युवाहरूको सामूहिक लगानीमा काठमाडौंमा खुल्यो ‘ऐश्वर्य बुटिक होटल’

काठमाडौं,
कात्तिक २२ ।

रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशिइरहेका बेला युवाहरूको सामूहिक लगानीमा काठमाडौंमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा आएको छ । नेपालमै उद्यमशीलताको विकास गर्ने, रोजगारी सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित स्थापना भएको ऐश्वर्य इन्भेस्टमेन्ट ग्रुपले आफ्नो पहिलो परियोजनाका रूपमा गौशाला, पिङ्गलस्थानमा होटल सञ्चालनमा ल्याएको हो ।

करिब तीन वर्षअघि स्थापना भएको समूहले स्वदेशमै सम्भावना खोज्दै लगानी गर्ने र युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । सोही उद्देश्यअनुसार सञ्चालनमा ल्याइएको होटलमा सुविधासम्पन्न करिब ४५ वटा कोठा रहेका छन् ।

पशुपतिनाथ मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको होटल धार्मिक पर्यटक, विदेशी पाहुना, व्यवसायी तथा काठमाडौं भ्रमणमा आउने आन्तरिक पर्यटकका लागि सुविधाजनक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

आधुनिक संरचना, आकर्षक कोठा सजावट, सहज वातावरण र स्तरीय आतिथ्य सेवालाई प्राथमिकता दिइएको होटल व्यवस्थापनले जनाएको छ । लामो यात्रापछि काठमाडौं आउने पर्यटकदेखि धार्मिक, व्यावसायिक तथा पारिवारिक प्रयोजनका लागि आउने पाहुनालाई आरामदायी बसाइको अनुभव प्रदान गर्ने लक्ष्य होटलले लिएको छ ।

आवास सुविधासँगै होटलले खानपान सेवालाई पनि विशेष प्राथमिकतामा राखेको छ । नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय स्वादका विविध परिकार उपलब्ध गराउने होटलको योजना छ । अनुभवी तथा ख्यातिप्राप्त सेफहरूको नेतृत्वमा तयार हुने परिकारमा स्वाद, गुणस्तर, सरसफाइ र प्रस्तुतिलाई विशेष ध्यान दिइने जनाइएको छ ।

त्यसैगरी पाहुनालाई सम्मानपूर्वक स्वागत गर्ने, उनीहरूको आवश्यकता बुझेर सेवा प्रदान गर्ने तथा बसाइ अवधिभर सहज वातावरण उपलब्ध गराउने विषयलाई होटलले प्राथमिकतामा राखेको छ । आधुनिक सुविधासँगै विनम्र व्यवहार र आत्मीय आतिथ्यलाई होटलको सेवाको महत्वपूर्ण पक्षका रूपमा अघि बढाइएको व्यवस्थापनको भनाइ छ ।

ऐश्वर्य इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष अमृत पोखरेलले विदेश जाने युवाको बढ्दो प्रवृत्तिका बीच नेपालमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका युवाहरूको सामूहिक प्रयासबाट समूह स्थापना गरिएको बताउनुभयो ।

नेपालमै सम्भावना खोज्दै लगानी गर्ने, पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने र स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले समूह अघि बढेको पोखरेलको भनाइ छ । उहाँका अनुसार ऐश्वर्य बुटिक होटल समूहको पहिलो परियोजना हो । आगामी दिनमा पनि नेपालमै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने समूहको योजना छ ।

होटलका अन्य लगानीकर्तामा श्रीकृष्ण पन्तलगायत युवा उद्यमीहरू रहेका छन् । होटलको प्रबन्ध निर्देशकको जिम्मेवारी अर्जुन अधिकारीले सम्हालिरहनुभएको छ ।

नेपालमा धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटनको पर्याप्त सम्भावना रहे पनि त्यसको प्रभावकारी उपयोगका लागि गुणस्तरीय पूर्वाधार र व्यावसायिक आतिथ्य सेवाको विकास आवश्यक छ । यही आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा आएको ऐश्वर्य बुटिक होटलले काठमाडौंको पर्यटन सेवामा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार