अमेरिकामा नेपाली मोडल दीपक घिमिरेको प्रभावशाली रनवे प्रस्तुति

अमेरिका
भदौ २३ ।

नेपाली मोडल तथा फेशन क्षेत्रका व्यक्तित्व दीपक घिमिरेले अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय फेशन शोमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रभावशाली रनवे प्रस्तुति दिनुभएको छ । अमेरिकाको चर्चित अमेरिकी ड्रिम भेन्यूमा सम्पन्न फेशन शोमा घिमिरेले विभिन्न देशका चर्चित मोडल तथा फेशन व्यक्तित्वहरूसँग एउटै रनवे साझा गर्नुभएको थियो । कार्यक्रममा मिस युनिर्भस, मिस युएसए, मिस होनडुरस लगायत अन्तर्राष्ट्रिय सौन्दर्य तथा फेशन क्षेत्रका चर्चित अनुहारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालसहित पाकिस्तान, भारत, बंगलादेश र अमेरिकालगायत देशका मोडल, डिजाइनर तथा फेशन क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । विभिन्न देशका संस्कृति, पहिचान र फेशन शैलीलाई एउटै मञ्चमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

घिमिरेले रनवेमा विश्वप्रसिद्ध लक्जरी घडी ब्रान्ड आईडब्ल्यूसी शाफहाउसेनको घडीसहित विशेष प्रस्तुति दिनुभएको थियो । फेशन र लक्जरी टाइमपिसको संयोजनले उहाँको प्रस्तुतिलाई थप आकर्षक बनाएको थियो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताउँदै घिमिरेले विभिन्न देशका मोडल तथा फेशन व्यक्तित्वसँग एउटै रनवेमा प्रस्तुति दिनु आफ्नो फेशन यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले कार्यक्रमका आयोजक तथा फेशन विकका सिइओका आन्द्रेस अक्विनो प्रति आभारसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रमले फेशनमार्फत सांस्कृतिक विविधता, अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी एकताको सन्देश दिएको आयोजक पक्षको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार