गान्तोक,
भदौ २० ।
गान्तोक, सिक्किम निवासी पुण्यप्रसाद शर्मा र गीता शर्माकी सुपुत्री डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गर्नुभएकी एक कुशल चिकित्सक हुनका साथै अब उहाँ सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन बन्नुभएको छ ।
डा. शर्माले कपाल प्रत्यारोपण र एस्थेटिक डर्मेटोलोजीमा एक वर्षको फेलोशिप पूरा गरेर आफ्नो करिअरमा एक महत्त्वपूर्ण माइलखुट्टी स्थापित मात्र गर्नुभएन सिक्किम राज्यले नै एक कुशल चिकित्सक प्राप्त गरेको छ । यो उपलब्धिले उहाँको विशेषज्ञतालाई त अवश्यै रेखाङ्कित गर्छ नै साथसाथै सिक्किमको पहिलो कपाल प्रत्यारोपण सर्जनको रूपमा पनि आफूलाई पहिचान दिलाउनुभएको छ, जो यस क्षेत्रको चिकित्सा परिदृश्यमा उल्लेखनीय उपलब्धि मानिन्छ ।
आफ्नो फेलोशिप अवधि डा. मुक्ताले कठिन प्रशिक्षण र व्यावहारिक अभ्यास गरेर आफूलाई सफल पार्नुभएको छ । फेलोशिप अवधि उहाँले प्रतिष्ठित शिक्षक इन्टरनेशनल सोसाइटी अफ् हेयर रिस्टोरेशन सर्जरीका पूर्व अध्यक्ष डा. कपिल दुआ र एसोसिएशन अफ् हेयर रिस्टोरेशन सर्जन्स, इन्डियाका अध्यक्ष डा. अमन दुआको मार्गदर्शनमा कपाल प्रत्यारोपणको तकनिकी प्रयोगमा सफलता हासिल गर्नुभएको हो । यो सफलतासँगै उहाँले आफ्नो एस्थेटिक डर्मेटोलोजीका लागि आफ्नो जुनूनलाई पनि प्रज्ज्वलित गर्नुभएको छ, जसद्वारा उहाँलाई बिरामीको हेर्चाहका लागि आफ्नो दृष्टिकोणलाई नयाँ र परिष्कृत गर्ने प्रेरणासमेत प्राप्त भएको छ।
जीवनमा पाएको यो नयाँ उचाइ र सफलतासँगै डा. मुक्ता आफ्नो क्षमतालाई बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पुर्याउने दिशामा काम गर्न उत्सुक हुनुहुन्छ । सधैँभरि सिक्ने र अनुभव बटुल्ने विचार बोक्नुभएकी मुक्ता एस्थेटिक डर्मेटोलोजीको सततः विकसित बन्दै गरेको क्षेत्रमा सबैभन्दा अघि रहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।






