गान्तोक,
जेठ २० ।
सक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ(पिएस गोले) दोस्रो कार्यकालका लागि प्रचण्ड बहुमत पाउनुभएको छ । सिक्किम क्रान्तिकारी मोर्चा विधानसभामा ३२ सिटमध्ये ३१ मा विजयी भएको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाले राज्यमा ‘क्लिन स्विप’ गरेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टले मात्र एक सिट जितेको छ । पूर्वमुख्यमन्त्री चाम्लिङ दुवै क्षेत्रबाट पराजित हुनुभयो । दुवै क्षेत्रमा उहाँ एसकेएमका उम्मेदवारसँग पराजित हुनुभएको हो । उहाँको पार्टीबाट तेन्जिङ नोर्बु लाम्ठा एक्लै विजयी हुनुभएको छ ।
वर्तमान मुख्यमन्त्री गोले भने रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रमा विजयी हुनुभएको छ । अघिल्लो विधानसभा निर्वाचनमा गोलेको एसकेएमले १७ जितेर सरकार बनाउँदा एसडीएफले १५ सिट जितेको थियो । उपनिर्वाचनमा एसडीएफले दुई सिट गुमाएको थियो । यो निर्वाचनसम्म आइपुग्दा एसडिएफ एक सिटमा खुम्चिएको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक हुन्छ । तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो ।
पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गर्नुभएको थियो । पार्टी गठनलगत्तै उहाँले भण्डारीको पार्टीलाई अल्पमतमा पार्नुभएको थियो । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाउनुभएको थियो ।
चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बन्नुभयो । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उहाँ पहिलो भारतीय हुनुहुन्छ । उहाँ २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उहाँले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडनुभएको छ । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता हुनुहुन्थ्यो ।
सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुनुहुन्छ । इन्डियन नेसनल कंग्रेसबाट जित्नुभएका उहाँ सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री हुनुभएको थियो । त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।
करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बन्नुभयो । १८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उहाँ सिक्किम जनता परिषद् नामक पार्टीको नेता हुनुहुन्थ्यो । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बिबी गुरुड मुख्यमन्त्री बन्नुभयो । करिब ११ महिनासम्म पुनः राष्ट्रपति शासन लागू भयो ।
८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुनः नरबहादुर भण्डारी मुख्यमन्त्री बन्नुभयो । त्यो बेला उहाँको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो । हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब सात महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बन्नुभएको थियो ।
चाम्लिङ नेतृत्वको एसडीएफका संस्थापक सदस्य प्रेमसिंह तामाङले २०१३ मा पूर्व मुख्यमन्त्री विरुद्ध विद्रोह गर्नुभएको थियो । उहाँले एसडीएफलाई भ्रष्टाचार र खराब शासनको आरोप लगाउनुभएको थियो ।






