कलाश्री सम्मान तथा पुरस्कार अर्पण

काठमाडौं,
फागुन १२ ।

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा हरेक वर्ष अर्पण गरिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का लागि विभिन्न स्रष्टाहरूलाई समर्पण गरिएको छ । बिहीबार काठमाडौंको पर्यटन बोर्डमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई अमूल्य कलाश्री सम्मान अर्पण गरिएको थियो ।

एक लाख रुपैयाँ राशिको कलाश्री पुरस्कार समालोचक प्राडा लक्ष्मण गौतमलाई, ७५ हजार राशिको स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिनलाई, ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारीलाई, ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा. टङ्क उप्रेतीलाई तथा ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरिएको हो ।

आफू सम्मानित भएपछि बोल्दै कलाकार किरण मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताउनुभयो । आफूले इन्जिनियरिङको पढाइ छोडेर कलाका क्षेत्रमा लागेको फल पाएको पनि उहाँले सुनाउनुभयो । सम्मानले अझ अगाडि बढ्ने प्रेरणा दिएको उहाँको भनाइ थियो । राष्ट्रिय कलाश्री पुरस्कार विजेता प्राडा लक्ष्मणप्रसाद गौतमले आफूले पाएको पुरस्कार समस्त समालोचना जगतले पाएको बताउनुभयो । साहित्यलाई साहित्यइतर क्षेत्रसम्म पुर्‍याएको भन्दै उहाँले प्रतिष्ठानको प्रशंसा गर्नुभयो । स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारका विजेता कवि भूपिनले पुरस्कारले अझ काम गर्ने प्रेरणा दिएको बताउनुभयो । हवाई चालक बन्ने सपना छोडेर सिर्जनामा लागेको आफूले सिर्जनाको विमान उढाउने प्रयास गरिरहेको जिकार उहाँले जिकिर गर्नुभयो ।

संस्थाका प्रमुख संरक्षक डा. विमल कोइरालाले यो संस्था प्रज्ञा र अभिव्यञ्जनाको यात्रामा हिँडिरहेको बताउनुभयो । सभ्यताको आधारभूमि भनेको कलासाहत्य हो भन्दै कलासाहित्य शाश्वत हुने उहाँले धारणा राख्नुभयो । प्रमुख अतिथि बैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्‍याएको विशिष्ट योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधित गर्दै अध्यक्ष मोमिलाले यो एक सामूहिक कार्य भएकोले सबैको निरन्तर साथ आवश्यक रहेको बताउनुभयो । संस्थाले पन्ध्र वर्षे मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने बताउनुभयो । सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय सर्जक महेश पौड्यालले गराउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार