सुनकोशी गाउँपालिका कप फुटबल मंसिर २१ देखि

ओखलढुंगा,
कात्तिक २२ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता ‘सुनकोशी गाउँपालिका कप-२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी मंसिर २१ देखि २४ गतेसम्म मूलखर्कस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा देशभरका नगरपालिका तथा गाउँपालिकाबाट एक–एक टिमले सहभागिता जनाउन पाउनेछन् । सहभागी हुन इच्छुक टिमले मंसिर १८ गतेभित्र १० हजार रुपैयाँ दर्ता शुल्क, एक हजार रुपैयाँ बीमा शुल्क र दुई हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।

९ ए साइडमा नकआउट प्रणालीबाट सञ्चालन हुने प्रतियोगिताको विजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ र उपविजेताले एक लाख ७७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने अन्य दुई टिमले जनही एक लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

प्रतियोगिताले फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

यसमा तपाइको मत

अन्य समाचार