‘गौँथली’लाई वेस्ट फरेन सिनेमा अवार्ड

काठमाडौं,
कात्तिक १२ ।

फ्रान्सको कान्समा मासिक र वार्षिक रुपमा आयोजना भएको ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ । यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ ।

चलचित्रका निर्देशक डा. कपिल रिजालले अवार्ड पाएसँगै मन गर्वले भरिएको र आँखामा खुसीका आँसु छचल्किएको बताउनुभएको छ । ‘२५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीति फिल्म ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको हुँ,’ उहाँले भन्नुभयो ।

निर्माता सुमन गिरीले चलचित्रले गौरवमय इतिहास बनाएको बताउनुभयो । ‘हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो सानो प्रयासलाई तपाईंहरूले दिनुभएको ठूलो माया, विश्वास र हौसलाले आज यो खुसीको क्षण सम्भव भएको छ ।’

प्रदर्शनको सय दिन मनाइसकेको चलचित्रले २६ करोडमाथिको व्यापार गरिसकेको छ । यो नेपाली चलचित्र उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार