काठमाडौं,
मङ्सिर २ ।
भारत बिहारमा नितिश कुमार सातौं पटक राज्यको मुख्यमन्त्री बन्नुभएको छ । सोमबार राज्यपाल फागू चौहानसमक्ष शपथ लिनुभएको छ नितिशले ।उहाँको दलसँग राज्यको विधान सभामा तेस्रो दलको हैसियत रहेको छ । हालै सम्पन्न निर्वाचनबाट दोस्रो ठूलो दल बनेको भारतीय जनता पार्टीको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।
सत्ता साझेदार भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद, रेणुदेवी सहित सात जनाले मन्त्री पदको शपथ लिनुभएको छ । विपक्षी महागठबन्धनका नेताहरुले भने शपथ समारोह बहिस्कार गरेर आगामी दिन नितिश कुमारका लागि सहज नहुने सङ्केत दिएका छन् ।
राज्यमा सबैभन्दा बढी सीट जितेको तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल, कांग्रेस र कम्युनिष्ट घटकहरू विपक्षमा रहँदा भाजपाको निगाहमा सरकार टिकाउनुपर्ने बाध्यता नितिशसँग छ ।






