काठमाडौं,
श्रावण १८ ।
पछिल्लो समय नेपाल टेलिभिजनबाट चार हास्य टेलिशृङ्खला दर्शक माझ नियमित प्रसारणमा आइरहेका छन् । ‘भद्रगोल’, ‘हाक्का हाक्की’, ‘के जमाना आ’ र ‘ब्रेक फेल’ । यि चार शृङ्खलामध्ये ‘के जमाना आ’ भने कलाकारले आफ्नै कम्पनी खोलेर पहिलो पटक प्रसारणमा ल्याएको टेलिफिल्म हो ।
दर्शकलाई मनोरञ्जन दिने नै हास्य टेलिशृङ्खलाको मुख्य उद्देश्य रहेको पाइन्छ । तथापी कतिपय ठाउँमा भने व्यङ्ग्यको नाममा सांस्कृतिक, धार्मिक अनि सामाजिक परिधि नाघेर बेलाबखत सिरियल आउने गरेका समेत छन् । तर यो भिडमा अहिलेको जमानाको प्रतिनिधित्व गरेर निर्माण भएको टेलिशङ्खला हो ‘के जमाना आ’ ।
टिममा आबद्ध रहेका १८ जनाको अथक प्रयास र मिहेनतले झण्डै १ वर्षे लामो यात्रा ‘के जमाना आ’ ले तय गर्दैछ । यो टेलिफिल्मको क्याप्टेन हुन् चिरञ्जीवी प्रसाद पुडासैनी (सिपी) उर्फ धतुरे । अन्य टेलिफिल्मसँग प्रतिप्रर्धा गर्ने हेतुले भन्दा कन्टेन्टमा समसामयिकता ल्याउने र दर्शकको मन जित्ने अभिप्रायका साथ ‘के जमाना आ’ आफूले सुरु गरेको लेखक, निर्देशक तथा शीर्ष कलाकार सिपीले बताएका छन् । काठमाडौं मै जन्मिएका सिपीले कलाकारितामा एक दशक लामो यात्रा पार गरिसेकका छन् ।
आखिर उनले किन ‘के जमाना आ’ सुरु गरे त ? जवाफमा सिपी भन्छन्, ‘कलाकारिता आफैमा दुःखको पेशा । म आफैँ खाउ र अगाडि बढु कहिले सोचिन । प्रतिभा भएका कलाकारलाई प्लाटफर्म नभइरहदा मैले यो टेलिफिल्म सुरु गरेर केही हद सम्म भएपनि राहत दिएको छु । अरु एक्लै सगरमाथाको चुचुरो पुग्न खोज्छन् तर मैले सबैलाई सामेल गरेर लैजाउ भन्ने सोचका साथ अघि बढिरहेको छु ।’ त्यसो त हाल टेलिफिल्मको निर्माण खाइ न पाइ छालाको टोपीलाई भन्ने उखान झै बनिरहेको छ । कमाईको स्रोत केवल स्टेज कार्यक्रम र महोत्सव मात्र बन्न पुगेका छन् । त्यसमा पनि मेन आर्टिस्ट र चलेकालाई मात्र स्थान मिल्ने गरेको छ । झण्डै एक वर्षको अवधि पार गरिरहदा ‘के जमाना आ’ टेलिफिल्मका कलाकारले निर्वाह गरेको पात्र दर्शक समक्ष विस्तारै क्लिक हुँदै गइरहेको छ ।
हाल काठमाडौंको साँखुमा ‘के जमाना आ’ को सुटिङ्ग गरिदै आइएपनि निकट दिनमा गोकर्णेश्वरमा गरिने जानकारी क्याप्टेन सिपीले दिएका छन् ।
शृङ्खला लेखनमा सिपीलाई आशिष श्रेष्ठले सघाउदै आएका छन् । ‘के जमाना आ’ मा चिरञ्जीवी प्रसाद पुडासैनी (सिपी), गणेश खड्का, सम्झना आचार्य, केशव सापकोटा, राजु कट्टेल, सम्झना श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । शुक्रबार राति साढे ९ बजे एनटिभीबाट प्रसारण हुने यस टेलिशृङ्खला रामसर मिडियाको अफिसियल युट्युव च्यानलबाट पनि हेर्न सकिन्छ ।
– श्यामहरि शिवभक्ति






