काठमाडौं,
वैशाख ७ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हाल देशको पश्चिमी र पूर्वी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली हुनेछ ।
यस्तै, पहाडी भूभागका केही स्थान र तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
आइतबार रातिको पूर्वानुमानमा भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, तराईका भू-भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।






