सिर्जना या कृति व्यत्तिको बौद्धिक परिचय हो – किरण टी लिम्बू

सानो छँदादेखि नै नेपाली साहित्य गीत-लेखनमा कलम चलाएका किरण टी लिम्बूले अहिलेसम्म आउँदै थुप्रै साहित्य रचना गरेका छन् । उनको स्रोता/दर्शकमाझ आएको पछिल्लो कृति हो- भावनाका फूलहरू ३ । आफूलाई खासमा गजलकार भन्न पनि रुचाउने लिम्बुको गजलसङ्ग्रह ‘भावनाका आँकुरा’ वि.सं. २०७१ मा प्रकाशित भएको छ । तीन सय बढी गीतहरु लेखेको बताउने किरण टी लिम्बुका दर्जनौं गीत रेकर्ड भइसकेका छन् भने धेरै गीतहरु रेकर्डिङको पालो कुरेर बसेका छन् । ब्रिटिस सेनामा वि.सं. २०४८ मा भर्ति भएर १५ वर्ष सैनिक जीवन बिताएका किरण गीत, गजल, कविता, मुक्तक, हाईकूजस्ता साहित्यका विधामा आफ्ना सिर्जनाहरु पस्किरहेका छन् । समाजका लागि, चेतना विकासको उद्देश्यका लागि र व्यक्तिको मनोरञ्जन लागि आफूले सिर्जनाहरु सिर्जना गरिरहेको बताउने साहित्यकार किरण किरण टी लिम्बूसँग मिलापका लागि कृष्ण भुसालले गरेको कुराकानीः-

अहिले के गर्दै हुनुहुन्छ ?
जागिरे जिन्दगीको व्यस्तता भए पनि फुर्सदको बेला विशेष अहिले गीत, गजल अनि मुक्तक लेख्ने काम गर्दैछु । यसको अलावा नेपाल पत्रकार महासङ्घ, सुनसरीबाट छिटफुट पत्रकारिता पनि गर्दैछु ।

किरण टी लिम्बू को हो ?
किरण टी लिम्बू पूर्वब्रिटिश सेना हो भने वर्तमान समयमा नेपाली साहित्यको विभिन्न विधामा जस्तै गीत, गजल, कविता, मुक्तक, हाईकुजस्ता सिर्जनाका लागि निरन्तर रमाइरहने सर्जक हो ।

साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ?
गीत, गजल अनि कविता र मुक्तक ।

जीवन के हो ? गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन जन्मदेखि मृत्युसम्म भोगिने सुख-दुःखको अनुभव हो । जीवन एक सजीव यात्रा हो । गीत हरेक मानिसका लागि चाहिने अपरिहार्य आत्मीय साथी हो । गीत हरेक मानिसले बुझ्न र अनुभव गर्न सकिने विश्व भाषा पनि हो ।

तपाईं कसका लागि लेख्नुहुन्छ गीत-गजल ?
साधारणतया गीत स्रोताका लागि लेख्नु भने गजल पाठकवर्गका लागि । अप्रत्यक्षरुपमा भन्नुपर्दा देश र समाजका लागि चेतना विकासको उद्देश्यका लागि भने व्यक्तिका लागि मनोरञ्जन ।

साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभयो ?
अध्ययनको क्रममा विधार्थी जीवनको प्राथमिक स्तरदेखि साहित्यमा रुचि भएको हुनाले त्यही समयदेखि साहित्य लेखन सुरु भएको हो ।

गीत-गजलको आत्मा केलाई मान्नुहुन्छ ?
मुख्यतः गीत-गजलको आत्मा त्योभित्र सिर्जित शब्दार्थ हो, जसले भावनात्मक अर्थ बोलेको हुन्छ । पाठकीय हिसाबमा सिर्जनाले बोलेको भाव र अर्थ नै त्यसको आत्मा हो भने श्रवणको हिसाबमा शब्द, सङ्गीत र आवाजको त्रिकोणात्मक संयोजन नै गीतको आत्मा हो ।

आजभोलि लेखिएको गीतहरुमा कत्तिको आत्मा भेट्नुहुन्छ ?
साधारणतया, सबै गीतहरुमा गीत–सङ्गीतको आत्मा भेटिन्छ । फरक यति हो– स्रोतावर्गले गीत सुनेपछि त्यसलाई आत्मसात गरी बुझ्न र अनुभूति गर्नुमा भर पर्छ । समय सापेक्ष लेखिएका गीतहरु त्यो समयले प्रभाव पारेसम्म लोकप्रिय हुन्छ भने मानवजीवनमा हरेक अवस्थामा मनछुने गीतहरु कालजयी हुन्छन् ।

तपाईंले लख्ने गीतको आधार के हो ?
व्यक्तिगत रुचिका साथै स्रोताको प्रशंसात्मक अभिव्यक्ति गुरुजनको सुझावयुक्त हौसला ।

अहिलेको नेपाली गीत-सङ्गीतको अवस्था कस्तो पाउनुहुन्छ ?
भन्नै पर्दा हिजोआज गीतलेखनमा अलि उताउलोपनको शब्दहरु प्रयोग भएका छन् । युवा–युवतीले यस्ता गीत मन पराएकोले हुन सक्छ, यसले गर्दा वास्तविक नेपाली गीतको इमेजमा आँच आएको छ । गीतलेखनका आफ्नै नियम छन् तर हिजोआज लेखनमा अलि अराजकता आएको छ ।

तपाईंलाई साह्रै मनपर्ने गीत ?
मलाई मनपर्ने गीत लाक्पा शेर्पाको ‘झस्केर दुख्छ यो मुटु मेरो, उसैको यादमा’ हो ।

तपाईंलाई असाध्यै मनपर्ने गीतकार, सङ्गीतकार र गायक ?
मलाई मनपर्ने गीतकार, सङ्गीतकार र गायकहरु धेरै छन् । तर, असाध्यै मनपर्ने गीतकार दिनेश अधिकारी, मनपर्ने सङ्गीतकारमा न्हू बज्राचार्य र गायकमा नारायण गोपाल अनि गायिकामा तारा देवी ।

तपाईंलाई वर्तमान समयमा आएका गीतहरुमध्ये मनपर्ने गीत ?
अशोक दर्जीले गाएको ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ ।

क-कसका गीतहरु कुन-कुन हदसम्म मनपर्छ ?
अरुणा लामाको ‘पोहोर साल खुसी फाट्दा’ र भक्तराज आचार्यको ‘हजार सपनाहरुको माया लागेर आउँछ’ र नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ अति मनपर्छ ।

राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ ?
समय परिवेश र अवस्थाअनुसार तीनैवटा रोज्छु । जसमा गीत आनन्दपनका लागि, युवती पवित्र माया–प्रेम र पवित्र सम्बन्धका लागि अनि मदिरा मानसिक चिन्ताबाट मुक्तिका लागि ।

गीतलेखन र यौन कुन बढी उत्तेजक प्रक्रिया हो ?
भावानात्मक रुपमा गीतले हरेक व्यक्तिको मनभित्र आनन्द दिने क्रिया हो भने यौन हरेक प्राणीका लागि दुई आत्माको मिलन गराउने क्रिया हो ।

एकथरि मानिस भन्छन्-साहित्यमा यौन चाहिन्छ, अर्कोथरि साहित्यमा यौनवर्जित छ भन्छन् । यहाँको विचारमा के होला ?
मेरो विचारमा साहित्यमा यौनशिक्षा दिनु अनिवार्य छ, जसले समाजमा सुरक्षित यौनको बारेमा जानकारी प्रदान गर्छ । तर, साहित्यलेखनमा यौनक्रिया जरुरी होइन, यसले साहित्यकारको लेखन मानसिकतामा नकारात्मक असर पार्छ । साहित्यकारले यौनलाई स्वच्छ र शिक्षामूलक ज्ञान प्रवाह गरेमा समाज र देशलाई हित हुन्छ ।

तपाईं गीतमा कत्तिको कुतर्क गर्नुहुन्छ ?
म आफै गीतको रचनाकार भएको हुनाले कुतर्क गर्न कदापी मिल्दैन र गीतकारको हैसियतले गीतको सन्दर्भ जोडेर कुतर्क गर्न पनि सुहाउँदिन र गर्दिनँ ।

गीतबाहेक अन्य क्षेत्रमा लेख्ने झोंक चलेको छैन ?
गीति लेखनका साथ-साथै म गजलकार पनि हुँ । मेरो गजलसङ्ग्रह कृति प्रकाशन भएको छ । यी दुई विधाका अलावा म अन्य विधामा जस्तो कविता, मुक्तक र पत्रकारितामा पनि कलम चलाउँछु ।

गीत लेखेर पाइने र नपाइने के हो ?
गीतमा आफ्नो र अरुको मनोभावना लेखेर आत्मसन्तुष्टी पाउँछु भने नलेखेर आफ्नो भावनाको हत्या गरेको पाउँछु ।

यहाँका कस्ता र कति गीतहरु स्रोता-दर्शकमाझ आएका छन् । अझै कस्ता गीतहरु लेख्ने र प्रकाशन गर्ने कार्ययोजनामा हुनुहुन्छ ?
मैले सङ्गीतबद्ध गरेका गीतहरु सबै स्रोतामाझ आएका छन् । आधा दर्जन गीतिभिडियो दर्शकमाझ आएका छन् । नेपाली चलचित्र अलविदामा पनि मेरो गीत छ । आगामी दिनमा मेरो गीतिसग्रह प्रकाशन गर्ने योजना छ ।

तपाईंलाई आफ्ना गीतहरु स्रोता–दर्शकमाझ पु¥याएपछि कस्तो अनुभूति हुने गर्छ ?
आफ्ना सिर्जना र कृतिहरुलाई दर्शक–स्रोतामाझ पु¥याउन पाउँदा खुसी नहुने को नै होला र ? मलाई पनि त्यस्तै खुसीको अनुभूति हुने गर्छ । कमसेकम आफ्नो सिर्जनात्मक परिचय दिन पाउँदा गर्व पनि लाग्छ ।

नेपाली गीत-सङ्गीतलाई विश्व गीत–सङ्गीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
धेरै पछाडि पाउँछु । कारण, नेपाली गीत–सङ्गीत नेपाली समुदाय र समाजभित्र मात्रै सीमित छ भने अन्य प्रायः देशका गीत–सङ्गीत विश्वव्यापी दर्शक स्रोता छन् । नेपाली गीतसङ्गीत भाषागत अप्ठ्यारा र सीमितताले गर्दा पनि यसका साङ्गीतिक क्षेत्र सानो छ । नेपाली भाषा हिन्दी भाषाको तुलनामा बृहत् भाषा नभएर पनि हुन सक्छ ।

परिवारबाट तपाईंको लेखनलाई कतिको सपोर्ट मिलेको छ ?
सर्पोट मिलेको छ र परिवारजन गर्व महशुस गर्छन् । मेरी पत्नी स्वयम् मिडियाकर्मी हुन् भने छोरा–छोरीलेले पनि मेरो सिर्जनालाई खुसी र गर्व मानेको पाउँछु ।

लेखनलाई आउन लागेका नयाँ लेखकहरुलाई कस्तो सल्लाह दिनुहुन्छ ?
जसको लेखन अभिरुचि र लेखन क्षमता छ उनीहरुलाई हौसलाका साथ सुझावात्मक तरिकाले लेख्ने हौसला दिन्छु । मसँग गीत–गजल सिक्ने धेरै अनुजहरु छन्, उनीहरुलाई कसरी आफ्नो लेखनक्षमता बढाउने भनेर सिकाउँछु ।

अन्त्यमा, सिर्जना या कृति के हो ?
सिर्जना या कृति भनेको व्यक्तिको बौद्धिक परिचय हो । सिर्जना या कृतिभित्रको बौद्धिक तत्वले देशको राजनीतिक अवस्था, साँस्कृतिक परिचय र धार्मिक विषयअनुरुप देशको सभ्यतालाई देश, समाज र विश्वसामु पु¥याउँछ । साहित्यिक सिर्जनाले भूत, वर्तमान र भविष्य तीनै कालखण्डको दृष्टान्त प्रदान गर्छ ।

(मिलापको असोज अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार