काठमाडौं,
जेठ २६ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार खत्रीले तीन सय ४७ मत र निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले एक सय ९२ मत र अर्का उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले एक सय ७० मत प्राप्त गर्नुभएको थियो । प्रथम उपाध्यक्ष पदमा दुर्ई सय ४१ मतसहित महेशकुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कर्णराज कटुवालले दुई सय ३१ मत र अर्का उम्मेदवार सञ्जु गुरुङले दुई सय २८ मत प्राप्त गर्नुभएको थियो ।
द्वितीय उपाध्यक्षमा अनिल बोगटी तीन सय १५ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रविन मेगाले मगरले दुई सय पाँच र बालकृष्ण श्रेष्ठले एक सय ६८ मत प्राप्त गर्नुभएको थियो । तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल दुई सय ५९ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तुलसीराम पुरीले दुई सय ५६ र कृष्ण ढकालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो ।
महासचिव हरि डाँगी दुई सय ७३ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धीहरू नुर महमद मियाले दुई सय ४९ र अमर प्रकाश तिवारीले एक सय ६३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा केदारनाथ अधिकारी दुई सय ९४ मतसहित निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा धनमाया सिञ्जाली दुई सय २३ मतसहित निर्वाचित हुनुभएको छ । सदस्यहरूमा पनि प्रगतिशील प्यानलकै जित भएको छ । कुल १० कार्यसमिति सदस्यमध्ये आठ सदस्य पदमा प्रगतिशील प्यानल निर्वाचित भएको बताइएको छ ।
इप्पानको जेठ २५ गते बसेको कार्यसमितिको २०३औँ बैठकले इप्पान विधान २०७८ संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्था खारेज गरेको छ ।






