काठमाडौं,
असार १८ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको बिहीबार ठिक सय वर्ष भएको छ । सन् १९२१ मा माओलगायत १२ जना नेताहरूले सांघाईमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । त्यो समयमा माओ २७ वर्षका हुनुहुन्थ्यो । जुलाई १ मा पार्टी स्थापना गरिए पनि यसको पहिलो महाधिवेशन भने जुलाई २३ मा भएको थियो । स्थापनाको १०० वर्ष र चीनको सत्तामा भएको ७२ वर्ष भएको छ चिनियाँ कम्युनिष्ट पार्टीको । यो अवधिमा चीन सबैभन्दा ठूलो र सबैभन्दा धेरै समय सत्तामा भएको कम्युनिष्ट पार्टी भएको छ । यस्तै, यसले यो बीचमा उल्लेख उपाधि पनि हासिल गरेको छ । ङकङदेखि मकाउलाई पुनः चीनमै फर्काउन सफल, सबैभन्दा छोटो समयमा अत्यधिक धेरैलाई गरिबीबाट उठाउन सफल, प्रविधिदेखि अन्तरिक्षसम्मको नयाँ विश्वशक्ति बन्न सफल भएको चीन ।
पार्टीको १०० औं स्थापना दिवसका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङको तिआनमेन स्क्वायरमा सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा चीनको कुनै पनि राष्ट्रलाई दमन गर्ने नीति नरहेको बताउनुभएको छ ।
करिब एक घण्टा लामो सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले आधुनिक चीनमा पार्टीको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले कसैलाई चीनमा दमन गर्ने, अधीनमा राख्ने वा बदमासी गर्ने अनुमति नदिने प्रष्ट्याउनुभयो । चीन आफ्नो वृद्धि दरमा केन्द्रित रहने उहाँले बताउनुभयो । साथै, उहाँले चीनलाई असर पुर्याउन खोज्ने तत्वविरुद्ध आफूहरू धातुको पर्खालजस्तै भएर उभिने चेतावनीसमेत दिनुभएको छ ।
‘चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन्’ सीले आफ्नो सम्बोधनमा भन्नुभएको छ, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य बदलेको छ ।’ उहाँले भन्नुभएको छ, ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ । चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुनसक्छ ।’
बिहीबार बिहान आयोजित समारोहमा चिनियाँ आकाशमा सैन्य जहाज उडाइएका थिए भने राष्ट्रवादी गीत बजाइएका थिए । तियानमेन स्क्वायरमा उपस्थित अधिकांशले मास्क पनि लगाएका थिएनन् । बिहीबार नै, हङकङले पनि ‘ह्याण्डओभर डे’ मनाएको छ ।
चिनियाँ आर्थिक वृद्धि दरलाई अमेरिकाले दबाउन खोजेको आरोप लाग्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)को स्थापना सन् १९२१ म भएको हो । ७२ वर्षे लामो गृहयुद्धपछि सिसिपी सत्तामा आएको थियो । सिसिपिको सत्तारोहणपछि विश्वकै शक्तिशालीमध्येका एक राष्ट्रको रूपमा चीनको उदय भएको छ । यो अवधिमा उसले विश्वलाई चकित पार्ने गरी उपलिब्ध हासिल गरेको छ ।
विगत १०० वर्षमा चीनलाई कमजोर मुलुकबाट शक्तिशाली मुलुकका रूपमा कायापलट गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सबैको समृद्धि तथा सुस्वास्थ्य कायम गर्दै अर्को सय वर्ष पनि नेतृत्व गर्ने अपेक्षा छ । पश्चिमले चिनियाँ कम्युनिष्ट पार्टीलाई निरंकुश तथा अन्य विशेषण दिएको भए पनि चिनियाँ मोडलको लोकतन्त्र, विधिको शासन, मानवअधिकार रक्षा तथा जनताको समृद्धि पार्टीले नै सुनिश्चित गराएको हो । विभिन्न सर्वेक्षणहरूमा चिनियाँ जनता कम्युनिष्ट पार्टीको शासनसँग खुसी रहेको तथ्य प्रस्तुत गरेका छन् ।
(हिमालय टाइम्स दैनिकबाट)






