृतिक कार्यक्रममै सीमित नभई शैक्षिक पहल, सामुदायिक सेवा तथा अर्थपूर्ण नागरिक सहभागितामार्फत ग्रेटर ह्यारिसबर्ग र आसपासको सामाजिक–सांस्कृतिक जीवनमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्यमा छ ।

‘हामी आफ्नो सांस्कृतिक सम्पदाप्रति गर्व गर्दै विविधता, अवसर र साझा जिम्मेवारीलाई आत्मसात् गर्ने एकताबद्ध, जीवन्त र भविष्यदृष्टि भएको नेवार समुदाय निर्माण गर्न प्रतिबद्ध छौँ,’ प्रधानले भन्नुभयो ।

कार्यक्रमको सञ्चालन कमल प्रधानले गर्नुभएको थियो भने अध्यक्ष हस्त प्रधानले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । न्यूः पाः पुचः अमेरिकायेका संस्थापक संरक्षक बैकुण्ठमान श्रेष्ठले उत्तरपूर्वी अमेरिकाका विभिन्न नेवार संघ–संस्थासँग समन्वय गरी प्रतिनिधि तथा कलाकारको सहभागिता सुनिश्चित गर्न सहयोग गर्नुभएको आयोजकले जनाएको छ । उहाँले कार्यक्रमको मञ्च व्यवस्थापनको अवधारणा निर्माणमा समेत सहयोग पुर्‍याउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार