चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

काठमाडौं,
पुस १२ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताउनुभएको छ । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताउनुभएको हो ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि उहाँले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।

सोमबार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । आठ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गर्नुभएको थियो ।

त्यस्तै, मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार